|
मल लिन उभिएका किसान

बाँके : गत २५ साउनदेखि १२ भदौसम्म आपूर्ति नहुँदा बाँकेमा युरिया मल अभाव भएको छ। धानबालीमा मल लगाउने बेला सरकारले मल आपूर्ति नगरेकाले भएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जका प्रबन्धक नवलसिंह बोगटीले बताए।

तर, नियमित रुपमा मल आउन थालेको अब अभाव नहुने प्रबन्धक बोगटीले दावी गरे। ‘केही दिन मात्र अभाव भएको हो,’ उनले भने, ‘ढुक्क हुनुस् अब मल अभाव हुँदैन।’

कार्यालयको यस्तो दावी रहे पनि कृषक र सहकारी संस्थाले भने मागे जति युरिया मल नपाएको गुनासो गरेका छन्। माग गरेको भन्दा आधा मात्र पाउने गरेको जनजागरण बहुउद्देश्यीय सहकारी संस्था खजुराका कार्यकारी व्यवस्थापक रामबहादुर पुनले गुनासो गरे। ‘कम्पनीसँग १५० बोरा युरिया मल माग गर्दा ९० बोरा मात्र दियो,’ उनले भने, ‘माग गरेअनुसार नपाउँदा छिनभरमै मल सकिन्छ। कृषकले लुछाचुडी गर्छन्, मल नपाएकाले गाली गरेर हैरान बनाउँछन्।’

नेपालगन्ज उपमहानगरपालिका–१९, वसुदेवपुरका कृषक अलिम साईंले पनि मल नपाएर हैरान भएको गुनासो गरे। युरिया मलको खोजीमा पाँच दिन बितेको उनले बताए। ‘कसैले भोलि आउँछ भन्छन्। कसैले हामीसँग छैन अर्को ठाउँमा जानुस् भन्छन्,’ उनले भने, ‘मल खोज्दा हैरान भइसकेँ।’

बाँकेमा वर्षे बालीका लागि पाँच हजार मेट्रिक टन युरिया मल माग भए पनि हालसम्म तीन हजार मेट्रिक टन मात्र आपूर्ति भएको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ। 

बाँकेमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सरकारी अनुदानको रासायनिक मल बिक्री गर्दै आएका छन्। कृषि सामग्रीले जेठदेखि भदौसम्म दुई हजार ३६८ मेट्रिक टन युरिया मल बिक्री गरेको छ। 

वर्षे बालीका लागि कृषि सामग्री कम्पनीलाई मात्र पाँच हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने कम्पनीका क्षेत्रीय प्रबन्धक बोगटीले बताए। उनले भने, ‘कृषकको मागबमोजिम सरकारले अनुदानको युरिया मल खरिद गर्न नसक्दा हरेक वर्ष हाहाकार हुने गरेको छ।’

अनुदानको रासायनिक मल बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कार्यालय नेपालगन्जले जेठयता ६९६ मेट्रिक टन युरिया मल बिक्री गरेको छ। कृषकले युरिया मल नपाएको गुनासो गरे पनि साल्ट ट्रेडिङले वर्षे बालीका लागि युरिया नल्याउने गरेको कार्यालय प्रमुख मनोज चौधरीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.