|

तेह्रथुम : तेह्रथुम र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन पक्की पुल ठेकेदारको चरम लापरबाही देखिएको छ। २०६९ मा भएको ठेक्का सम्झौताअनुसार २०७२ असारसम्ममा निर्माण पूरा गर्नुपर्ने भए पनि पटक–पटक म्याद थपे पनि हालसम्म  निर्माण सम्पन्न भएको छैन । तीन वर्षमा पूरा गर्नुपर्ने निर्माण कार्य सात वर्षमा समेत आधा पनि निर्माण भएको छैन।

कुल १३ करोड रुपैयाँ बजेटको पुल निर्माण अलपत्र अवस्थामा छ। १४९ मिटर लम्बाइ र छ मिटर चौडाइको मोटरेबल पुल निर्माणका लागि स्वच्छन्द निर्माण सेवा प्रालिले ठेक्का सम्झौता गरेको हो। ठेक्का सम्झौतापछि निर्माण सुरु गरे पनि विभिन्न बहाना बनाई कामलाई पछि धकेल्दै सात वर्षमा पनि पूरा गरेको छैन।

सम्झौताअनुसार २०७२ असार मसान्तसम्म निर्माण पूरा गर्नुपर्ने थियो। तर, सो समयावधिमा चारवटा पिलर मात्रै ठड्याएको निर्माण कम्पनीले बाढीपहिरो, वर्षा, मौसमको प्रतिकूलतालगायत कारणले काम ढिलो भएको भन्दै २०७३ बैसाखसम्मका लागि म्याद थप गरेको थियो। तर, हालसम्म ३५ प्रतिशत पनि काम नभएको सडक डिभिजन कार्यालय, धनकुटाले जनाएको छ। 

निरन्तर वर्षाका कारण नदीमा पानीको सतह बढेकाले निर्माण कार्य रोकिएको भन्दै अब चाँडै काम सुरु गराउन लागिपर्ने सडक डिभिजन कार्यालय, धनकुटाका प्रमुख विष्णु काफ्लेले बताए। डेढ वर्षसम्म कम्पनीले काम नगर्दा नागरिक, जनप्रतिनिधिलगायत कसैले चासो नलिएको भन्दै त्यसको क्षतिपूर्ति भने दिन नसकिने उनको भनाइ छ। हालसम्म एक करोड ५० लाख रुपैयाँ बराबरको काम भएको र यस वर्ष पनि पुल निर्माणका लागि १८ लाख रकम आएको प्रमुख काफ्लेले जानकारी दिए। 

आयोजनाको अनुगमन गर्ने अख्तियारी पाएको डिभिजन कार्यालय धनकुटाले प्रभावकारी अनुगमन भइरहेको बताएको छ। तर, निर्माण स्थलमा आयोजनाको विवरण राखे नराखेको सम्बन्धमा जानकारी समेत नभएको कार्यालयले अनुगमन गर्न पटकपटक निर्माणस्थलमा पुगेको बताउन भने छुटाएको छैन। ठेकेदार र सडक डिभिजन कार्यालयको मिलेमतोमा नै निर्माण कार्यमा ढिलासुस्ती भएको स्थानीय सरोकारवालाहरुको आरोप छ। 

पक्की पुल निर्माण पूरा नहुँदा यस क्षेत्रका नागरिकहरु जीर्ण भएको झोलुङ्गे पुलबाट यात्रा गर्न बाध्य छन्। झोलुङ्गे पुल जीर्ण भएकाले दैनिक उपभोग्य वस्तु ल्याउन पनि समस्या भएको स्थानीय व्यवसायी यामबहादुर बुढाथोकीले बताए। पक्की पुल नहुँदा जोखिम मोलेरै मोटरसाइकल झोलुङ्गे पुलबाट गडाउँदै आवतजावत गर्नेको संख्यामा वृद्धि भएको उनले बताए।

पाँचथरको यासोक, स्याबरुम्वा, रानीगाउँ लगायत गाउँमा उत्पादन भएका खाद्यान्न बेचबिखनका साथै घरायसी सामान खरिद गर्न सर्वसाधरणहरु जीर्ण झोलुङ्गे पुल तरेर तेह्रथुमको म्याङलुङ आउने गर्दछन्। तमोर नदीको दुवैतिर सडक भए पनि नदीमा पुल नहुँदा निर्माण भइसकेको सडक प्रयोगविहीन छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.