|

काठमाडौं : प्यासन फाउण्डेसन नामक एक संस्थाले एउटा ठूलो कार्यक्रम काठमाडौंको होटल हार्दिकमा राख्यो र सफल रूपमा सगरमाथा आरोहण गरेका पाँच महिला पत्रकारलाई संयुक्त रूपमा सम्मानसहित आर्थिक सहयोग उपलब्ध गरायो। सबै महिला पत्रकारलाई सम्मानपत्रसहित ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो।

यो सहयोग पाँच महिला पत्रकारको सगरमाथा आरोहणका क्रममा लागेको खर्चको ०.२८ प्रतिशत हो भने अहिले तिर्न बाँकी रकमको १.५ प्रतिशत रकम हो। सगरमाथा आरोहणका क्रममा प्रति व्यक्ति ३५ लाख रुपैयाँको दरले एक करोड ७५ लाख रुपैयाँ खर्च भएकोमा ३० लाख रुपैयाँ भने अझै ऋण रहेको सफल सगरमाथा आरोही पत्रकार रोजिता बुद्धाचार्यले बताइन्। आफ्नो समूहको सगरमाथा आरोहणको विषयमा भोगेको समस्याका विषयमा जानकारी गराउँदै बुद्धाचार्यले भनिन्, 'सगरमाथा आरोहण गर्नुका मुख्य तीन चुनौती रहेछन्- मानसिक, शारीरिक र आर्थिक।'

डोनेसन खोज्ने क्रममा यस्ता दुब्ला पातला, भर्ख प्‍लस टु दिएजस्ता केटी पनि सगरमाथा चढ्न सक्छन् भन्ने प्रश्‍न तेर्स्याएर सहयोग जुटाउन समस्या रहेको उनको भनाइ छ। चाहेजति आर्थिक संकलन गर्न नसकेको कारण ६० प्रतिशत अर्थात् ८१ लाख रुपैयाँ संकल गरेर एजेन्टलाई अरू रकम आएर कसैगरी तिर्ने प्रतिवद्धतासहित सगरमाथा आरोहणमा निस्केको उनले बताइन्। अहिले पनि समूहको ३० लाख रुपैयाँ ऋण रहेको अवस्थामा रकम उठाउन नसकेको उनीहरूको गुनासो छ। पत्रकारहरू देउराली चाम्लिङ, रोजिता बुद्धाचार्य, रोसा बस्नेत, कल्पना महर्जन र प्रियालक्ष्मी कार्कीले सगरमाथा आरोहण गरेर फर्केका छन्।

ऋणको भारीको गुनासो गरिरहेका महिला पत्रकारहरूलाई प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले सम्झाउँदै भनिन्, 'सगरमाथा त चढियो, ऋण तिरिहालिन्छ, चिन्ता गर्नुहुँदैन।' उनीहरूको चिन्ता ऋणको मात्रै नभई कुनै काम गर्न खोज्दादेखि नै उनीहरूलाई उत्प्रेणा दिनुको सट्टा उमेर, जाति, लिंगको आधारमा निरुत्साहित गर्ने र सक्दैन भन्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नसकिएकोप्रति पनि देखिन्थ्यो। 'हाम्रोमा तँ सक्छस्, तँ गर्छस् भन्ने नभएर जात, लिंग र समाजको आधारमा तँ सक्दैनस् भन्नेमा अडिन्छ', बुद्धाचार्यले भनिन्, 'अब तँ सक्छस् भन्नेतर्फ लैजानुपर्छ।'

उनका अनुसार सुरुवातमा उनीहरू १३ जनाले तालिम लिने निर्णय गरे तापनि सगरमाथा आरोहण भने सात जनाले गरे। दुई जनाले व्यक्तिगत रूपमा गरे भने पाँच जनाले सामूहिक रूपमा गरेका हुन्। सगरमाथा चढ्दाको कठिनाइबारे बुद्धाचार्य भन्छिन्, 'सबैलाई गए आए जस्तो स्वभावमा हेर्ने गरेका छन्, सगरमाथा बेसक्याम्पमा पुग्दा एक केजी सामान पाँच केजी बोकेजस्तो हुन्छ। मुटुको धड्कन बढेको जस्तो हुन्छ। अलिकति बिरायो भने स्वर्ग पुगिन्छ। यो सजिलो कुरा रहेनछ तर गर्न सकिँदोरहेछ।' उनले आफू आरोहणकै क्रममा महिनावारी भएको र त्यो बेलाको पीडा पनि सुनाइन्। 'हामीलाई सामान्य अवस्थामा मिन्स हुदाँ त कति गाह्रो हुन्छ, आरोहणकै क्रममा मिन्स भए, रक्तश्राव बढ्दोरहेछ, निकै गाह्रो भयो।'

५० हजार रुपैयाँ मात्र भए पनि आर्थिक सहयोग गरेर ऋण तिर्ने सहयोग गरेका प्यासन पाउण्डेसनका प्रबन्ध निर्देशक पुष्प पहराईले पाँच महिला पत्रकारलाई पासाङ ह्लामु शेर्पासँग दाँजे। २०५० बैशाख १० गते शेर्पाले पहिलो पटक नेपाली महिलाका तर्फबाट सगरमाथा आरोहण गरेकी थिइन्। उनले सगरमाथा चढेर गौरव देखाउनलाई रकमको समस्या हुँदैन भन्ने देखाउन आफ्नो संस्थाबाट सक्दो सहयोग गरेको बताए। समताको लागि बुलन्द आवाज भन्ने नाराका साथ पाँच महिला पत्रकारले सहगरमाथा आरोहण गरेका थिए। उनीहरूले अहिले सगरमाथा आरोहणको बाटोमा एउटा हस्पिटल बनाउनका लागिसमेत अभियान सुरु गरेका छन्।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.