|

डडेल्धुरा : प्रदेश-७ को महानपर्व गौराको मुख्य दिन सोमबार अठ्यावाली अर्थात् अष्टमी। आज प्रदेश-७ मा गौराको पूजाआजा गरी मनाइँदै छ। हिजो गौरा घरमा लगिएको गौरालाई खेल खेल्दै आज पूजा गरी बिरुडा सिरमा चढाउने प्रचलन रहेको पण्डित रामचन्द्र भट्ट बताउँछन्। 

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरापर्वको पहिलो दिन महिलाले घरघरमा तामाको भाडाँमा बिरुडा (पाँच थरीका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गरिन्छ। भदौ शुक्ल पञ्चमीका दिन महिलाले व्रत बसी केराउ, गहत, गहुँ मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएर पर्वको थालनी गरिन्छ। भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहीआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलीपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरूले दुवधागो (मन्त्रक गरिएको एक किसिमको धागो) चढाउने चलन छ भने अठवली अर्थात् अष्टमीको दिन वर्त बसेर  गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन) मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ। 

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको डेउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा डेउडा खेल खेल्ने चलन छ। डेउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी डेउडा खेल्ने गरिन्छ। त्यस्तै डेउडा गीतका माध्यमबाट एक अर्कालाई सुख दुःख बाड्नुका साथै सामाजिक सद्भाव कायम पनि गरिन्छ।

गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ-आफ्नै चलन अनुसार गर्ने गरिन्छ।  प्रदेश ७ को मौलिक सांस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुृरा बाहेक दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गडवालमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार मनाउने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.