'रामकहानी'मा अड्किएको सफलताको आश

|

काठमाडौं : आकाश श्रेष्ठ नेपाली फिल्म क्षेत्रमा चकलेटी नायकका रूपमा परिचित छन्। उनी अभिनित तीन फिल्म रिलिज भइसकेका छन् भने दुई फिल्म रिलिजको तयारीमा छन्। तर तीन फिल्म रिलिज भइसक्दा पनि उनी दर्शकमाझ उति 'नोटिस' भने हुन सकेका छैनन्।

सानैदेखि फिल्म क्षेत्रमा रुचि राख्ने आकाशले 'म त तिम्रै हुँ'बाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्। उनलाई नायिका तथा निर्मात्री सुस्मिता केसीले फिल्मका लागि अफर गरेकी थिइन्। यस फिल्ममा उनले नायिका ज्योत्सना योगी र सुस्मिता केसीसँग स्क्रिन सेयर गरेका थिए।

यसरी आयो अफर

आकाश हाउस अफ फेसनका विजेता थिए। त्यो कुरा सुस्मिताले थाहा पाएकी रहिछन्। सुस्मिताले आकाशको फेसबुक प्रोफाइलमा फोटोहरू पनि हेरेकी रहिछन्। आकाश भन्छन्, 'सुस्मिता दिदीले मलाई पहिल्यैदेखि नोटिस गर्नुभएको रहेछ। पछि प्रोफइलमा फोटोहरू हेरेर मलाई म्यासेज गर्नुभएको थियो।'

आकाशलाई 'म त तिम्रै हुँ'को अफर आउँदा उनी फिल्म 'तिमीसँग'मा अनुबन्धित थिए। आकाशले 'तिमीसँग'का निर्देशक शिशिर राणालाई सोधेर 'म त तिम्रै हुँ' साइन गरेका हुन्। 'म त तिम्रै हुँ को अफर अगाडि नै म तिमीसँग भन्ने फिल्ममा अनुबन्धित थिए', उनी भनछन्, 'पछि तिमीसँगको छायांकन ढिला भएकाले पनि उक्त फिल्ममा साइन गरेँ।'

अनमोलको रिप्लेसमा आएका आकाश 

आकाश 'म त तिम्रै हुँ' फिल्ममा सुपरस्टार नायक अनमोल केसीको रिप्लेसमा आएका थिए। 'म त तिम्रै हुँ'मा अनमोल केसी खेल्ने कुरा भइरहेको थियो। तर पछि अनमोलको समय नमिलेपछि आकाश उक्त फिल्ममा अनुबन्धित भएका थिए।

आफू अनमोलको रिप्लेसमा आएका कारण निकै चुनौती भएको आकाश बताउँछन्। उनी भन्छन्, 'म त्यहाँ सुपरस्टार अनमोल केसीको रिप्लेसमा आएको थिएँ। त्यसैले पनि राम्रो काम गर्नुपर्ने चुनौती मलाई थियो।'

अनमोल नायिका सुस्मिताका छोरा हुन्। 'म त तिम्रै हुँ'मा अनमोल निर्माताको रूपमा रहेका छन्।

सुटिङको पहिलो दिन : ड्राइभिङ नजान्दा तनाव

फिल्म छायांकनको पहिलो दिन अनि आकाशले दिनुपर्ने पहिलो टेक। रातको समय दरबारमार्गमा गाडी कुदाउनुपर्ने थियो। आकाशलाई गाडी कुदाउन आउँदैनथ्यो। तर पहिलो टेक नै गाडी कुदाउनुपर्ने भयो। आकाशलाई त्यहीँ पसिना छुट्यो। उनी भन्छन्, 'बल्लतल्ल तीन टेक दिएपछि सिन ओके भयो।'

सुरुसुरुमा निकै नर्भस थिए आकाश। पछि भने त्यो 'नर्भसनेस' हट्दै गयो। भन्छन्, 'सिनियर कलाकार सुस्मिता केसीसँग काम गर्नुपर्दा त सुरुसुरुमा निकै नर्भस थिएँ पछिचाहिँ सहज हुँदै गयो।'

पहिलो फिल्मबाट सिक्ने अवसर मात्र

आकाश अभिनित पहिलो फिल्म 'म त तिम्रै हुँ'ले व्यापारिक सफलता हासिल गरेन। फिल्मको असफलतासँगै त्यसले आकाशको करिअरमा पनि खासै ठूलो प्रभाव पारेन। यसले न आकाशलाई राम्रो गर्‍यो, न नराम्रो। आकाश आफूलाई यस फिल्मले सिक्ने अवसर दिएको बताउँछन्। भन्छन्, 'पहिलो फिल्मले मलाई उचाइ त दिएन तर आफ्नो कमीकमजोरी सुधार्ने मौका अनि सिक्ने अवसर दिएको थियो।'

तीन फिल्मबाट नपाएको सफलता, 'रामकहानीमा' अड्किएको सफलताको आश

आकाश श्रेष्ठ अभिनित तीन फिल्म रिलिज भइसकेका छन्। उनी अभिनित 'म त तिम्रै हुँ', ;तिमीसँग' र 'ब्ल्याक' रिलिज भइसकेका छन्। तर तीनवटै फिल्मले व्यापारिक सफलता हासिल गर्न सकेनन्। तीनै फिल्मबाट उनी व्यापारिक रूपमा असफल भए।

आकाश अभिनित नयाँ फिल्म 'रामकाहानी' यही शुक्रबारबाट प्रदर्शनमा आउँदै छ। फिल्मको प्रदर्शनलाई लिएर आकाश निकै उत्साहित छन्। यस फिल्मबाट भने आफू सफल हुनेमा आकाश विश्वस्त छन्। उनी भन्छन्, 'कलाकार सफल हुनुमा मेकर्सको पनि हात हुन्छ। यस फिल्ममा मैले राम्रो टिम पाएको छु। पक्कै दर्शकको नोटिसमा पर्छु होला।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.