|

कालिकोट : जिल्लाका स्याउ किसानहरुले बारीमा नै राम्रो मूल्य पाउँदा उत्साहित भएका छन्। बिगतमा कर्णाली राजमार्गमा पुर्‍याउँदा थोरै मूल्य पाउने किसानहरूले अहिले बारीमा नै स्याउको राम्रो मूल्य पाउँदा उत्साहित भएका हुन्। 

बिगतमा बारीबाट कर्णाली राजमार्ग स्याउ पुर्‍याउँदा पनि व्यापारीहरूले २५ देखि ३० रुपैयाँमा प्रतिकिलो दिने गरेको भए पनि अहिले स्याउ बारीमा नै व्यापारीहरूले प्रतिकेजीको ६० रुपैयाँमा बिक्री हुन थालेपछि स्याउ किसानहरू उत्साहित भएका हुन्। आजभोलि व्यापारीहरू स्याउ किसानहरूको बारीमा नै पुगेर स्याउ किन्ने गरेको र स्याउ बाली राम्रो भएका कारणले स्याउबाट किसानले राम्रो आम्दानी लिएको तिला गुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए।

‘किसानले स्याउ बेच्नकै लागि बजार जानु गरेको छैन।’ उनले भने, ‘व्यापारीहरू स्याउ किन्नका लागि किसान कै घरमा आउन थालेका छन्।’ बिगतका दिनमा स्याउ बिक्री गर्नका लागि राजमार्गमा स्याउ पुर्‍याउनु पर्ने आफूले भनेको मूल्यमा नपाउने गरेकोमा यो वर्ष भने स्याउ बारीमा नै व्यापारी स्याउ किन्न थालेको तिलागुफा नगरपालिका-४ फोइमहादेवमा किसान नरपति कटुवालले बताए। ‘स्याउ बारीमा नै व्यापारीहरु स्याउ किन्न आउने गरेका छन्। स्याउको मूल्य पनि राम्रो दिएका छन्।’ उनले भने,‘अहिले बारीमा नै व्यापारीहरूले ६० रुपैयाँ प्रतिकेजी दिने गरेका छन्।’

स्याउ किसानले राम्रो मूल्यमा स्याउ बिक्री हुन थालेपछि किसानको आम्दानी बृद्धि भएको र किसानलाई सहुलियतमा स्याउ बिरुवा बितरण गर्न थालिएको तिलागुफा नगरपालिका प्रमुख शाहीले बताए। ‘कालिकोटको आम्दानीको स्रोत नै स्याउ बाली हो।’ उनले भने,‘हामीले स्याउमा बिरुवामा अनुदान समेत दिएका छौं।’
१२ हजार मेट्रिक टन स्याउ फल्यो

जिल्लाका तिलागुफा नगरपालिका-१० हजार मेट्रिक टन र अन्य ठाउँमा दुईहजार मेट्रिक टन स्याउ फलेको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ। तिलागुफा नगरपालिका यस आर्थिक वर्षमा स्याउ बाली लगाएको क्षेत्रमा ८० प्रतिशत स्याउ फलेको र १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको तिलागुफा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोबिन्दप्रसाद देवकोटाले बताए। ‘स्याउ बाली लगाएको क्षेत्रमा ८० प्रतिशत स्याउ बिरुवाले दाना दिएको छ।’ उनले भने, ‘हाम्रो नगरपालिकामा १० हजार मेट्रिक टन स्याउ फलेको अनुमान गरेका छौं।’

जिल्लाका अन्य स्थानीय तहहरुमध्ये खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकामा क्षेत्रमा करिब दुई हजार मेट्रिक टन स्याउ फलेको जिल्ला कृषि विकास कार्यालय कालिकोटका बागवानी अधिकृत भत्तिराम शर्माले बताए। ‘सबैभन्दा बढी तिलागुफा नगरपालिका स्याउ फलेको छ।’ उनले भने,‘त्योभन्दा अन्य क्षेत्रमा कमै स्याउ फलेको छ।’ 

सुरु भयो स्याउ निर्यात

कर्णाली प्रदेशका जुम्ला, मुगु र कालिकोट जिल्लाबाट स्याउ निर्यात गर्ने काम सुरु भएको छ। भदौं महिना सुरु भएसँगै स्याउ निर्यात सुरु भएको हो। कर्णालीबाट निर्यात गरिएको स्याउ नेपालका प्रमुख व्यापारिक शहरहरू सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं र विराटनगरमा पुग्ने गरेको व्यापारी मुनबहादुर थापाले बताए। ‘स्याउ किसान तथा व्यापारीलाई भदौं महिना निर्यातको काम सुरु गरेका छन्।’ उनले भने, ‘भदौंको पहिलो सातामा नै स्याउको निर्यात भइसकेको छ।’

गाउँमा स्याउ उत्पादन राम्रो भएपछि भारतको रोजगारी रोकियो

जिल्लाको तिलागुफा नगरपालिका-४ को राचुली गाउँ र वडा २ को रताडा गाउँमा स्याउ उत्पादन राम्रो भएपछि भारतको रोकिएको छ। स्याउ उत्पादन राम्रो भएपछि गाउँ नै आम्दानी स्रोत बढेका कारणले भारतको रोजगारी रोकिएको हो। राचुली र रताडा गाउँका सबै घरपरिवारले यो आर्थिक वर्ष न्यूनतम ४५ हजारको स्याउ बिक्री गरेका छन्। 

गाउँमा सबैका स्याउ बगैचा रहेको गाउँमा स्याउ उत्पादन राम्रो भएका कारणले सबैले ४० देखि ५० हजारको स्याउ बिक्रीबाट आम्दानी लिएका कारणले रोजगारीका लागि भारत जान गाउँले छोडेको स्थानीय ऐनबहादुर शाहीले बताए। ‘गाउँमा सबैका स्याउ बगैचा रहेका छन्।’ उनले भने,‘स्याउ राम्रो फल्यो। सबैले राम्रो आम्दानी लिएका छन्। त्यसैले कोही पनि पराई देशमा रोजगारी इच्छा गरेका छैनन्।’

बिगतमा रोजगारीका लागि भारत जाने गरेका गाउँमा मानिसहरुले यो वर्ष सबैले स्याउबाट भारतमा कमाउने पैसा गाउँमा नै कमाउन थालेको र गाउँमा नै राम्रो आम्दानी गर्न थालेपछि रोजगारीका लागि अन्यन्त्र जाने मान्छे निकै कम रहेको तिलागुफा नगरपालिका-४ वडा अध्यक्ष खड्कबहादुर शाहीले बताए। ‘बिगतमा गाउँका स्थानीय रोजगारी भारत जाने संख्या निकै थियो।’ उनले भने, ‘यो वर्ष गाउँमा नै स्याउबाट वर्षभरि खाने पैसा कमाएँ। त्यसैले यो वर्ष कोही रोजगारीका अन्य ठाउँ गएका छैनन्।’

राचुली र रताडा गाउँमा स्याउ बिक्रीबाट करिब १ करोडभन्दा बढी आम्दानी भएको स्थानीय तथा स्याउ किसान दानबहादुर शाहीले बताए। ‘गाउँमा स्याउबाट आम्दानी नलिने कुनै घर पनि छैन्।’ उनले भने,‘दुबै गाउँमा स्याउबाट १ करोडभन्दा बढी आम्दानी लिएका छन्।’

एउटै टोलबाट ४५ लाखको स्याउ बिक्री

जिल्लाको स्याउको राजधानीका रुपमा चिनिएको तिलागुफा नगरपालिका-१ बजेडीचौर टोलका किसानले ४५ लाखको स्याउ बिक्री गरेका छन्। बजेडीचौर टोलका ३१ घर परिवारले यो वर्षमा ७२ लाख बराबरको स्याउ बिक्री गरेका हुन्। ७२ घरधुरी रहेको बजेडीचौर टोलमा यस बर्ष ३१ जना किसानले स्याउ फलाएका थिए।

३१ जना किसानहरूमध्ये अधितम धेरै स्याउ बेच्ने सात लाखको स्याउ बिक्री गरेका थिए भने कम बेच्नेले ६ हजारसम्मको स्याउ बिक्री गरेका छन्। बजेडीचौर टोलका सबैको स्याउ रोपेका थिए। तर कसै कहाँ स्याउ राम्रो फलेको छ भने कसै कहाँ कम फलेको छ। तर राम्रो स्याउ फलेका कृषकहले भने राम्रो आम्दानी लिएको स्याउ किसान पृथ्वीबहादुर बुढाले बताए। ‘यो टोलमा स्याउ बेचेर सबैले राम्रो आम्दानी लिएका छन्’, उनले भने, ‘यो वर्षको कसैको बारीमा स्याउ नै फलेन।’

बजेडीचौर टोलबाट सबैभन्दा बढी बेगम शाहीले सातलाख रुपैयाँको स्याउ बिक्री गरेका थिए। त्यसैगरी सबैभन्दा कम ६ हजार रुपैयाँको स्याउ ३ जना किसानले बेचको बजेडीचौरका स्याउ किसान मनबहादुर बुढाले बताए। ‘सबैभन्दा बढी स्याउ बेच्ने किसानले ४ लाखसम्मको बिक्री गरेका छन्’, उनले भने, ‘सबैभन्दा कम बेच्नेले ६ हजार बराबरको स्याउ बिक्री गरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.