|

संखुवासभा : सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालमा चिकित्सक बिदामा बसेपछि एक सातादेखि प्रसूति सेवा प्रभावित भएको छ। चिकित्सक नभएपछि प्रसूति सेवा लिन आउने सेवाग्राही  मर्कामा परेका छन्। 

सुरक्षित मातृत्व सेवाका लागि निक साइमन नामक संस्थाले उपलब्ध गराएका चिकित्सक शैलिका श्रेष्ठ बिदामा बसेको केही दिनमा नै अर्का कर्मचारी युवराज बस्नेतलाई पनि कार्यालयले बिदा दिएपछि अस्पतालमा प्रसूति सेवा ठप्प भएको हो।

चिचिला गाँउपालिका–२ याफुबाट प्रसूति गराउन बिरामी लिएर आएका गणेश राईले भने जिल्ला अस्पतालमा कार्यरत दुजै जना चिकित्सक बिदामा रहँदा बिरामीलाई कहाँ लैजाने भन्ने समस्या भएको दुखेसो पोखे। ‘पैसा हुनेले काठमाडौं, विराटनगर, धरानजस्ता सुविधा सम्पन्न शहरमा लैजान्छन्,’ उनले भने, ‘हामीे विपन्न वर्गका मान्छेले अन्यत्र लैजान सक्दैनौं।’

त्यस्तै, खाँदबारी नगरपालिका–१० चन्दनपुरबाट प्रसूति गराउन बिरामी लिएर आएकी राधिका अधिकारीले पनि चिकित्सक नभएको गुनासो गरिन्। जिल्लामा प्रसूति सेवा उपलब्ध नभएपछि सुनसरीस्थित धरान जानु पर्ने बाध्यता रहेको उनले भनिन्। धरानसम्म पुग्न  कच्ची सडकका साथै घण्टौंसम्म लाग्ने भएकाले समस्या हुने गर्दछ। ‘पैसा हुनेले महिना दिनअघि नै सुविधा सम्पन्न ठाउँमा लान्छन्,’ अधिकारीले भनिन्, ‘हामीजस्ता मानिसहरुले अकालमै ज्यान गुमाएको अवस्था छ।’ यस अस्पतालमा प्रसूति गराउन यस क्षेत्रका साथै छिमेकी जिल्ला भोजपुरका उत्तरी पूर्वी भेगका समेत आउने गर्दछन्। 

अस्पतालका निमित्त प्रमुख लक्ष्मण खड्काले शैलिका श्रेष्ठलाई भदौ १५ गते हाजिर हुने गरी बिदा दिइएको भए पनि इमेलबाट २१ गतेसम्म बिदा थपेर बसेकाले प्रसूति सेवा अवरुद्ध भएको बताए।  जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पनि शैलिका १५ गते नै आइपुग्ने गरी बिदामा गएकीले अर्का चिकित्सकलाई बिदा दिएको स्वीकारे। तर, कार्यालयका एक कर्मचारीले नाम नबताउने सर्तमा भने उनीलाई प्रसूति गरे बापत पाउने भत्तामा त्यहाँ काम गर्ने केही कर्मचारीहरुले मात्र लिने गरेकाले प्रसूति सेवा दिने दुवै जना असन्तुष्ट रहेकाले सरुवाको प्रक्रियामा रहेकाले कार्यालयमा हाजिर हुन आएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.