सम्बोधनमा प्रधानमन्त्री ओलीले छुटाएको बुँदा नम्बर ४

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलन प्रभावकारी रुपमा सफलता पूर्वक सम्पन्न भएको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा बिम्स्टेक शिखर सम्मेलनबारे जानकारी दिँदै उनले बिम्स्टेक बैठकले नेपालको अन्तर्राष्ट्रिय स्तरमा प्रभाव र क्षमता बढाएको दाबी गरेका थिए। उनले सफल आयोजनाले नेपालले व्यवस्थित ढंगले अन्तर्राष्ट्रिय सम्मेलन गर्न सक्छ भन्ने देखाएको दाबी गरेका थिए।

बिम्स्टेकको सम्मेलन काठमाडौंको सोल्टी होटलमा भदौ १४ र १५ गते भएको शिखर सम्मेलनमा भारतका प्रधान्मनत्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्त, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा, भुटान सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक र अध्यक्षको रुपमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुका साथै काठमाडौं घोषणापत्र जारी गरेका थिए।

चेपाई र साँघुरो समयमा सफल काम गर्‍यौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बिम्स्टेकबारे जानकारी दिँदै यो सम्मेलन पहिले नै भइसक्नुपर्ने भएपनि ढिलो गरेर सम्पन्न भएको बताए। उनले नेपाल सन् २०१४ देखि बिम्स्टेकको अध्यक्ष रहेको नाताले शिखर सम्मेलन धेरै ढिला गर्ने छुट नभएको बताए।

प्रधानमन्त्री ओलीले अहिले किन गरेको सम्मेलन भन्ने प्रश्न उठेको जुन नाजायज रहेको बताए। उनले भने, 'सदस्य राष्ट्रहरूमा चुनाव आइरहेका र संयुक्त राष्ट्रसंघको महासभा लगायत हुने भएकाले अहिले नगरेको भए सवा वर्षसम्म हुने वातावरण थिएन।'

उनले सार्क सम्मेलन नभइरहेका बेला यसको सम्मेलन हुनु आवश्यक रहेको बताए। उनले शिखर सम्मेलनबाट एक अर्को सदस्य राष्ट्रबाट लाभ लिनेबारेमा महत्वपूर्ण हुने भएकाले गरिएको बताए। उनले शिखर सम्मेलन आयोजना गर्ने सरकारको निर्णयको छोटो समयमा नै सफलताका साथ सम्पन्न गरिएको बताए। 'यो मुस्किल मुस्किलले भएको हो। हाम्रो कुटनीतिक पहलका कारण यस्तो भएको हो। चेपाइ र साँघुरोभित्र भएको हो', उनले भने, 'एकहप्ता भन्दा पनि एक दिन पनि पर सारे अप्ठेरो सिर्जना हुने अवस्थामा सम्मेलन गर्‍यौँ र अत्यन्तै सफलताका साथ सम्पन्न भयो।'

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको मूल आयोजक समिति र अन्य ११ समितिले विभिन्न विषयमा छलफल गरेको बताए। त्यस्तै, सचिव र परराष्ट्रमन्त्रीस्तरीय छलफल सफलताका साथ सम्पन्न गरिएको बताए।

सम्मेलन आयोजनाबारे प्रधानमन्त्रीको भनाइ थियो , 'नेपालको सामर्थ्यप्रति विदेशमा विस्वास बढेको छ। यसको आयोजना त्रुटीरहित रुपमा प्रभावकारी र सफल भएको छ। नेपालको परराष्ट्र नीति थप सबल र तटस्थ भएको छ। यो असाधारण हो भन्नुपर्छ। सीमितताका बीचमा पनि कुशलताका साथ काम गर्ने हाम्रो क्षमता रहेछ भन्ने पनि प्रमाणित भएको छ।'

सम्मेलनले यो क्षेत्रमा रहेका देशरूको स्वाधिनता मान्ने, पञ्चशिलताको सिद्धान्त मान्ने, यो क्षेत्रको गरिबी निवारण २०३० सम्म गर्ने, एक अर्कासँग सहकार्यका कुरामा सहमति भएको बताए। उनले बिम्स्टेकलाई दक्षिण एसिया र दक्षिणपूर्वी एसियाको गतिशिल पुल बनाउने निर्णय भएको पनि जानकारी दिए।

द्विपक्षीय वार्ता

प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका क्रममा नेपाल आएका सदस्य राष्ट्रका सबै राष्ट्रपति र प्रधानमन्त्रीहरूसँग द्विपरक्षीय छलफल गरेको बताए। उनले छलफलका क्रममा दुईपक्षीय हितका कुरा भएको बताए।

उनले बिम्स्टेकमा भएको ग्रिड कनेक्सनमा सहमति भएको र त्यसले पनि नेपालको हित गरेको तथा सदस्य राष्ट्रहरूसँग थप छलफल भएको समेत बताए। उनले नेपालका लागि उक्त सहमति ऊर्जा व्यापारमा महत्वपूर्ण भएको बताए।

प्रधानमन्त्री ओलीले म्यानमारका राष्ट्रपति, भारतका प्रधानमन्त्री र श्रीलंकाका राष्ट्रपतिबीच दुईपक्षीय भेटघाट र सहमति भएको पनि बताए।

प्रधानमन्त्रीले ओलीले सम्बोधनमा छुटाएको महत्वपूर्ण बुँदा

प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकका तमाम सफलताका कुरा संसदलाई जानकारी गराएका थिए। उनले यसले सदस्य राष्ट्रमा ल्याउने समृद्धिदेखि कनेक्टिभिटी र भारतीय प्रधानमन्त्री मोदी लगायत राष्ट्रप्रमुखहरूले नेपालको प्रशंसा गरेको कुरा जानकारी गराए।

राष्ट्रपनि विद्यादेवी भण्डारीले खेलेको भूमिकाका लागि पनि धन्यवाद दिएका थिए। उनले नेपालको कुटनीतिले सही बाटो पहिल्याएको पनि गर्वका साथ बताएका थिए।

बिम्स्टेक शिखर सम्मेलनले जारी गरेको काठमाडौं घोषणापत्रका बुँदाहरूका बारेमा लामो ब्याख्या गर्नुका साथै रिट्रिटमा मौसमले दिएको धोका र बदलिएको लोकेशनबारे पनि जानकारी गराए। रिट्रिटका लागि पहिले अर्कै ठाउँ तोकिएको भएपनि मौसमका कारण सोल्टीमै गर्नुपरेको उनको भनाइ थियो।

यति धेरै कुरा भन्दापनि बिम्स्टेकको काठमाडौं घोषणापत्रको बुँदा नम्बर ४ बारे भने केही बोलेनन्। उक्त बुँदाले आर्थिक र प्राविधिक सहयोग आदान प्रदान गर्ने उद्येश्यका लागि गठन गरिएको बिम्स्टेकलाई सैनिक कुरासँग जोडेको भनिएको थियो। नेपाल लगायतका कुटनीतिज्ञहरूले नेपाल उक्त बुँदामा चुकेको आरोप लगाएका थिए। र, बिम्स्टेकलाई भारतको दबाबमा पाकिस्तानविरुद्ध प्रयोग भएको पनि टिप्पणी हुँदै आएको थियो।

भारतीय मिडियाले व्यापक प्रचार गरेको उक्त बुँदामा उसले पाकिस्तानलाई लगाउँदै आएको आतंकवादीलाई प्रशय एवं संरक्षण गरेको कुराहरू राखिएको छ। भलै पाकिस्तानको नाम लिइएको छैन।

यो बुँदामाथि सांसदहरूले प्रश्न सोध्ने क्रममा कुरा उठ्ने नै भएकाले आफूले उक्त कुरा नउठाएको भन्ने जावाफ दिएका थिए। सांसदहरूले उक्त बुँदामा प्रश्न गरेपछि जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिम्स्टेक बैठकमा भएको उक्त बुँदा पढेर सुनाएका थिए र बम पड्काउन र बालबालिकालाई अपांग बनाउन नपाइने भन्ने कुरा रहेको बताए। उनले सैनिक अभ्यासमा नेपालको जोड नभएकाले र अहिले भारतमा हुन लागेको सैन्य अभ्यास यसअघिको सरकारका पालामा नै तय भएको बताए।

कांग्रेस सांसदहरूका प्रश्न, नेकपाका सांसदहरूले तालीमात्रै बजाए

प्रधानमन्त्री ओलीले आफ्ना धारणा राखेपछि सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई विषयमा आधारित रहेर प्रश्न सोध्ने समय दिएका थिए। जसमा अधिकांश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रश्न गरेका थिए।

सांसद मिनेन्द्र रिजाल र दिव्यमणिराज भण्डारीले चौथो बिम्स्टेकपछि बहसमा आएको सेप्टेम्बर १० देखि १६ सम्म भारतमा हुन लागेको भनिएको बिम्स्टेक सदस्य राष्ट्रका सेनाहरूको अभ्यासबारे प्रश्न सोधेका थिए। उनले उक्त सैन्य अभ्यासमा नेपाल सहभागी गर्ने कुराले ओलीको राष्ट्रवादी अडानलाई आँच त आउने होइन? भनेर प्रश्न गरेका थिए।

सांसद प्रेम सुवाल लगायतका सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका नाममा सयौं भारतीय सेना नेपाल आएकोबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए। मोदीको सुरक्षामा भारतीय सेना हतियारसहित आएका थिए। त्यस्तै सांसद मिना सुब्बाले नेपालको सुरक्षामाथि अविस्वास रहेको देखाएको बताइन्।

सांसद दिलेन्द्र बडुले सार्क बिस्थापन गर्ने गरी बिम्स्टेकको शिखर सम्मेलन भएको हो कि भन्नेबारे प्रश्न गरेका थिए। उनले नेपाल अध्यक्ष रहेको सार्कको शिखर सम्मेलन कहिले गर्ने भन्ने प्रश्न गरेका थिए। त्यसका लागि पहल गर्ने उनको जोड थियो।

बिम्स्टेकको बारेमा प्रधानमन्त्रीले जानकारी दिएपछि प्रश्न सोध्न कांग्रेसका सांसद उठेपनि नेकपाका सांसदहरूले भने कुनै पनि प्रश्न सोधेका थिएनन्। उनीहरूले प्रधानमन्त्रीको भनाइपछि ताली भने बजाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.