|
फाइल फोटो

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा सोमबार रणउजिरेश्वरी भगवती जात्रा निकालिँदै छ। भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ।

वि.सं.१८७१\७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्रज्य विस्तारवादको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सवसहित भगवतीको रथयात्रा निकालिने चलन छ।

जितगढीको युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले मन्दिरको मर्मतसम्भार गर्नुका साथै भगवतीलाई सिन्दूर जात्रा गरी बजार परिक्रमा गराएका थिए। १८७७ सालदेखि  हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।

२००अौँ संस्करणको रूपमा सोमबार  जात्रा निकाल्न थालिएको छ। दिउँसो पौने १ बजेको साइतमा भगवतीको रथ उठाइने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए। नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्तिवाचन गरेर रथयात्रा अारम्भ हुने उनले बताए। जात्रामा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रदेश पाँचका पर्यटनमन्त्री लिला गिरी, सभामुख पूर्णबहादुर घर्ती मगरको पनि सहाभागिता रहने गुठी व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले बताए।

जात्रामा जिल्लास्थित सरकार कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी र्‍याली प्रस्तुत गर्नेछन्। जात्राको क्रममा लाखे नाच, बालन नाच, छोकडा नाच देखाइने छ। पञ्चेबाजा र भजनकीर्तनबीच रथलाई तानसेन बजार परिक्रमा गराइने छ।

जात्रा अवलोकन गर्न छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, रूपन्देही, पर्वत लगायत जिल्लाबाट हजारौको संख्यामा श्रद्धालु आउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.