|

काठमाडौं : प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८ समूहलाई सगरमाथाको सफल आरोहण गरेकोमा प्यासन फाउण्डेशनले सम्मान गरेको छ। फाउण्डेशनले सोमबार एक कार्यक्रमको आयोजा गरी आरोहण दलका सदस्यहरू रोजिता बुद्धाचार्य, रोशा बस्नेत, कल्पना महर्जन, देउराली चाम्लिङ र प्रियालक्ष्मी कार्कीलाई सम्मान गरेको हो।

सम्मानीत हुने पाँचैजनालाई संयुक्त रुपमा नगद ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो। विशेषगरी अमृत साइन्स क्याम्पसबाट अध्यनन सम्पन्न गरी सगरमाथा आरोहण गरेका आधारमा प्यासन फाउण्डेशनले सम्मान गरेको फाउण्डेशनका म्यानेजिङ डाइरेक्टर पुष्पराज पहराईले जानकारी दिए। आफूले अध्ययन गरेको कलेजमा अध्ययन गरेर सगरमाथा आरोहण जस्तो साहसिक कार्य गर्ने पत्रकार महिलाहरूलाई प्रोत्साहन स्वरुप सम्मान गरेको डाइरेक्टर पहराईले बताए।

प्रथम महिला पत्रकार सगरमाथा आरोही समूह नाम दिइएको उक्त समूहले गत जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेको थियो। टोलीका सदस्यमध्ये न्यूज २४ टेलिभिजनमा कार्यरत प्रियालक्ष्मी कार्की भने सगरमाथाको चुचुरोमा पुग्न सकिनन्। ‘समानताका लागि बुलन्द आवाज’ भन्ने नारासहित महिला पत्रकार समूहले सगरमाथा आरोहण प्रारम्भ गरेको थियो। उनीहरूले सगरमाथामा नेपाल पत्रकार महासंघको झण्डा फहराएका थिए।

सम्मान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झांक्रीले महिलाको हरेक क्षेत्रमा भएको सफलताले विगतमा गरिएको आन्दोलनले सार्थकता पाएको महसुस भएको बताइन्। विशेष गरी शिक्षा क्षेत्रमा महिलाको उपस्थितीले अहिले हरेक क्षेत्रमा महिला अगाडि बढेर सफल हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो। 

तर, अझैपनि महिलाहरू हिंसा, बलात्कार जस्ता जघन्य अपराधको शिकार हुनुपर्ने अवस्था रहनु दुःखद कुरा रहेको उनको भनाइ थियो। उनले यस्ता घटनाको न्यूनीकरणका निम्ती हरेक व्यक्तिले आ-आफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक रहेको सांसद झाँक्रीको भनइ थियो। त्यस अवसरमा अनेरास्ववियूका महासचिव ऐन महर, अमृत साइन्स क्याम्पसका प्रमुख राजेश महाजु, शैक्षिक परापर्श संघ(इक्यान)का महासचिव शेषराज भट्टराईले बदलिँदो परिवेशमा शिक्षाको विषयमा अब कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा नयाँ बहसको थालनी हुन आवश्यक रहको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.