|

सिन्धुली : सिन्धुलीका स्थानिय तहहरूले स्वास्थ्य संस्थामै प्रसूति गराउन र नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्न विभिन्न कार्यक्रम लागू गरेका छन्। नियमित चारपटक गर्भजाँच गराउन र स्वास्थ्य संस्थामा नै सुरक्षित बच्चा जन्माउन प्रोत्साहन गर्न कार्यक्रम लागू भएको स्थानीय तहहरूले बताएका छन्।

सिन्धुलीको फिक्कल गाउँपालिकाले गर्भवती महिलालाई बच्चा जन्माउन स्वास्थ्य संस्था लान र घर ल्याउन एम्बुलेन्स भाडा नलिने निर्णय गरेको छ। गाउँपालिका भित्रका सबै गर्भवती महिलालाई बच्चा जन्माउन गाउँपालिकाभित्रकै स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरसम्म लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ।

बच्चा जन्माउनका लागि गर्भवती महिलालाई गाउँपालिका बाहिरका स्वास्थ्य संस्थामा लानुपरेमा पनि एम्बुलेन्स भाडा ५० प्रतिशत छुट गर्ने निर्णय गाउँपालिकाले गरेको छ।

सिन्धुलीकै मरिण गाउँपालिकाले गर्भवती महिलालाई प्रोत्साहन भत्ता वितरण गर्ने कार्यक्रम सुरु गरेको छ। गर्भवती महिलाले अनिवार्य रूपमा स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराएबापत पाँच सयका दरले चार पटकको दुई हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने गाउँपालिकाले जनाएको छ। गर्भावस्थामा महिलाले चारपटक स्वास्थ्य जाँच गराउनु पर्नेछ। गर्भवती महिलालाई नियमित स्वास्थ्य जाँचको लागि स्वास्थ्य केन्द्रसम्म आउने वातावरण बनाउन यो कार्यक्रम लागू गरिएको गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए। 

त्यस्तै सुनकोशी गाउँपालिकाले पनि गर्भवती महिलालाई एकपटक गर्भ जाँच गराउँदा दुई पोका आयोडिन नुन र एक पोका तेल दिने निर्णय गरेको छ। सुरक्षित मातृत्व, सुनकोशी गाउपालिकाको दायित्वभन्ने नाराका साथ गर्भवती महिला भएका घरमा हरियो झण्डा झुन्डाएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताइन्। झण्डा झुन्डाएको घरमा गाउँपालिकाका स्वास्थ्यकर्मीहरू अनिवार्य पुगी गर्भवती महिलाको स्वास्थ्य अवस्था बुझ्नुका साथै बच्चा जन्माउन स्वास्थ्य संस्थासम्म पुर्‍याउने वातावरण सिर्जना गर्ने अध्यक्ष दाहालले बताइन्।

घ्याङ्लेख गाउँपालिकाले पनि ३५० गर्भवती महिलाका लागि पोषणा भत्ता वितरण गर्नका लागि तीन लाख रकम विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताइन्। गर्भवती महिलाको घरमा हरियो झन्डा राख्नका लागि पनि तयारी भएको उपाध्यक्ष सुनुवारको भनाई छ।

गोलन्जोर गाउँपालिकाले गर्भवती महिलालाई स्वास्थ्य संस्था लैजान एम्बुलेन्स भाडामा ४० प्रतिशत छुट दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले जानकारी दिए। तीनपाटन गाउँपालिकाले पनि गर्भवती महिलालाई स्वास्थ्य संस्था लैजान एम्बुलेन्स भाडामा ५० प्रतिशत छुट गरेको गाउँपालिकाका अध्यक्ष कर्ण मगरले बताए।

तर कमलामाई नगरपालिकाले भने गर्भवती महिलालाई कुनै सुविधा दिने निर्णय गरेको छैन्। गर्भवती महिलाले अझै पनि घर मै बच्चा जन्माउने गरेकाले गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउने वातावरण बनाउनु महत्वपुर्ण भएको भन्दै छिटै उपयुक्त निर्णय गरिने नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.