अामा भन्छिन्, हातमुख जोर्नै गाह्रो छ, उपचार कसरी गर्नु

|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसर नजिकै ४० वर्षीय कुमार माझी ३२ वर्षदेखि अपाङ्ग जीवन बिताइरहेका छन्। उपचारका लागि रकम जुटाउन नसक्दा अहिलेसम्म उपचार हुन नसकेको हो।

अाठ वर्षको उमेरमा अपाङ्गता भएका कुमारलाई अहिले खुवाउने, पियाउने र शौचालय गराउनेलगायत सबै काम अर्कैले गरिदिनुपर्ने आमा चन्द्रकुमारी माझीले बताइन्। 

३२ वर्षअघिको घटना

माझी परिवार भएकाले उनका बाबु नदीमा डुङ्गा चलाउने र खेती किसानीबाट परिवार गुजारा चलाउँदै आएका थिए। खेतबारीमा मलको लागि र आम्दानी पनि हुने भनेर गाईगोरु र बाख्रासमेत पालेका थिए। स्थानीय विद्यालयमा कक्षा २ मा पढ्ने कुमार अाठ वर्षका थिए।

शनिबार बिदाको दिनमा साथीसंगीसँग बाख्रा गोठालो जान्थे। २०४२ सालको हिउँदमा उनी छिमेकीसँग बाख्रा गोठालो गएका थिए। त्यो दिन उनीहरू दुई जना मात्रै गोठालो गएका थिए। उनीहरु प्रायजसो अरुण नदी नजिकै पर्ने भएकाले बगर आसपास बाख्रा छोडेर पौडी खेल्ने र माछा मार्ने गर्थे। त्यो दिन पनि उनीहरूले पौडी खेले।

बाख्रा लिएर घर फर्केपछि साँझमा कुमार र उनका छिमेकीलाई ज्वरो आउने र टाउको दुख्ने समस्या अायो। उनीहरू दुवै जना सिकिस्त बिरामी परे। चिकित्सकको सहज पहुँच थिएन। उपचारका लागि धामी लगाए।  बिरामी निको नभएपछि कुमारसँगै गोठालो गएका साथी त्यही राति नै बिते। 

कुखुरा र बोकाको बलि धेरै चढाए तर पनि निको भएन। ‘केही वर्ष अघि जिल्ला अस्पताल खाँदबारीमा उपचारका लागि लगेँ। डाक्टरले ठूलो शहरमा उपचार गर्न लैजानु भनेर पठाए', चन्द्रकुमारीले सम्झिन् 'आफूसँग पैसा छैन। हातमुख जोर्न त धौ धौ छ कहाँबाट छोराको उपचार गर्नु।’

अहिले कुमारको शरीरका कुनै पनि अङ्गले काम नगर्ने भएकाले उनलाई खुवाउन पियाउन र शौचालय जान आउन एक सहयोगी चाहिन्छ।

अपा‌ंगता भत्ता रोकियो 

कुमारले अपाङ्गता भत्ता बापत सकारबाट मासिक दुई हजार पाउने गरेको भए पनि ६-७ महिनायता नपाएको चन्द्रकुमारीले बताइन्। ‘सरकारले दिने भत्ता महिनैपिच्छे दिए राहत मिल्ने थियो। कहिले रोकिएको छ भन्छ। कहिले आइहाल्छ भन्छ। के कारणले रोकिएको हामीले के बुझ्नु’, उनले भनिन्।

पहिले माझी परिवार तुम्लिङ्टार सिरानमा पर्ने मुग्लिनमा बस्थ्यो। १३/१४ वर्ष अगाडि मात्रै उनीहरू मनकामना मन्दिर नजिकै बसाइँ सरेको चन्द्रकुमारीले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.