|

काठमाडौं : कवि सूर्यप्रसाद लाकोजूको नविनतम् कृति 'मेरो घाम' कवितासंग्रह संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति तथा कवि सरुभक्तले सार्वजनिक गरेका छन्।

अनुज बुक इन्टरप्राइजेज काठमाडौंले प्रकाशन गरेको कवितासंग्रहमा विभिन्न शीर्षकमा ५३ वटा कविताहरू समावेश छन्। कविताहरूमा राष्ट्रप्रेम, जातीय स्वाभिमान, सामाजिक विकृति, विसंगति, राजनीतिक बेथिति, कुसंस्कार जस्ता विषयहरू उठाइएका छन्। त्यस्तै, शहीदप्रतिको सम्मान, आफूलाई जन्म दिने आमाबुबाप्रतिको श्रद्धा, प्रेमप्रणयका भावहरू पनि कविताका विषय बनेका छन्।

मोफसलमा रहेर नेपाली भाषा र साहित्यको सेवा गर्दै आएका लाकोजूका 'भावनाका फूलहरू', 'फूलहरूको मेला', 'शाश्वत स्वरहरू' गरी तीनवटा मुक्तकसंग्रह, 'गुराँस फुल्ने मन' र 'अक्षरका स्वरहरू' हाइकुसंग्रह, 'पनौती', 'पनौतीको बाह्रवर्षे मकरमेला', 'केही काभ्रेली अक्षरकर्मी', 'स्मृतिका आलेखहरू', 'प्रेरणाको चौतारी' गरी पाँचवटा निबन्धात्मक कृतिहरू, 'सुसेली' नामक एउटा गीतसंग्रह, 'कोपिला' र 'घाम उदायो' गरी दुईवटा बालकवितासंग्रहहरू प्रकाशित छन्।

त्यसैगरी उनका 'स्पर्श', 'मेरो मन, मेरो मीत', 'घामको चुम्बन', 'मेरो घाम' गरी चारवटा कवितासंग्रहहरू पनि प्रकाशित छन्। संख्याका दृष्टिले उनको यो 'मेरो घाम' कवितासंग्रह अठारौँ हो। काभ्रे सेवा समाजले आयोजना गरेको सोही समारोहमा काभ्रे जिल्लामा जन्मिएर नेपाली भाषा र साहित्यमा योगदान गरेवापत कवि सूर्य लाकोजू, राष्ट्रको उच्च ओहदामा पुगेर सेवा गरेवापत राष्ट्रिय सतर्कता केन्द्रका सचिव विष्णुओम बादे र सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई सम्मान गरिएको थियो।

सम्मानित प्रतिभाहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ सरुभक्तले सम्मानपत्र, माला र दोसल्ला ओढाई सम्मान गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.