|

त्रिपुराकोट (डोल्पा) : अग्लो जिउडाल, शिरमा ढाका टोपी, कोट–पाइन्ट र काँधमा झोला नै प्रधानाध्यापक पूर्ण डाँगीको झट्टै देखिने बाहिरी परिचय हो। ठूलीभेरी नगरपालिका- ८ मा पर्ने डाँगीवाडा बस्तीमा २०२४ साल कार्तिक २५ मा जन्मेका डाँगीको परिचय स्कुल चम्काउन सशक्त हेडमास्टरको रूपमा जोडिन्छ।

सानैदेखि पढाइमा रुचि राख्ने डाँगीको भविष्यको सपना पनि असल एवं दक्ष शिक्षक बन्ने नै थियो। सोही चाहनाका कारण उनले आफैँले कक्षा १० सम्म पढेको स्कुलमै पहिलो पटक पढाउने मौका पाए।

‘बुबा प्रधानपंच हुनुहुन्थ्यो, घरमै ट्युसन पढाउन शिक्षकलाई खाने व्यवस्था गरिएको थियो। आफूले पढ्ने विद्यालयका शिक्षक आफ्नै घरमा बस्ने भएकाले पनि पढाइ लेखाइमा रुचि बढेको हो’, डाँगीले बताए।

गाउँघरमा शिक्षकलाई गुरु भनेर सम्मान गर्थे। बाहिरबाट आएका शिक्षकलाई पालैपालो घरमा खाना खान बोलाउने गर्थे। घरमै पढाउने शिक्षकलाई पनि कहिलेकाहीँ छिमेकीले खाना खान बोलाउँथे। 'उहाँप्रति सबैले गरेको व्यवहार र गाउँलेले गर्ने सम्मान नै मेरालागि शिक्षक बन्ने प्रेरणा बन्यो’, उनले भने।

पिता भक्तिलाल डाँगी र माता अम्मकली डाँगीको सन्तानको रूपमा जन्मिएका डाँगी वि.सं. २०४५ सालबाट शिक्षण पेसामा लागेका थिए। जिल्लामै एक कुशल शिक्षक मात्रै नभई कुशल प्रधानाध्यापकको रूपमा नाम चम्काएका डाँगीले शिक्षण गर्न लागेको ३० वर्ष भयो। ‘भर्खरको कलिलै अवस्थामा शिक्षण पेसा रोजेको थिएँ। अहिले ५१ वर्षको भए तर शिक्षा क्षेत्रप्रतिको माया त्याग्न सकेको छैन’, डाँगीले भने। डाँगी ठुलीभेरी नगरपालिका- ७ जुफालमा रहेको आदर्श माविका प्रधानाध्यापक हुन्।

उनले एक प्रधानाध्यापकको भूमिका मात्रै निभाएका छैनन्। शिक्षक, अभिभावक, बौद्धिक व्यक्तित्व, समाजसेवी सबै भूमिका निभाउँदै आएका छन्। ‘म स्थानीय व्यक्ति हुँ। एक प्रधानाध्यापकको भूमिकामा मात्रै सीमित भएको भए अहिले म र मेरो स्कुल यहाँसम्म आउने थिएन’, डाँगीले भने। २०४२ सालमा एसएलसी पास गरेका डाँगीले आदर्श माविमा २०४५ सालमा अस्थायी शिक्षकको रूपमा पढाउने मौका पाएको बताए। ‘शिक्षण पेसामा छिरिसकेपछि मेरो जिन्दगीको ठूलै सपना पूरा भएको जस्तो लाग्यो। भाग्य भनौँ या शिक्षण पेसालाई निरन्तरता दिने अवसर भनौँ, २०४८ सालमा स्वतः स्थायी हुने सरकारको नीतिअनुरूप प्रावि तहमा स्थायी भएँ’, डाँगीले भने। २०६३ सालको आयोगबाट मावि शिक्षकको रूपमा स्थायी भएको उनले बताए।

‘वास्तवमै डोल्पामा पढ्नुपर्छ भन्ने चेतना नभएकै हो। सुरुमा शिक्षण पेसामा छिर्दा पढाइप्रति चासो दिने र आफ्ना बालबालिकालाई पढ्नका लागि स्कुल पठाउनुपर्छ भन्ने धारणा अत्यन्तै न्यून थियो’, उनले भने। विद्यालयमा थोरै संख्यामा मात्रै विद्यार्थी आउँने, अझ छोरीले पढ्नुपर्छ भन्ने नभएको र छोरीलाई पनि स्कुल पठाउनभन्दा नौलो कुरा मानिने भन्दै उनले भने, 'विद्यालयमा पनि कोही छात्रा पढ्न आए भने शिक्षकहरूलाई पनि नौलो नै लाग्थ्यो’, डाँगीले भने।

आफूले मावि पढाउन सुरु गरेपछि स्कुलमै दुई जना मात्रै बाहिरी जिल्लाका छात्राहरू पढ्न आएका उनी बताउँछन्। ‘जिल्लाका स्थानीय छात्राहरू त एक जना पनि पढ्न आउँदैनथे’, उनी भन्छन्, ‘सदरमुकाम दुनैमा फिडर छात्राबास खुलिसकेपछि मात्रै छात्राहरू पढ्न थालेका हुन्।’ दलित, जनजातिका विद्यार्थीहरूको विद्यालयसम्म पहुँच नै नभएको र पढ्ने उमेरका बालबालिका पनि कोही बस्तुभाउ चराउन जाने त कोही सानै उमेरमा विवाह गरेर घरायसी व्यवहारमै अल्झिने गरेको उनले बताए।

‘समयसँगै अहिले चेतनास्तर बढ्दै गएको पाएको छु’, उनले भने, ‘पहिले डोल्पामा पढाउने शिक्षक खोज्न जिल्लाबाहिर जानुपर्थ्यो। शिक्षकको अभावमा जिल्लामा पढेलेखेका टेस्ट पास गरेकालाई पनि शिक्षकको रूपमा नियुक्ति गर्ने गरिन्थ्यो। अहिले डोल्पामै उच्च योग्यताका दक्ष शिक्षकहरू उत्पादन भइसकेका छन्।’ यसलाई पहिलेको भन्दा परिवर्तनको संकेतको रूपमा लिन सकिने उनको भनाइ छ।

पहिले अहिलेको जस्तो सुविधा नभएको, होस्टेलको सुविधा नभएको, कापी किताब भनेको समयमा नपाइने गरेको तर त्यतिखेर हाट बजार जाने चलन भएकाले कोही आफन्त हाट गए भने कापी कलम ल्याइदिने गरेको उनी बताउँछन्। ‘पहिलेको पढाइ एकदमै कष्टपूर्ण थियो’, उनी भन्छन्।

अहिलेको जस्तो बत्ती र सोलारको व्यवस्था नभएकाले टुकीमा मट्टितेल राखेर पढ्नुपर्ने र चार पाँच वर्ष त दियालोको भरमा पढ्नुपरेको उनको भनाइ छ।
‘शिक्षाको गुणस्तरको कुरा गर्ने हो भने पहिलेकै शिक्षा गुणस्तरीय थियो’, उनी भन्छन्, ‘अहिले सबै कुरामा स्वतन्त्रता भइदिनाले गुणस्तरमा कमी आएकै हो।’
शिक्षक समय परिस्थितिअनुसार चलायमान हुनसकेन भने विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन नसक्ने बताउँछन् उनी। ‘मैले पढाउन सुरु गर्दा आदर्श माविमा कक्षा १० सम्म पढाइ हुन्थ्यो। अहिले कक्षा १२ सम्म संचालन गरेका छौँ’, भन्छन्, ‘२०५९ साल मंसिरमा गाउँलेहरूले अकस्मात प्रधानाध्यापकको जिम्मेवारीको भारी बोकाइदिए।’

आफूलाई प्रधानाध्यापक भएपछि खुसीसँगै डर पनि लागेको उनको अनुभव छ। ‘एउटा भर्खको केटोले कसरी माध्यमिक विद्यालयको जीम्मेवारी वहन गर्ने र गुम्न लागेको स्कुलको साख कसरी बचाउने भन्ने चिन्ता र डर थियो ममा’, उनले विगत सुनाए।

सुरुमा प्रधानध्यापकमा नियुक्त हुँदा स्कुलको शैक्षिक गुणस्तर कमजोर नै रहेको र एसएलसीमा धेरै प्रतिशत विद्यार्थी फेलहुन थालेपछि ५० प्रतिशत अनुदान रोक्ने भन्दै जिल्ला शिक्षा कार्यालयबाट चेतावनी आएको बताउँदै उनी भन्छन्, ‘अनुदान नआएपछि स्कुल नै बन्द हुने स्थिति भयो।’

उनलाई डर थियो- कतै स्कुल नै खारेज हुने हो कि! स्कुललाई कसरी संचालन गर्ने भन्ने विषयमा गहन रूपमा सोच्न थाले उनी। ‘बेला बखतमा शिक्षक, विद्यार्थी, अभिभावक, सबैलाई स्कुलमा बोलाएर स्कुललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको वृहत छलफल गर्न थालेँ’, उनले थपे। जसरी हुन्छ स्कुल जोगाउनु र गुणस्तरीय शिक्षा प्रदान गर्नु थियो उनलाई। गाउँका जानमान, पूर्वअध्यक्षलगायत सानाठूला सबैलाई स्कुललाई सहयोग गर्न अुनुरोध गर्न थाले, हात जोड्थे सबैलाई स्कुलमा सहयोग गर्न अपिल गर्दै। 

‘त्यसपछि सबैको साथ सहयोग पाउँदै गएँ। विद्यालय चलाउन केही सहज भएको महसुस भयो तर आर्थिक भएन भने काम गर्न सम्भव नहुने कुरा पनि बुझ्दै गएँ’, उनले भने, ‘हाम्रो विद्यालयमा आर्थिक अभाव थियो।’

विद्यालयको जिम्मेवारी लिइसकेपछि विद्यालयको खातामा जम्मा दुई हजार रुपैयाँ मात्र थियो। विद्यालयको आर्थिक स्तर कसरी माथि उठाउने र विद्यालयको बाहिरी संरचना कसरी परिवर्तन गर्ने भन्ने कुराको ठूलै पीर पर्‍यो उनलाई। ‘जसरी पनि विद्यालयको आर्थिक स्तर जुटाउने अठोट लिएँ। विद्यालयबाटै देउसी भैलो खेल्न थाल्यौँ, चन्दा माग्यौँ, शिक्षा कार्यालयबाट आएको अनुदान रकमबाट पनि शिक्षक, विद्यार्थी, अभिभावकलाई श्रमदान गर्न लगाएर पनि धेरथोर रकम विद्यालयमा जम्मा गर्न लगाएँ।’

आजै किताब लिएकै ठाउँमा आउन भनियो। त्यसैका माथि शिक्षक पत्रिकाको अफिस रहेछ। सबै कुरा सोधियो। मैले सबै कुरा भनेँ’, उनले भने, ‘मलाई थाहा थिएन, उनी पत्रकार रहेछन्। सबै कुरा भनेको केही दिनपछि शिक्षक पत्रिकाको बाहिरी कभरमै मेरो फोटो राखेर ‘स्कुल चम्काउन सशक्त हेडमास्टर’ भनेर समाचार छापिएको रहेछ।’ 

जिल्ला शिक्षा कार्यालयमा आउने जिशिअलाई रिझाएर पनि विद्यालयमा विभिन्न शीर्षकमा रकम हाल्न लगाएर थोरै रकममा धेरै काम गर्ने छवि आदर्श माविले बनाइसकेपछि जिशिकाले पनि नियमित अनुदान हाल्न थालेको उनी बताउँछन्। ‘त्यसपछि स्कुल आर्थिक हिसाबमा मजबुत हुँदै गयो’, उनले भने, ‘अहिले विद्यालय भवनहरू शौचालय, खानेपानी सबै राम्रो सुविधा छ।’

शिक्षक, विद्यार्थीले काठ बोकेर पनि ढुवानी रकम बचत गरेको उनले सुनाए। ‘मेरो अनुभवमा एउटा स्कुललाई सशक्त रूपमा संचालन गर्नका लागि जिल्लाका नेता, कर्मचारीहरूसँग समान सम्बन्ध कायम राख्नुपर्दोरहेछ। सोहीअुनुरूप मैले सबैसँग समान सम्बन्ध बनाएको थिएँ’, डाँगीले भने। जिल्लाका सबै पार्टीका नेतासँग समान सम्बन्ध कायम राखेको र सबैबाट सबै किसिमको सहयोग पाएको उनको भनाइ छ। ‘विद्यालय यो स्थानमा आइपुगेको छ, त्यसैमा म खुसी छु’, डाँगीले भने।

स्नातकोत्तर पास गरेका डाँगीले जिल्लामै पहिलो प्राविधिक शिक्षा संचालन गर्ने विद्यालयको रूपमा पनि आदर्श माविलाई चिनाए। २०६९ सालदेखि डोल्पामै कृषि प्राविधिक पढाइ हुने गरी सिटिइभिटीबाट सम्बन्धन ल्याएर जुफालमा जिल्लामै पहिलो पटक प्राविधिक शिक्षा सुरु गरे। उनको यो प्रयासको सबैले प्रशंसा गरेका थिए।
‘प्राविधिक शिक्षा पढ्न चाहने डोल्पाली विद्यार्थीका लागि ठूलो अवसरको कुरा हो’, उनी भन्छन्, ‘सुरुमा एसएलसी पास गरेका विद्यार्थी लक्षित गरेर पन्ध्र महिने कृषि प्राविधिक पढाइ सुरु गरियो। विद्यार्थीको घुइँचो नै लाग्यो।’

एसएलसी पास गरेका विद्यार्थीले जिल्लाभित्र वा बाहिर जता पढे पनि पढ्न पाउने तर एसएलसी फेल भएका विद्यार्थीका लागि पढ्ने अवसर कसरी प्रदान गर्न सकिन्छ भन्ने कुराले उनलाई पिरोल्यो। त्यसपछि त्यही प्राविधिक शिक्षालाई २९ महिने बनाएर एसएलसी फेल विद्यार्थीले पनि पढ्न पाउने व्यवस्था गरियो। ‘यो कदम निकै प्रभावकारी भयो। कृषि प्राविधिक पढ्नेहरूले धमाधम भर्ना गरे’, उनले भने। 

जिल्लामै कृषि प्राविधिक पढाइ सुरु भएपछि तीन–चार दिन हिँडेर जोखिम मोल्दै महँगो खर्च गरेर कर्णाली प्राविधिक शिक्षालय जुम्लामा पढ्न जानुपर्ने स्थितिको अन्त्य भयो भने डोल्पामा कृषि प्राविधिक पढ्न बझाङ, बाजुरा, दैलेख, जुम्ला धेरै ठाउँबाट पढ्न आउन थालेका छन्।

‘अहिले जुफालमा कृषि प्राविधिक पढेका कतिपय विद्यार्थीहरूले सोही तहमा पढाइरहेका छन् भने कतिपयले स्थायी जागिरसमेत खाइसकेका छन्’, उनी भन्छन्, ‘यो कुरा डोल्पाको प्राविधिक शिक्षामा कतिको स्कोप र गुणस्तर रहेछ भन्ने गतिलो उदाहरण बनेको छ।’

यहाँ कृषि प्राविधिक पढाइ सुरु भएको सात वर्ष भइसक्यो। अहिले अर्को खुसीको कुरा पनि थपिएको छ- यसै वर्षबाट पढ्न पाउने गरी आइएस्सीएजी पनि संचालन गरिएको छ। ‘यो कुरा डोल्पाली विद्यार्थीको हकमा सबैभन्दा खुसीको कुरा हो’, उनी भन्छन्। आइएस्सीएजी पढ्नका लागि प्रवेश परीक्षा पनि सम्पन्न भइसकेको र यस वर्ष चालीस जना विद्यार्थीले पढ्न पाउने डाँगीले बताए।

अहिले विद्यालयमा कक्षा ६ देखि १० सम्म ५०० को हाराहारीमा विद्यार्थी रहेको उनको भनाइ छ।

उच्च मावि तहमा १०६ जनाले अध्ययन गरिरहेका छन्। अहिले विद्यालयको वातावरण धेरै राम्रो छ। ‘स्कुल संचालन गर्नकै लागि धेरै दुःख पाएको छु। विद्यालयको शैक्षिक वातावरण राम्रो भएकै कारण जिल्लाका विकट बस्तीहरूबाट पनि विद्यार्थी आएका छन्’, उनी भन्छन्, ‘केही विद्यार्थी जिल्लाबाहिरका पनि छन्’, डाँगीले भने।
स्कुल संचालनका लागि हदैसम्मको मिहिनेत गरेको, कृषि प्राविधिक शिक्षा संचालन गर्ने उद्देश्यअनुरूप विद्यालयमै महायज्ञ संचालन गरेर ६८ लाख रुपैयाँ उठाएको डाँगीले बताए। ‘सम्पूर्ण खर्च कटौती गरेर २४ लाख रुपैयाँ स्कुलको खातामा राखियो’, उनले थपे।

मान्छेले देखेजस्तो, भनेजस्तो प्रधानाध्यापक बनेर स्कुल चलाउन साह्रै गाह्रो हुने अनुभव सुनाए उनले। ‘आजभोलि पनि एकछिन फुर्सद हुँदैन। दिनरात विद्यालयकै काममा व्यस्त हुन्छु। होस्टेलमै बस्न लागेको पनि धेरै भयो’, उनले भने, ‘घरबार त्यागिसकेको छु। गाउँमा रहेको घर पहिरोको जोखिममा पर्‍यो। त्यसपछि स्कुलमै सरेँ।

स्कुलमै बसोबास सुरु गरेपछि अझ स्कुलका लागि खटिन पाएको र गाउँमै हुँदा पनि बिहानै घरबाट निस्केको बेलुकी मात्रै घर पुग्ने उनले बताए। उनको कडा मिहिनेत र परिश्रमले स्कुलले मुहार फेर्‍यो। शिक्षाको गुणस्तरमा अब्बल भएकै कारण एसएलसी परीक्षामा जिल्लामै धेरै पास गराएको भन्दै स्कुल पुरस्कृत पनि भयोे।
‘मैले पनि एक पटक राष्ट्रिय पुरस्कार पाएको थिएँ। त्योभन्दा पनि ठूलो खुसी एक पटक विद्यालयमा पुस्तकालय स्थापना गर्नका लागि दाता खोज्दै काठमाडौं पुगेको थिएँ, त्यतिखेर रुम टु रिड नामको एक दाता संस्थाले केही किताब दिने भनेका थिए। म किताब लिन संस्थाको कार्यालय पुगेँ’, उनले भने, ‘उक्त संस्थाले दिएको किताब टाउकोमा राखेर म बस्ने डेरा सुन्धारा ल्याउँदै थिएँ, एक जनाले फोटो खिचे र मलाई सोधे- तपाईं को? कताबाट आउनुभयो? के लाँदै हुनुहुन्छ?’

आफू डोल्पाको एक विद्यालयको प्रधानाध्यापक भएको र पुस्तकालय स्थापनाका लागि किताबको खोजीमा काठमाडौं आएको कुरा बताए उनले। काठमाडौंको ठाउँमा कहाँ कताबाट गाडी पाउँछ, त्यति थाहा नपाएकाले यसरी टाउकोमा किताब राखेर हिँडेको भनेपछि उनले आफ्नो फोन नम्बर मागेको उनले सुनाए। ‘भोलिपल्ट दिउँसो फोन आयो मलाई। आजै किताब लिएकै ठाउँमा आउन भनियो। त्यसैका माथि शिक्षक पत्रिकाको अफिस रहेछ। सबै कुरा सोधियो। मैले सबै कुरा भनेँ’, उनले भने, ‘मलाई थाहा थिएन, उनी पत्रकार रहेछन्। सबै कुरा भनेको केही दिनपछि शिक्षक पत्रिकाको बाहिरी कभरमै मेरो फोटो राखेर ‘स्कुल चम्काउन सशक्त हेडमास्टर’ भनेर समाचार छापिएको रहेछ।’ 

त्यसपछि आफूलाई धमाधम फोन आउन थालेको र शिक्षा मन्त्रालयबाट पनि फोन आएको उनी सम्झन्छन्। ‘यो कुरालाई मैले गरेको दुःख बिर्सेको दिनको रूपमा लिएको छु’, उनले भने।

जिन्दगीभर स्कुलमै समर्पित भए उनी। त्यहाँबाट धेरै कुरा सिक्ने मौका पनि पाएको बताउँछन्। ‘एक स्कुललाई सशक्त रूपमा संचालन गर्नका लागि शिक्षकलाई दबाब र डरबाट मुक्त बनाउनुपर्छ। सहजै मन लागेका कुराहरू शिक्षक र प्रधानाध्यापकबीचमा आदान प्रदान गर्ने पारिवारिक वातावरण मिलाउन जरुरी छ’, उनले भने, ‘यसो गरियो भने पक्कै पनि विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुने थियो।’

शिक्षा क्षेत्रको सर्वांगीण विकासका लागि शिक्षासम्बन्धी काम गर्ने सम्पूर्ण निकायमा एकद्वार प्रणालीबाट कर्मचारी नियुक्त गर्नुपर्ने उनको बुझाइ छ।
यसो गरियो भने शिक्षा क्षेत्रका सानातिना समस्याहरूका साथै नीतिगत कुराहरू समाधानका लागिसमेत सहज हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.