कर्मचारी भन्छन्, प्रविधि प्रयोग गर्दा अतिरिक्त लाभ हुँदैन

|

पर्सा : आधुनिक प्रविधिमैत्री कार्य सम्पादनका लागि नेपाल सरकारका मन्त्रीहरूले जनही ल्यापटप प्रयोग गरे पनि वीरगञ्ज सुख्खा बन्दरगाह भन्सार कार्यालयले भने ११ वर्षदेखि नयाँ प्रविधि थन्क्याएर राखेको छ।

सुख्खा बन्दरगाहमा आयात निर्यात हुने मालवस्तु बोकेका ट्रक तथा रेलका कन्टेनरभित्रको सामान एक्सरे मेसिनले बाहिरबाटै पत्ता लगाउन सक्छ। तर नयाँ प्रविधि अंगालेको मुलुकको सुख्खा बन्दरगाह भन्सार कार्यालयले भने ११ वर्षदेखि नयाँ प्रविधि थन्क्याएको पाइएको हो।

आधुनिक प्रविधियुक्त शैली अपनाउँदा कर्मचारी र कारोबारीलाई अतिरिक्त फाइदा नहुने भएकाले केही न केही गडबड गरेर मेसिन थन्क्याएको सुख्खा बन्दरगाहका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए।

परम्परागत शैलीले कार्य सम्पादन गर्दा वस्तुको परिणाम, गुणस्तरता र फरक मालवस्तु भएको भनि खेल्न सक्ने र अतिरिक्त लाभ लिन सक्ने ठाउँ हुँदा कर्मचारी र कारोबारी दुवै पक्षले यो प्रविधि प्रयोगमा ल्याउन नचाहेको उनको भनाइ छ।

२०६१ साउन १ गतेदेखि सञ्चालनमा आएको वीरगञ्ज स्थित नेपालकै पहिलो सुख्खा बन्दरगाह ( ड्राइपोर्ट ) भन्सार कार्यालयमा यो एक्स–रे मेसिन २०६४ सालमा नै ल्याइएको कार्यालयको भनाइ छ। तर सुरुको आठ दश दिन बाहेक यो एक्स–रे मेसिन ड्राइपोर्टमा आएका मालवस्तुको जाँच गर्न अहिलेसम्म प्रयोग नगरिएको ड्राइपोर्टका कर्मचारीले स्वीकार गरे।

भारत तथा तेस्रो मुलुकबाट नेपाली व्यापारीले आयात गरेका मालवस्तु रेल मार्फद सोझै वीरगञ्जस्थित ड्राइपोर्टसम्म आउँदा रेलका कन्टेनर तथा डब्बाभित्र रहेका मालवस्तु परम्परागत शैलीमा जाँच गर्न समय र श्रम दुवै बढी लाग्ने झण्झटबाट मुक्त हुन नयाँ प्रविधि प्रयोग गरिने नेपाल सरकारको लक्ष्य थियो।

यो लक्ष्यलाई पूरा गर्नसरकारले एक्सरे मेसिन चलाउन भनी एउटा दरबन्दी पनि कायम गरी २०६५ सालमा सूर्य नेपाल नाम गरेका कर्मचारी पनि सुख्खा बन्दरगाह वीरगञ्ज पठाएको तथ्यांकमा उल्लेख छ। तीन महिना चीनमा तालिम लिएर आएका भनिएका ती कर्मचारी नेपालले पनि यो एक्सरे मेसिन नचलाएको बन्दरगाहका कर्मचारीले बताए।

चीन सरकारले नेपाल सरकारलाई सोही समयमा नै उपलब्ध गराएका दुई आधुनिक एक्सेरे मेसिन मध्ये एउटाको लागत मात्र २३ करोड जति पर्ने सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जका प्रमुख सूर्य सेढाईँले बताए। १२ चक्के गाडी जस्तो देखिने यो एक्सरे मेसिन चीन सरकारले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो। मेसिनमा के खराबी छ भन्ने पनि आफूहरूलाई थाहा नभएको उनले बताए।

ड्राइपोर्टमा आफू आएपछि यहाँको एक्सेरे मेसिन लामो समय नचलेको थाहा पाएर त्यसको पहल गरेपछि गएको माघतिर चीनदेखि नै प्राविधिक टोली आएर जाँच गरी फर्किएको ड्राइपोर्टका प्रमुख सेढाईँले बताए। उनीहरूले मेसिनबारे के भएको छ भन्ने चाइनिज सरकार, एक्सरे मेसिन उत्पादक कम्पनी र बेइजिङस्थित नेपाली दूतावासमा पत्रमार्फत जानकारी दिने उनले बताए।

चीन सरकारले नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराएका दुईमध्ये एउटा एक्सरे मेसिन भने काठमाडौंस्थित अन्तर्राष्ट्रिय एयरपोर्टमा रहेको र त्यो पनि त्यति सञ्चालन नभएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.