|

संखुवासभा : जिल्लाको स्वास्थ्य सेवामा हैकम चलाउँदै आएका स्थानीय (पारामेडिक) स्वास्थ्यकर्मीको हैकम सहन नचाहने एमबिबिएस डाक्टर बीचको द्वन्द्वका कारण उपचार सेवा लिन संखुवासभा जिल्ला खाँदवारी अस्पतालमा आएका बिरामीको स्वास्थ्य सेवामा अझै सुधार भएको छैन।

स्थानीय कर्मचारीको बाहुल्यता भएको खाँदबारी अस्पताल विभिन्न कारणले बेला-बेलामा चर्चामा आउने गरेको छ। स्थानीय कर्मचारीले आफूले भनेअनुसार निर्णय नगरिए कार्यालय प्रमुखलाई दुर्व्यवहार गर्ने गरेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको आदेशबमोजिम यहाँ विरामीको सेवा उपचारमा आउने चिकित्सक तथा मेडिकल सुपरिटेण्डेण्टले समेत स्थानीय कर्मचारीको कुटाइसमेत खानुपरेको छ।

संखुवासभा जिल्ला बाहिरबाट आएका डाक्टरहरूले स्थानीय कर्मचारीहरूको मागअनुसार आर्थिक लाभ नपुर्‍याइदिँदा सरुवा भएर जानुपरेको छ।कर्मचारीहरूलाई राजनीतिक संरक्षण प्राप्त भएकाले सिअनमी फूलमाया तामाङसँग विवाद गरेको निहुँमा मेसु डा. विनित झा कार्यकाल पूरा नगरिकन सरुवा मागेर काठमाडौं गएका छन्।

खाँदवारी अस्पतालमा डा. विनित झा मात्र विवादमा परेका होइनन्, यसअघि डा. विष्णुबहादुर बस्नेत, डा. दयाशंकर लालकर्ण लगायतका चिकित्सकहरू आर्थिक लाभकै विवादको चपेटामा परेर कार्यकाल पूरा नहुँदै सरुवा भएर गएका थिए। अर्को तर्फ कर्मचारीहरुबीचको विवादका प्रमुख पक्ष भनिएका स्थानीय कर्मचारीलाई मन्त्रालय वा विभागले विवाद मेट्न अन्यत्र सरुवा गरिदिए पनि केही हप्ता नबित्दै राजनीतिक शक्ति प्रयोग गरेर यही अस्पतालमा फर्केका उदाहरण प्रशस्त छन्।

केही महिना पहिले डा.विनित झासँग विवाद गरेको आरोप खेपेकी सिअनमि फूलमाया तामाङलाई जिल्ला समन्वय समितिलगायत अस्पताल विकास समिति, नागरिक समूह समेतको सिफारिसमा काठमाडौं सरुवा गरिएको भए पनि राजनीतिक दबाब दिएर खाँदबारी फर्कन सफल भएकी छन्।

राजनीतिक शक्तिका कारण यसरी खाँदवारी अस्पतालमा नै पटक-पटक सरुवा गराएर टिक्ने गरेका स्थानीय कर्मचारीको सूची स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग लगायतका निकायलाई समेत अवगत छ। उपचारका लागि अस्पतालमा आउने विरामीको चापलाई ध्यानमा राखेर वि.सं.२०३३ सालदेखि सञ्चालनमा आएको खाँदबारी अस्पताललाई ५० शय्याको क्षमतामा विकास गर्ने सरकारको निर्णयसमेत अहिले धरापमा पर्दै गएको छ।

खाँदबारी अस्पताल अहिले कसले सञ्चालन वा व्यवस्थापन गर्ने भन्ने कुरामै अल्झिएको छ। अस्पताल स्थानीय तहले सञ्चालन गर्ने हो वा प्रदेश सरकारले भन्ने नीतिगत निर्णय भई नसक्नाका कारण अहिले खाँदबारी अस्पतालका सबैखाले सेवा अस्तव्यस्त हुन पुगेका छन्। अस्पतालका लागि भौतिक पूर्वाधार व्यवस्था गर्ने जिम्मेवारी पाएको सरकारको भवन व्यवस्था विभाग मातहतको धनकुटास्थित भवन कार्यालयले लामो समय बितिसक्दा समेत भौतिक पूर्वाधार व्यवस्थाका लागि खासै चासो लिएको देखिँदैन। 

अस्पतालभित्र कर्मचारीहरूबीच विवाद चुलिएर आपसमा हातपात गर्ने सम्मको अवस्थामा पुगेपछि अस्पताल विकास समितिका अध्यक्ष गोपाल घिमिरेले विवाद समाधानको कुनै पहल नगरको स्थानीयको आरोप छ। विवाद समाधान गर्नुको सट्टा उनी अमेरिका पलायन भएकाले विगत केही वर्षदेखि नै अस्पताल नेतृत्वविहीन रुपमा चल्दै आएको छ। आएका विरामीको उपचारमा समय खर्चनुभन्दा निजी क्षेत्रमा खुलेका अस्पताल र जिल्ला बाहिरका अस्पतालमा जान सल्लाह दिनु यस अस्पतालमा भएका स्वास्थ्यकर्मीहरूको काम हुने गरेको छ। 

कुनै समयमा बहिरंग सेवामा मात्रै दिनको १५० जनासम्म बिरामी आउने यस अस्पतालमा हिजो आज नगण्य मात्रामा विरामी आउने गरेको अस्पतालको विरामी दर्ता रजिष्टरबाटै थाहा पाउन सकिन्छ भने यस अस्पतालमा अन्तरङ सेवा लिन आउने अन्य रोगका भन्दा सुत्केरी गराउन आउने बिरामी संख्या अत्याधिक रहेको पाइन्छ। यसले गर्दा एकातिर विरामीको परिवारलाई खर्चको बोझले थिच्ने गरेको छ भने अर्कोतिर जिल्लाको आर्थिक स्रोत बाहिरिन गएको छ। 

संखुवासभा जिल्लाका जनताका साथै छिमेकी जिल्ला भोजपुरको उत्तर पूर्वी भेगका जनता, धनकुटाको उत्तरी भेगका जनता, विभिन्न क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी कर्मचारी तथा विभिन्न कामको सिलसिलामा जिल्लामा आइपुगेका विदेशी नागरिकहरू एवं पर्यटकहरूलाई समेत विसं.२०३३ सालदेखि सञ्चालनमा आएको खाँदवारी अस्पतालले चिकित्सा सेवा पुर्‍याउने जिम्मेवारी बोकेको छ। तर स्थानीय कर्मचारीहरूको समृद्धि-सपनाका कारण यो अस्पताल आफैँ थलिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.