|

काठमाडौं : गुण्डा नाइके जितेन्द्र तामा, दावा पक्राउ परेका छन्। उनलाई दिल्ली प्रहरीले शनिबार पक्राउ गरेको हो। दिल्ली प्रहरीले उनलाई इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ गरेको नेपाल प्रहरीको स्रोतले जानकारी दियो। दुबईबाट दिल्ली एयरपोर्ट झरेका बेला उनलाई पक्राउ गरिएको हो।

नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीले लामा पक्राउ परेको भए पनि नेपाल प्रहरीले पक्राउ नगरेको बताए। दावाविरुद्ध इन्टरपोलमा पनि कुनै नोटिस जारी नगरिएकाले नेपाल प्रहरीको आग्रहमा पनि उनी पक्राउ नपरेको बताए। ‘उनको कसुर इन्टरपोलमा नोटिस गर्नुपर्ने खालको देखिँदैन। तैपनि जारी भएको छ की हामी हेर्दै छौं’  प्रवक्ता थापा क्षेत्रीले भने। उनलाई भारतमै अपराध गरेकाले भारतीय प्रहरीले पक्राउ गरेको हुनसक्ने उनले बताए।

 को हुन् दावा?

 गुण्डा नाइके भनेर चिनिने दावाको वास्तविक नाम जितेन्द्र तामाङ हो। उनको घर काभ्रेको तत्कालीन सल्ले गाविस-२ मा छ। २०६० सालतिर काठमाडौं छिरेका दावा गुण्डा नाइकेको रुपमा परिचित छन्। उनी काठमाडौंमा सुरुमा ठमेलको रोयल किचनमा काम गर्थे। रोयलमा काम गर्दा गर्दै डन गणेश लामाको सम्पर्कमा पुगेका थिए। लामाको निर्देशनमा ठमेल एरियामा हप्ते असुली गर्दै आएका थिए दावाले। गणेशसँगको सम्बन्ध बिग्रिएपछि उनले छुट्टै आफ्नो ग्याङ बनाएको प्रहरीले जनाएको छ।

आफ्नो छुट्टै ग्याङ बनाएर आपराधिक क्रियाकलापमा लागेका उनीसँग २० जनाको समूह रहेको प्रहरीले जनाएको छ। उनी २०६७ माघ १० मा मानव बेचविखन तथा ओसार पसारमा संलग्न रहेको भन्दै पक्राउ परेका थिए। पछि उनी धरौटीमा छुटे। २०७० सालमा ललितपुरका व्यवसायी राजन श्रेष्ठलाई खुकुरी हानेका थिए। उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो। पछि उनी धरौटीमा छुटे।

त्यस्तै, २०७१ भदौमा जोरपाटीबाट खैरो हिरोइनसहित समातिएका दावा १५ महिना जेल बसेर छुटेका डन हुन्। त्यस्तै दुई वर्षअघि महाराजगञ्जबाट बूढानीलकण्ठ गइरहेको अवस्थामा व्यापारी सुनिल अग्रवालबाट पनि लामाको ग्याङ्गले ११ लाख ५० हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ। लामाको ग्याङ्गले अग्रवालबाट पटक-पटक गरेर झण्डै ४१ लाख रुपैयाँ असुलेको थियो। केही समय पहिले दावा र डन राम गिरीको समूहबीच दरबारमार्गको क्लव डेजावुमा झगडा भएको थियो। झगडा गरेपछि दावा पक्राउ पर्दा उनलाई छुटाउन काभ्रेका नेपाली कांग्रेसका सांसद तीर्थ लामाले छुटाएका थिए।

विभिन्न आपराधिक क्रियाकलापमा लागेर अकुत सम्पत्ति कुम्ल्याएका डन दावाको काठमाडौंमा पाँच वटा घर भएको उनी निकट स्रोतले बताएको छ। उनको लवाइ खवाइले पनि त्यो कुरा पुष्टि गर्ने प्रहरी स्रोतको बतायो। दावामाथि २०७३ चैतको अन्तिम साता काठमाडौंको गौरीघाटको दिव्या पार्टी प्यालेसमा जिम गर्न जाने बेला गोली प्रहार भएको थियो। घाइते भएका उनी ठिक भएर बेटिङ गर्न थालेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनको खोजी गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.