|

बैतडी : तीन वर्षयता बैतडीस्थित  नेपाल–भारत सीमा नाका झुलाघाटबाट उद्धार गरिएका महिला बालबालिकाको संख्या वृद्धि भएको छ। तीन वर्षमा सीमा नाका झुलाघाटबाट २०० भन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकीका इञ्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिए।

‘सीमा नाकाबाट तीन वर्षमा २१७ जनाको उद्धार गरिएको छ’, उनले भने। आर्थिक वर्ष २०७२\०७३ मा ६० जनाको उद्धार गरिएको छ जसमध्ये २३ महिला, २७ बालबालिका रहेका छन्।  सीमा प्रहरी चौकी झुलाघाटका अनुसार २०७३\०७४मा त्यो संख्या वृद्धि हुँदै ७३ पुगेको छ  जसमध्ये २४ महिला र ४० बालबालिका छन्।  

गत आर्थिक वर्ष २०७४\०७५ मा त्यो संख्या पुनः बढेर  ८५ पुगेको छ।  त्यसमध्ये ७० बालबालिका र १७ महिला छन्।  सीमानाका झुलाघाटवाट उद्घार गरिएको बालबालिका तथा किशोरकिशोरी प्रदेश ७ (सुदूरपश्चिम)का पहाडी जिल्लाका साथै कालिकोट, हुम्ला र मुगुका समेत रहेका छन्। 

विद्यालय उमेर समूहका बालबालिका धेरै 

घरमा आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागी विद्यालय पढ्ने उमेरका बालबालिकाका समेत भारत जाने गरेको प्रहरी चौकी झुलाघाटले जनाएको छ।  विद्यालयमा पढाइका साथै घरमा आर्थिक अवस्था कमजोर भएका पनि भारत पस्ने गरेको प्रहरी नायब निरीक्षक पालले बताए।  ‘विद्यालयको एक महिना बिदामा समेत रोजगारीका लागि भारत पस्छन्’, उनले भने, ‘चैत, वैशाख महिनामा बढीजसो स्कुले बालबालिकाको उद्धार गरिन्छ।’

यसमध्ये १२ देखि १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशारी बढी छन्। अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीहरुको लहैलहमा लागेर पनि भागेर जाने गरेको प्रहरीले जनाएको छ। 

१२ देखि १९ वर्षसम्मका विद्यार्थी कोही घरपरिवारको स्वीकृत लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जाने गरेका छन्। ‘विद्यालय छोडेर जाने तथा कुनै कुनै बालबालिका काम गर्न साथीको लहलहैमा लागेर भागेर जाने पाइएको छ’, बैतडीका प्रहरी प्रमुख नायब उपरीक्षक नेत्रमणि गिरीले भने, केही पढ्न मन नलागेर तथा आर्थिक अवस्था कमजोर भएका र बेवारिसे पनि छन्।’ धेरैजसो बालबालिका भागेर विवाह गर्न र भारतमा लुक्न जाने गरेका छन्।

सीमानाका झुलाघाटबाट उद्घार गरिएको बालबालिका तथा किशोरकिशोरीलाई सम्झाई बुझाई जिल्ला प्रहरी कार्यालयवाट सम्बन्धित अभिभावकको जिम्मा लगाइने गरिएको छ। घरबाट भागेर रोजगारीको लागि बढीजसो कात्तिक र मंसिर महिनामा जाने गरेका छन्। केही हिउँदमा रोजगारी गरेर चैतमा घर फर्किने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.