|

काठमाडौं : एक व्यक्तिले आफ्नो जीवनमा कतिवटा पेसा गर्न सक्छ? बढीमा दुई वा तीन पेसा गर्न सक्लान्। तर केही यस्ता व्यक्ति पनि छन्, जसले दुईभन्दा बढी कामलाई आफ्नो पेसा बनाएका छन्।

सर्लाहीको हरिवनमा जन्मिएका नरेश भट्टराई यस्ता व्यक्ति हुन्, जसले एक वा दुई मात्र पेसा गर्दैनन्। उनका पेसा अनेक छन्। सर्वप्रथम त उनी एक कुशल संचारकर्मी हुन्। त्यससँगै गीतकार, उद्घोषक, कलाकार, कथाकार, स्क्रिप्ट लेखक पनि उनको परिचय बनिसकेको छ।

बिहान उठ्नेबित्तिकै इमेज एफएममा सुनिने कार्यक्रम शुभदिनसँगै नरेशको दिनचर्या सुरु हुन्छ। बिहान ८ बजेदेखि १० बजेसम्म सुनिने यस कार्यक्रम सबैभन्दा लोकप्रिय कार्यक्रममा पर्छ। शुभदिन कार्यक्रम सकिएपछि उनले आफ्ना विभिन्न कामहरूलाई सम्हालेका हुन्छन्। उनको दिनचर्या व्यस्ततामै बित्छ।

पपुलर हुन रोजेको रेडियो कर्म

कुरा २०५३ सालतिरको हो। नरेशको संचार माध्यममा आएर काम गर्ने कुनै इच्छा थिएन। उनी मीनभवन क्याम्पसमा विविएस पढिरहेका थिए। उनीसँगै पढ्थे सन्तोष भट्टराई। सन्तोष क्लासिक एफएममा बोल्थे। सन्तोषको वरिपरि धेरै युवायुवती फ्यान बनेर घेरिएर बस्थे। धेरैले सन्तोषलाई एफएममा आफ्नो नाम बोलिदिन आग्रह गर्थे।

त्यो देखेर नरेशमा पनि एउटा इच्छा पैदा भयो। उनले सोचे, 'ओहो! रोडियोमा बोल्यो भने त यतिका क्रेज हुनेरै'छ। म पनि त रेडियोमा बोल्न सक्छु नि!' यही सोचले आफ्नो करिअर बनाउने भन्दा पनि चर्चित हुने लोभमा उनले रेडियो यात्रा सुरु गर्ने तय गरे। 'रेडियोमा बोल्ने मेरो दाइ, मेरो साथी सन्तोषको यतिको क्रेज छ। कलेजको हिरो भएको छ', नरेश भन्छन्, 'त्यो देखेर मलाई पनि पपुलर हुने लोभ लाग्यो। त्यही भएर मिडियामा आउने निधो गरेँ।'

नरेशले सन्तोषलाई भने, 'दाइ, तेरो एफएममा बोल्ने ठाउँ छ?' सन्तोषले आफ्नो एफएममा बोल्ने ठाउँ खाली नभएको भन्दै नयाँ अध्यात्म ज्योति भन्ने एफएम खुल्न लागेको बताइदिए। नरेश सन्तोषको सहयोगमा अध्यात्म ज्योति एफएममा गए।

नरेशलाई रेडियोका बारेमा केही थाहा थिएन। उनी एक रेडियो श्रोता मात्र थिए। उनले अध्यात्म ज्योति एफएममा काम गर्न स्वर परीक्षण दिनुपर्ने भयो। उनले रेडियो नेपालमा गएर स्वर परीक्षण गरे। 'त्यो बेला अहिलेको जस्तो सजिलो कहाँ थियो र!', नरेश भन्छन्, 'मैले त रेडियो नेपालमा गएर स्वर परीक्षण पास गरेपछि मात्र बोल्न पाएको थिएँ।' उनीसँगै नेपाली का‌ंग्रेसका युवा नेता गगन थापाले पनि स्वर परीक्षा दिएर पास भएका थिए।

अध्यात्म ज्योतिबाट सुरु भयो रेडियो कर्म

रेडियोमा बोल्ने अवसर त पाइयो तर के विषयमा बोल्ने वा के कार्यक्रम गर्ने भन्ने अन्योलमा थिए उनी। पछि उनले अन्तर्वार्ता लिने निधो गरे। उनले पहिलो अन्तर्वार्ता ओमविक्रम विष्टको लिएका थिए। उनी सम्झिन्छन्, 'मैले पहिलो अन्तर्वार्ता ओमविक्रम विष्ट दाइको लिएको थिएँ। पछि त देशका धेरै सिनियर कलाकारहरूको अन्तर्वार्ता गर्ने अवसर पाएँ।'

उनले त्यही एफएममा भजन पनि बजाएका छन्। 'मैले अध्यात्म ज्योति एफएममा भजन पनि बजाएको छु', उनी भन्छन्, 'भगवान श्रीरामले यसो भन्नुभयो वा श्रीकृष्णले यसो भन्नुभयो भन्ने भजन होइन कि खप्तड स्वामीका कुराहरू, ज्ञान विज्ञानका कुराहरू जस्ता कुराहरूलाई म भजन बनाएर प्रस्तुत गर्थें।'

एफएम यात्रा : सिकाइ, भोगाइ र पहिलो अनुभव

अध्यात्म ज्योति एफएममा दुई वर्ष काम गरेपछि उनी क्लासिक एफएममा नियुक्त भए। नरेश आफूले क्लासिक एफएमबाट धेरै कुराहरू सिक्ने अवसर पाएको र धेरै नयाँ कामहरू गर्ने अवसर पाएको बताउँछन्। भन्छन्, 'क्लासिक एफएममा धनेन्द्र विमल दाइ हुनुहुन्थ्यो। उहाँले चाहिँ हरेक नयाँनयाँ काम गर्न रुचाउनुहुन्थ्यो र त्यो काम गर्ने मान्छे म नै हुन्थेँ।'

उनले यस एफएममा रहेर नेपालमै पहिलो पटक मोवाइलबाट सिधा रिपोर्ट सुनाउने कार्यक्रम पनि चलाए। उनले यस कार्यक्रमअन्तर्गत ऋतिक रोशन काण्डको पनि अपडेट दिए, जुनबेला उनले धेरै दु:ख पाएका बताउँछन्। उनी भन्छन्, 'ऋतिक रोशन काण्डका बारेमा अपडेट दिइरहँदा मैले टियर ग्यास पनि खाएको छु।'

क्लासिक एफएमपछि नरेश इमेज एफएममा नियुक्त भए। उनले त्यहाँ काम गरेको १५ वर्ष नाघिसकेको छ।

उनले रेडियोमा बज्ने कुनै पनि कार्यक्रम चलाउन बाँकी रखेका छैनन्। 'मैले भजन बजाएँ, समचार भनेँ, अन्तर्वार्ता लिएँ, मोवाइलबाट प्रत्यक्ष अपडेट दिने काम गरेँ, राशिफल भनेँ', उनी भन्छन्, '२१ वर्षको रेडियो कर्ममा मैले चलाउन बाँकी कुनै पनि कार्यक्रमहरू छैनन् होला।'

टेलिभिजनमा रियालिटी शोदेखि झगडा मिलाउनेसम्म

नरेश रेडियोमा नै रमाइरहेका थिए। एक दिन श्रीराम पुडासैनीले नेपाल टेलिभिजनमा नयाँ कार्यक्रम चलाउनका लागि उनलाई अफर गरे। टेलिभिजनमा आउने भएपछि उनी पनि दंग पर्दै उक्त प्रस्ताव स्वीकारे। भन्छन्, 'टिभीमा नै देखिने भएपछि किन नगर्ने भन्ने भएर टिभीमा काम गर्ने निधो गरेँ।'

नरेश स्क्रिन टेष्टका लागि फेयर एण्ड हेन्डसम लगाएर गएका थिए। उनी हाँस्दै भन्छन्, 'बल्ल फेयर एण्ड हेन्डसमको जमाना आएको थियो। त्यसैले राम्रो हुन लगाएरै गएको थिएँ।' नरेश राम्रो ठहरिए। उनी नेपाल टेलिभिजनमा काम गर्नका लागि तयार भए।

जुन कुरा सुन्दा उनको पसिना छुट्थ्यो, त्यही गर्नुपर्ने भयो। उनले त्यहाँ डान्स रियालिटी शो 'आँगन' चलाउनुपर्ने भयो। भन्छन्, 'डान्सको शो हो भन्ने थाहा भएको भए पक्कै जाने थिइनँ।' उनले चलाएको उक्त रियालिटी शो पनि राम्रो भयो। सबैले रुचाए पनि। उनको प्रस्तुतिको तरिका सबैले मनपराए।

नरेश इमेज टेलिभिजन सुरु भएपछि इमेज टिभीमा आवद्ध भए। उनले त्यहाँ फिल्मसम्बन्धी कार्यक्रम चलाउँथे। उनले त्यहाँ कलाकारहरूसँग अन्तर्वार्ता लिन्थे, जुन कार्यक्रम पनि एकदमै रुचाइयो।

केही समय इमेजमा काम गरेर उनी तराई टिभीमा गए। त्यहाँ पनि उनले विभिन्न नयाँनयाँ प्रयोग गरेका छन्। उनले त्यहाँ 'सेक ह्यान्ड्स' नामक कार्यक्रम गरेका थिए, जहाँ झगडा गरेकालाई मिलाउने काम गर्थे। उनी सम्झिन्छन्, 'क्यमेरा अगाडि नबोलिदिने हुनाले उक्त कार्यक्रम लामो समयसम्म गर्न भने सकिएन।'

उनले नै जोडीहरूसँग अन्तर्वार्ता लिन सुरुवात गरेका थिए। उनले 'लभ एण्ड लाइफ' नामक कार्यक्रममा जोडीसँग गफगाफ गर्थे। जुन कार्यक्रम अहिले धेरै जसो टेलिभिजनहरुमा बज्ने गर्दछ। 

अभिनय यात्रा : सिरियलदेखि फिल्मसम्म

नरेशले टेलिभिजनबाट एक प्रकारको लोकप्रियता पाइसकेका थिए। त्यही लोकप्रियतालाई प्रयोग गर्न उनलाई धेरै म्युजिक भिडियो तथा सिरियलबाट अफर आए। उनले श्याम भट्टराईको निर्देशनमा 'गहना' नामक सिरियलमा पनि काम गरे, जहाँ उनी मुख्य भूमिकामा प्रस्तुत थिए। उनी भन्छन्, 'म उक्त सिरियलको हिरो थिएँ। सरिता लामिछाने भाउजुको भूमिकामा र गणेश उप्रेती दाइको भूमिकामा हुनुहुन्थ्यो।'

गहना हिट भयो। उनलाई झन् धेरै म्युजिक भिडियोको अफर आयो। उनले पनि त्यता मन लगाए। उनले हालसम्म लगभग डेढ दर्जन म्युजिक भिडियोमा काम गरेका छन्। उनले पहिलो म्युजिक भिडियोका रूपमा 'निष्ठुरीले छाडेर गइहाली'मा अभिनय गरेका थिए। यम बरालको उक्त गीतको भिडियो आलोक नेम्वाङले तयार गरेका थिए। उक्त गीत पनि एकदमै हिट भइदियो।

उनले फिल्ममा पनि अभिनय गरेका छन्। धेरै फिल्ममा केमियो रोल गरेका छन्। उनी भन्छन्, 'मैले धेरै फिल्ममा अभिनय गरेको छु तर कुनै रिलिज भए, कुनै रिलिज नै भएनन्।' नरेशले 'बाघचाल' नामक फिल्ममा मुख्य भूमिमा निर्वाह गरेका थिए तर उक्त फिल्म रिलिज नै भएन।

टिभिसी विज्ञापनमा पनि छाएका नरेश

मिडियासँग नजिक र क्यमेरा फ्रेन्ड्ली भएका कारण नरेशलाई विज्ञापनमा पनि काम गर्न अफर गरियो। उनले धेरै ठूलाठूला कम्पनीको ब्राण्डको विज्ञापनमा काम गरेका छन्। 'मैले सिजी, एलजी जस्ता ठूला कम्पनीको विज्ञापनमा पनि काम गरेको छु', उनी भन्छन्, 'पछिल्लो समयचाहिँ सिमेन्टको विज्ञापनमा बढी काम गरियो।'

नरेशले विभिन्न बैंकको विज्ञापनमा पनि काम गरेका छन्। उनले धेरै विज्ञापनमा अभिनय त गरेका छन् नै, त्यसभन्दा बढी विज्ञापनहरूमा आफ्नो स्वर दिएका छन्। उनी पेपर एडमा पनि उत्तिकै छाएका थिए।

उद्‌घोषणमा नरेश : सडकमा हुने कार्यक्रमदेखि राष्ट्रपति भवनसम्म

नरेश रेडियो, टिभी वा टिभिसी विज्ञापनमा मात्र बोल्ने काम गर्दैनन्। उनी सर्वाधिक रुचाइएका उद्‌घोषक पनि हुन्। उनले प्राय: सबै किसिमका कार्यक्रमहरू उद्‌घोषण गरेका छन्।

उनले सामान्य कार्यक्रमदेखि अवार्ड कार्यक्रम, रियालिटी शो, महोत्सव, कन्सर्ट, राष्ट्रपति भवनसम्म हुने कार्यक्रम उद्‌घोषण गरेका छन्। उनी भन्छन्, 'मैले उद्‌घोषण गर्न बाँकी पनि कुनै तरिकाका कार्यक्रमहरू छन् जस्तो मलाई लाग्दैन।'

आफूलाई कार्यक्रम उद्‌घोषणका लागि धेरै खोजिनुको कारण आफ्नो बोली र बानी भएको नरेश बताउँछन्। उनी भन्छन्, 'मैले कार्यक्रम होस्ट गर्दा आयोजकलाई सहज बनाइदिन्छु र गेष्टलाई सम्मान दिन्छु। त्यसैले होला मलाई सबैले माया गर्नुहुन्छ।' नरेशको समय नमिल्दा कतिपय कार्यक्रमहरू पछाडि सरेका उनी बताउँछन्।उनी आफूलाई यस क्षेत्रमा टिक्ने र बिक्ने व्यक्ति भएको दाबी गर्छन्।

दाजुको गीत रेकर्ड नहुदाँ गीत लेखन सुरु

नरेश गीतकार पनि हुन्। उनले लेखेको पहिलो गीत नै एकदमै हिट गीतमा पर्छ। उनको पहिलो गीत 'सँगसँगै बाँच्न पाऊँ' हो। 'लेखान्त' फिल्ममा समावेश यस गीतको भिडियोमा रेखा थापा र उत्तम प्रधानको अभिनय रहेको थियो। यस गीतमा राजेपायल राईको पहिलो कम्पोजिसन रहेको थियो।

उनी आफ्ना दाजु कुमार भट्टराईको गीत रेकर्ड नभएका कारण गीत लेखनमा लागेका थिए। उनी भनछन्, 'मेरा दाजु गीत लेख्नुहुन्थ्यो तर उहाँको गीत कसैले रेकर्ड गरिदिँदैनथ्यो। त्यही इखले पनि म गीत लेखनमा आएको हुँ।' आफ्नो गीत लेखनको प्रेरणा उनी दाजुबाट पाएको मान्छन्।

नरेशले सबै प्रकारका गीत लेखेका छन्। 'मैले पप, आधुनिक, फिल्मका लागि धेरै गीत लेखेको छु', उनी भन्छन्, 'मैले लेखेका सबै प्रकारका गीतहरू हिट पनि छन्।' नरेशले हालसम्म ३०० बढी गीत लेखिसकेका छन्। अहिले त प्रायः फिल्ममा उनको गीत सुन्न सकिन्छ।

महानायक राजेश हमाललाई मनपर्ने गीत 'न कुनै बन्धन, न कुनै परिधि' पनि नरेशले नै लेखेका हुन्। उक्त गीत राजेश हमालले आफ्नो विवाहमा आफूलाई मनपर्ने गीत भन्दै राजेशपायल राईलाई गाउन लगाएका थिए।

कथा तथा पटकथा

नरेशले फिल्ममा कथा तथा पटकथा लेखनको काम पनि गरेका छन्। उनले दीपक रायमाझी निर्देशित 'हाम्रो मिलन कहिले हुन्छ' नामक फिल्मबाट कथा लेखन सुरु गरेका थिए। उक्त फिल्ममा मौनता श्रेष्ठको पटकथा समावेश थियो।

पछि शिव रेग्मीले नरेशको कथामा दुई फिल्म निर्माण गर्ने तय भएको थियो। तर शिव रेग्मीको स्वर्गारोहणसँगै उक्त कुराहरू पनि सकियो। 'हाम्रो सम्झैता नै भइसकेको थियो फिल्म निर्माण गर्ने', नरेश भन्छन्, 'पछि उहाँ रहनुभएन त्यसैले काम भएन।'

नरेशले पटकथासमेत लेखिसकेका छन्। यसै वर्ष प्रदर्शनमा आएको फिल्म 'बोबी'मा उनले पटकथा लेखनको काम गरेका थिए। निर्देशक मिलन चाम्ससँगको आत्मीयताका कारण फिल्म लेखनमा हात हालेको नरेश बताउँछन्। भन्छन्, 'मिलनजीसँगको राम्रो सम्बन्धको कारणसँगै काम गरौँ भन्ने भयो। त्यहीँ भएर उक्त फिल्ममा पटकथा लेखेको थिएँ।' वास्तविक कथामा तयार भएको 'बोबी' यस वर्षको सफल फिल्म हो।

धेरै सम्मान र अवार्ड

२१ वर्षको यो अनवरत मिहिनेतमा उनले धेरै सम्मान तथा अवार्डहरू पनि पाएका छन्, जसले गर्दा आफूलाई थप काम गर्न हौसला मिलेको नरेश बताउँछन्।

नरेशले 'भ्वाइस अफ नेपाल - २०१४' अवार्ड प्राप्त गरेका छन्। भर्सटाइल र पपुलरको हिसाबमा दिइने उक्त अवार्ड उनले पाएका हुन्। देशका विशिष्ट व्यक्तिहरूको हातबाट जन्मदिनमा उनले यस सम्मान तथा अवार्ड हात परेका थिए। उनी भन्छन्, 'म जन्मेको दिन उक्त सम्मान मलाई प्रदान गर्नुभएको थियो। निकै खुसी थिएँ म।'

नरेश धेरै पटक पपुलर उद्धोषक घोषित भएका छन्। उनले 'पपुलर एमसी अफ द इयर' अवार्ड धेरै पटक हात पारेका छन्। 

नरेशले यस्ता धेरै सम्मान तथा अवार्डहरू पाएका छन्। देश तथा विदेश घुमेका छन्। यसको सम्पूर्ण कारण आफ्नो मिहिनेत र व्यवहार भएको बताउँछन् उनी। नरेश कार्यक्रमका लागि हालसम्म एक दर्जन बढी देशमा पुगिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.