|

इलाम : पाँचथर-इलामको सिमाना राँके बजारमा आइतबार राति भएको आगलागीबाट दुई करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय ठालुमान राईको घरमा भएको आगलागीबाट श्रीबहादुर विष्टको करिब ५० लाख बढीको जुत्ता चप्पल र कपडा जलेर नष्ट भयो।विष्टले साेमबार बिहान भग्नावशेष पसल देखाउँदै भने, ‘पन्ध्र बर्ष लगाएर जोडेको पसल एकै झटकामा स्वाहा भयो।’

विष्टको पसलसँगै जोडिएको अर्का व्यापारी तीलबहादुर बस्नेतको सटरमा रहेको किराना पसलमा नगद, सुनचाँदीसहित ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ। तीलबहादुरले पाँच वर्षदेखि राँके बजारमा किराना पसल संचालन गर्दै आएका थिए। उनको किरानामा रहेको  ४५ लाख बराबरको सामान, दुईलाख ८० हजार नगद, दुई लाख ५० हजार सुन, २४ हजारको चाँदी जलेको राँके प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लीलाराज ढकालले बताए।  

आगलागीबाट घर मालिक ठालुमान श्रेष्ठको करिब एक करोडको क्षती भएको छ। ठालुमानका भाइ नरबहादुर श्रेष्ठकोसँगै जोडिएको घरमा पनि १० लाख बराबरको क्षति भएको पीडितले बताएका छन्।आगलागिबाट दुई करोड १० लाख ५४ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

आइतबार साँझ आठ बजेसम्म सुनसान राँकेबजारमा करिब साँढे आठ बजेतिर धुँवाको मुस्लो देखिएको स्थानीय नरेश श्रेष्ठले बताए। उनले भने,‘अघि देखिनै आगो लागेको थियो होला, थाहा पाउँदा आगो नियन्त्रण भन्दा बाहिर गइसकेको थियोे।’आगो स्थानीयबासी, फिदिमबाट आएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको सक्रियतामा पूर्णरुपमा नियन्त्रणमा आएको थियो।

राँके बजारमा चार वर्ष अघि पनि यस्तै विपती आएको थियो। त्यतिबेला आगलागीमा ६ करोड बराबरको क्षति भएको थियो। चार वर्षअघि आगोले खाएका घरहरुको पुन; निर्माण सकिन नपाउँदै अर्को विपती आइलागेको स्थानीय  नरेश श्रेष्ठले बताए। सो समयमा समेत आगलागी हुँदा १२ वटा घर पूर्ण ध्वस्त भएका थिए।

आगलागीमा परी उक्त १२ घरमा रहेका पसलहरू र होटल व्यवसायीको करोडौं बराबरको धनमाल समेत नष्ट भएको थियो।  सो आगलागीबाट इलाम तर्फका चार घर र पाँचथर तर्फका आठ घर ध्वस्त भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.