हत्या भएको परिवारको आशंका, सत्यतथ्य खोजिदिन आग्रह

|

नवलपरासी : विदेश जाने धन कमाउने र परिवारमा खुशी दिने पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ सुखौराका रामु पुनको सपना कहिल्यै पूरा नहुने गरी अस्ताएको छ। २०७२  चैतमा आफ्ना भिनाजु पर्ने म्याग्दी जील्ला साविक  भकिम्ले गाविस-४ का कुलबहादुर पुनले उनलाई विदेश पठाइदिने सपना देखाएका थिए।

रामु पुनले विदेश जानका लागि २ लाख २० हजार रुपैयाँ ऋण खोजेर नाताले भिनाजु पर्ने दलाल कुलबहादुर पुनलाई बुझाए। कुलबहादुरले छिट्टै विदेश पठाउने आस्वासन दिए पनि कहिले के त कहिले के बाहना बनाएर झुलाइराखे। कहिले काठमाडौं कहिले दिल्ली धाउँदा धाउँदा रामु थाकिसके तर उनी नत विदेश जाननै पाए नत परिवारमा बसेरसँगै दुःख सुख बाँड्न नै पाए।

विदेश जाने र धन कमाउने सपना बोकेर पछिल्लो समय गत वैशाखमा घरबाट दिल्ली पुगेका रामु त्यसपछि परिवारको सम्पर्कमा पनि आएनन् नत उनको अवस्थाको बारेमा दलाल कुलबहादुरले परिवारलाई जानकारी नै गराएका थिए। भदौ ५ गते एक्कासि परिवारलाई कुलबहादुरले फोन गरेर रामुको मृत्युको खबर सुनाएपछि परिवार छाँगाबाट खसेजस्तै भयो।

परिवारलाई खरानी मात्रै

रामुकी दिदी अनिता पुनले भाइको मृत्युको खबर पाएपछि रुँदै आफ्ना भिनाजु पर्ने दलाल कुलबहादुरलाई भाइको शव नेपाल ल्याइदिनका लागि आग्रह गरिन् तर कुलबहादुरले भने शव नेपालमा ल्याउन धेरै खर्च हुने बताएपछि उनले शवको पोष्टमाटम गरिदिन आग्रह गरिन्। परिवारको आग्रहलाई बेवास्ता गर्दै कुलबहादुरले पोष्टमार्टम नगरी शवको दाहसंस्कार गरी भदौ ८ गते परिवारमा खरानी लिएर आए। 

कुलबहादुरले रामुको मृत्यु भएको भनी परिवारलाई विस्वस्त गराउन केही तस्वीर देखाए तस्वीरमा रामुको अनुहारमा चोट लागेको र निलडामहरु देखेपछि रामुको मृत्यु नभई हत्या भएको आशंका गरे। परिवार र गाउँलेले कुलबहादुरलाई नियन्त्रणमा लिएर गाउँमै राखी प्रहरीमा उजुरी दिनका लागि भदौ ८ गतेनै इलाका प्रहरी कार्यालय बर्दघाटमा पुगे। 

प्रहरीले उजुरी दर्ता गर्नका लागि प्रमाण नपुगेको र यस्तो प्रकृतिको घटनामा इलाकामा नभई जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुपर्ने भन्दै फकाईदिएको स्थानीय अमर श्रीस मगरले बताए। अमरले भने, 'हामी उजुरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा पनि पुग्यौँ मृतकको फोटो पनि देखायौँ घटनाको बारेमा सम्पूर्ण जानकारीसमेत गरायौँ,' उनले थपे, 'भारतमा भएको घटना रहेकोले फोटो र भनेको आधारमा  मात्र उजुरी दर्ता गर्न नसकिने भन्दै उजुरी नै दर्ता भएन।' 

अहिलेको कानुनअनुसार घटना भारतमा भएकोले सोही ठाउँमै मुचुल्का गर्नुपर्ने भएकोले मुद्दा दर्ता गर्न नमिल्ने सरकारी वकिलले बताएको अमर श्रीसको भनाइ छ। भारतमा घटना भएको, शव नभएको, पोष्टमार्टम रिपोेर्ट नभएको, घटनाको सर्जमिन मुचुल्का नभएको लगायत यथेष्ट प्रमाणको अभाव भएको भनी उजुरी लिन समस्या हुने सरकारी वकिलको भनाइ रहेको रामुका दाजु जितबहादुर पुन बताउँछन्। 

दलाल कुलबहादुरले परिवारलाई आफूले लगेको २ लाख १० हजार र ब्याज गरी २ लाख ५६ हजार परिवारलाई फिर्ता गरिदिएका छन्। कुलबहादुरले नेपालबाट पुलिस रिपोर्ट बनाएर दुबई राजदूतावास (एमबेसी)बाट भिजिट भिजामा जानका लागि छाप लगाएपछि नेपालबाट एयरपोर्ट सेटिङबाट पठाउन खोजेपनि सम्भव नभएपछि भारतीय बाटो भएर पठाउनका लागि दिल्ली लगेको स्वीकार गरेका छन्। 

रामुको मृत्युपछि उनकी २४ वर्षकी श्रीमती पार्वती पुन मगर आफ्नो २ वर्षको छोरालाई हुर्काएर कसरी पठनपाठन गराउने र कसरी घरखर्च चलाउने भन्ने चिन्तामा छन्। उनी श्रीमानको मृत्यु नभई हत्या भएको हुन सक्ने भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याई न्याय दिलाइदिन आग्रह गरेकी छन्। 

रामुका दाजु जितबहादुर पुन पनि आफ्नो भाइको मृत्यु नभई हत्या नै भएको बताउँछन्। दलाल कुलबहादुरले कहिले रक्सी धेरै खाएर मरेको त कहिले सुतेकै अवस्थामा मृत्यु भएको भन्ने र कहिले बाथरुमा लडेर मरेको भनी कुरा फेरिरहने गरेको जितबहादुरको भनाइ छ। फोटोमा हेर्दा भाइको अनुहारमा देखिएको चोटले पनि भाइको हत्या नै भएको उनको भनाइ छ। 'हामीले लाश घरमा ल्याइदिनु भन्यौँ लाश ल्याइदिएनन्, पोष्टमार्टम गर्न भनेका थियौँ पोष्टमार्टम पनि गरेनन् हामी आउँछौँ भनेका थियौँ, तर हतारमा दाहसंस्कार गरिदिए त्यसैले पनि हामीलाई हत्या नै भएको हो' दाजु जितबहादुले भने। 

रामुका बाबु टेकबहादुर छोराले कमाउला र बुढेसकालको साहरा बन्ला विदेशवाट धन जोडेर फर्किएला भन्दा घरमा खरानी बनेर फर्किएपछि आफूलाई सम्हाल्न सकेका छैनन्। लामो समयसम्म परिवारसँग सम्पर्क नभएको र जुन दिन छोराको खबर आयो त्यो दिन उसको मृत्युको खबर आएपछि आफू अत्तालिएको बताए। 

भाइको मृत्यु भएको खबर पाएपछि दिदी अनिता पुनको आँखामा आँसु रोकिएको छैन। भाइको मृत्यु भएको नभई हत्या नै भएको भन्दै सत्यतथ्य खोजीदिन र न्याय दिलाईदिन अनिताले आग्रह गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.