चुनावमा घोषणा गरेका कार्यक्रम कार्यान्वयन गर्दैछु : महानगर प्रमुख शाक्य

|

काठमाडौं : के तपाई पशुपति क्षेत्र जाँदै हुनुहुन्छ? वा, बसन्तपुर दरबार क्षेत्र घुम्दै हुनुहुन्छ? त्यहाँ गएर फोटो क्लिक गरिसकेपछि तत्काल सामाजिक सञ्जालमा पोष्ट गर्न मन लाग्छ? वा तपाइलाई तत्काल कुनै सूचना इन्टरनेटको माध्यमबाट अर्को व्यक्तिलाई दिन चाहनुहुन्छ?

तर, मोबाइलमा डाटा छैन वा डाटाको स्पीडले तपाईंको काम हुने छाँट छैन? अब चिन्ता लिनुपर्दैन। अबदेखि तपाई यी क्षेत्रमा फ्री वाइफाइको सदुपयोग गर्न सक्नुहुन्छ। पशुपतिमा दर्शन गर्न चाहने दर्शालुहरूले अब पशुपति क्षेत्र परिसर लगायत क्षेत्रमा निःशुल्क  इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन्।

मान्छेहरूको भिडभाड बढी हुने पशुपति क्षेत्र लगायत काठमाडौंका ६ वटा पुरातात्विक तथा सार्वजनिक स्थलमा काठमाडौं महानगरपालिकाले फ्री वाइफाइ सुविधा दिएको छ। पशुपतिनाथ सहित बौद्ध, शंखपार्क, बाजालु बाईसधारा उद्यान, स्वयम्भु र बसन्तरपुर हनुमानढोका दरबार क्षेत्रमा महानगरले वर्ल्ड लिंक कम्युनिकेशन प्रा.ली.को सहकार्यमा यस क्षेत्रमा फ्री वाइफाइ सुविधा शुरु गरेको छ।

गएको चैत १८ गते महानगरपालिकाले वर्ल्ड लिंकसँग सम्झौता गरी दुई महिना पहिलेदेखि परीक्षण गर्दै आएको थियो। फ्री वाइफाइ सेवाको आइतबार पशुपति परिसरमा उद्घाटन गरिएको छ।

कसरी लिने सेवा?

यदि तपाईं पशुपति क्षेत्र परिसरमा पुग्नुभयो भने 'World Link Free WiFi' लेखिएको लिंक प्राप्त गर्नुहुनेछ। त्यो लिंक क्लिक गरिसकेपछि काठमाडौं महानगर फ्री वाइफाइ सुविधा लेखिएको पेज खुल्छ। त्यहाँ तपाइले 'Username' र 'Password' राख्नुपर्ने हुन्छ। युजरनेमका निम्ती तपाईंले आफ्नो मोबाइलमा प्रयोग भएको मोबाइल नम्बर इन्ट्री गर्नुपर्नेछ। त्यसपछि मोबाइलले तपाईंको फोनमा कोड नम्बर पठाउँछ। उक्त कोड नम्बरलाई पासवर्डमा इन्ट्री गरेर त्यसपछि वाइफाइ चल्नेछ।

तर, तपाईंले यो सुविधा एक दिनमा आधा घण्टा मात्रै लिन पाउनुहुनेछ। यी क्षेत्रमा हुनसक्ने सम्भावित असुरक्षा तथा वाइफाइको गुणस्तर कायम गर्नका निम्ती यस्तो व्यवस्था गरिएको वर्ल्ड लिंक कम्युनिकेशनका कार्यकारी निर्देशक विजय जलानले जानकारी दिए। फ्रि वाइफाइ सुविधा दिइएका क्षेत्र वरपरका व्यक्तिहरूले हरेक समय वाइफाइ चलाएर भिडभाड गरिरहने सम्भावनालाई पनि नियन्त्रण गर्नका निम्ती समयसीमा तोकिएको उनले बताए। तर आवश्यकताअनुसार उक्त समय एक घण्टासम्म बढाउन सकिने उनले बताए।

वर्ल्ड लिंक कम्युनिकेशनका महाप्रबन्धक दीलिप अग्रवालले यी ६ स्थानलमा फ्री वाइफाइ सेवा प्रदान गर्नका निम्ती करिब एक करोडको लागत लागेको बताए। महानगरसँग पाँच वर्षका लागि सम्झौता गरेर सेवा दिइएको बताउँदै अग्रवालले कर्मचारी खर्च, व्यवस्थापन खर्च गरेर मासिक रुपमा ५ देखि ७ लाखसम्म खर्च आउने जानकारी दिए। निःशुल्क सेवा भएकाले त्यसको गुणस्तरलाई कायम राखिराख्न पनि समयसीमा, युजरनेमका रुपमा मोबाइल नम्बर अनिवार्य गरिएको उनले बताए।

खुला ठाउँमा चुनौती पनि हुने भएकाले सुरक्षामा ध्यान दिइएको उनको भनाइ थियो। 'इन्टरनेट बिना हामी अहिले बस्न सक्दैनौँ। त्यसकारण यस्ता सार्वजनिक महत्वको क्षेत्रमा पनि इन्टरनेट सेवा दिनुपर्छ भनेर हामीले महानगरसँग सहकार्य गरेका हौँ', महाप्रबन्धक अग्रवालले भने 'खुला ठाउँमा धेरै चुनौती हुन्छ। महंगा सामग्री जडान गर्नुपर्छ। सँगै गुणस्तरलाई पनि ध्यान दिएका छौँ।'

कतिले चलाउन पाउँछन्?

फ्री वाइफाइ सेवा लिनका निम्ती यसको समयसीमा सँगै न्यूनतम् प्रयोगकर्ता समेत तोकिएको छ। पशुपतिनाथ क्षेत्रमा ११ वटा एक्सेस प्वाइन्ट जडान गरिएको छ। जहाँ एकपटकमा न्यूनतम् दुई सय जना देखि अधिकतम् सात सय जनासम्मले वाइफाइ सेवा प्रयोग गर्न पाउनेछन्।

यसैगरी बौद्धनाथ क्षेत्रमा ४ वटा एक्सेस प्वाइन्ट जडान गरिएको छ। यस क्षेत्रमा न्यूनतम् दुई सय ५० देखि अधिकतम् पाँच सय जनाले वाइफाइ सुविधा लिन सक्नेछन्। यस्तै शंखपार्कमा दुई वटा एक्सेस प्वाइन्ट जडान गरिएको छ। यस क्षेत्रमा न्यूनतम् ५० देखि अधिकतम् दुई सय जनाले एकैपटक वाइफाइ सुविधा लिन सक्नेछन्।

यसैगरी, बालाजु बाइसधारा उद्यानमा ७ वटा एक्सेस प्वाइन्ट जडान गरिएको छ। जहाँ न्यूनतम् दुई सय देखि अधिकतम् सात सय जनाले एकैचोटी सुविधा लिन सक्नेछन्। स्वयम्भुनाथमा पाँच वटा एक्सेस प्वाइन्ट जडान गरिएको छ। यहाँ दुई सय देखि तीन सय जनाले एकैपटक सेवा लिन पाउनेछन्। बसन्तरपुर हनुमानढोका दरबार क्षेत्रमा ९ वटा एक्सेस प्वाइन्ट जडान गरिएको छ। जहाँ एकैचोटी न्यूनतम् तिन सय देखि पाँच सय जनाले फ्री वाइफाइ सेवा लिन पाउनेछन्। यी ६ वटै क्षेत्रमा न्यूनतम् १० एमबीपीएसको ब्याण्डविथ रहनेछ। प्रयोगकर्ताका आधारमा ब्याण्डविथ बढाउँदै लैजाने प्रतिवद्धता वर्ल्ड लिंक र महानगरले गरेको छ।

घोषित कार्यक्रम कार्यान्वयन गर्दैछु : विद्यासुन्दर

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफुले निर्वाचनका बेला घोषणा गरेका योजनाहरू क्रमशः कार्यान्वयन गर्दै गएको जानकारी दिए। फ्री वाइपाइ सेवाको उद्घाटन गर्दै प्रमुख शाक्यले महानगरबासी नागरिकहरूमा समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी क्रमशः काठमाडौं शहरलाई डिजिटल शहर हुँदै स्मार्ट शहर बनाउने लक्ष्यअनुरुप वाइफाइ सेवा शुरु गरिएको बताए। 'पूर्वघोषित कार्यक्रम अन्तर्गत नै यो सेवा शुरु गरिएको हो। यसअघि सबै वडा कार्यालय र केही सार्वजनिक ठाउँमा सेवा शुरु गरिएको छ', प्रमुख शाक्यले भने, 'यसलाई हामीले एकदमै सुरक्षित बनाउने कोशिस गरेका छौ। हुनसक्ने दुरुपयोगलाई पनि ध्यान दिइएको छ।' यो क्रमलाई क्रमशः बढाउदै लैजाने उनले बताए।

निर्वाचनमा गरिएका प्रतिवद्धता कार्यानवयन गर्दै जानेक्रममा महानगरमा स्मार्ट पार्किङ बनाउने योजनाको पनि सूचना जारी गरिएको उनले जानकारी दिए। मानव सेवा आश्रमसँग सहकार्य गरेर पशुपति क्षेत्र विकास समिति र महानगरले पशुपति क्षेत्रभित्र अहिले माग्ने मान्छेहरू हटाइएको जानकारी दिए।

त्यस, अवसरमा प्रदेश नम्बर ३ का सांसद नरोत्तम वैद्यले सूचना प्रविधिको प्रयोग राम्रो भएपनि पवित्र धार्मिक स्थलमा हुनसक्ने खतरालाई ध्यानमा राखेर सेवालाई प्रभावकारी बनाउन आग्रह गरे। पशुपति विकास क्षेत्रका सदस्य सचिव प्रदिप ढकालले अहिलेको युग सुहाउँदो प्रविधिलाई प्रोग गरिएको बताए। सँगै पशुपति विकास क्षेत्रले पशुपति क्षेत्रमा रहेक केही गलत कार्यको सुधार गर्दै लगेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.