|

पोखरा : नेपाल एकीकरणको सुरुवात भएको गोरखा दरबार र गोरखाकाली मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न जिल्ला समन्वय समिति गोरखाले प्रस्ताव गरेको छ। गत बिहीबार बसेको समितिको बैठकले प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव गरेको हो। 

‘गोरखा दरबार र गोरखाकाली मन्दिरको महत्त्व विश्वभर फैलाउन जरुरी छ भनेर हामीले विश्व सम्पदा सूचीमा राख्ने निर्णय गरी पर्यटन बोर्डमा पठाएका छौँ’ जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङले भने ‘नेपाल देश निर्माणको सुरुवात भएको ऐतिहासिक, धार्मिक महत्त्व भएको ठाउँ, पृथ्वीनारायण शाहदेखि अन्य शाहवंशीय इतिहास रहेको दरबारलाई विश्वसम्पदा सूचीमा राख्न उपयुक्त छ भनेर हामीले प्रस्ताव गरेका हौँ।’ यो विषयमा जिल्ला समन्वय समितिले पर्यटन बोर्डसँग छलफल कार्यक्रम समेत गरिसकेको छ।  

समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालका अनुसार जिल्लाका सबै स्थानीय तहले पर्यटन बोर्डलाई पत्र लेखेर विश्वसम्पदा सूचीमा राख्न आग्रह गरेका छन्। 
‘गोरखाका ११ वटै स्थानीय तहको समर्थनमा समन्वय समितिले पर्यटन बोर्डलाई पत्र लेखेर प्रस्ताव गरेको हो’ धितालले भने ‘अहिले विश्व सम्पदासूचीमा रहेका नेपालका अन्य ऐतिहासिक क्षेत्रभन्दा गोरखा दरबार क्षेत्र पनि कम छैन।’   

गोरखाको पर्यटन प्रवर्धन र प्रचारका लागि गोरखा नगरपालिकाले नेपाल एकीकरणका योद्धा विशे नगर्चीको सालिकसमेत निर्माण गरिसकेको छ। गोरखा नगरपालिकाले गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा राख्न गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताएको छ। 

‘नेपालभन्दा अगाडि आउने नाम गोरखा हो’ नगर प्रमुख राजनराज पन्तले भने, ‘नेपाल चिनिएकै गोरखाले हो। हामीले विश्वसामु चिनिएको गोरखाको ऐतिहासिकता, धार्मिकता बचाउन सकेनौँ भने यहाँको भविष्य छैन, नगरपालिका पर्यटनमा विशेष जोड दिएर अगाडि बढेका बेला यो निर्णय निकै सान्दर्भिक छ। यसमा नगरपालिकाले जस्तोसुकै भूमिका निभाउन तयार छ।’ 

२०७२ वैशाख १२ को गोरखा भूकम्पबाट पूर्ण रुपमा क्षति भएको गोरखा दरबारको अहिले पुनर्निर्माणको काम भइरहेको छ। पुरातत्त्व विभागको निगरानीमा गोरखा दरबारको पुनर्निर्माण भइरहेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.