|
Photo : Getty Images

इङग्लिस प्रिमियर लिगको गएराति सम्पन्न खेलमा आर्सनल बराबरीमा रोकिएको छ भने लिभरपुलले जित हासिल गरेको छ। आर्सनल बराबरीमा रोकिएपनि शीर्ष स्थानमा उक्लिन सफल भएको छ र लिभरपुल आर्सनललाई पछ्याउँदै दोस्रो स्थानमा रहेको छ। 

आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनलले मिडल्सब्रगसँग गोलरहित बराबरी खेलको हो। बराबरीसँगै आर्सनलको लगातार ६ खेलको जित यात्रा पनि टुंगिएको छ। मिडल्सब्रग र आर्सनलबीचको खेल प्रतिष्पर्धापूर्ण भएको थियो। दुवैले गोलका लागि केही प्रयास गरेका थिए तर, दुवै पक्षले गोल गर्न सकेनन्। मिडल्सब्रगका केही राम्रा प्रहारहरू पिटर चेकले विफल पारिदिएपछि खेल बराबरीमा नै टुंगियो। 

यस्तै, लिभरपुलले वेस्ट ब्रोमविच एल्बियोनलाई २-१ गोलअन्तरले पराजित गरेको छ। आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले खेलको २१ औँ मिनेटमा अग्रता लिएको थियो। लिभरपुलका साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने दोस्रो गोल खेलको ३६ औँ मिनेटमा फिलिप्पे कोउन्टिन्होले गरेका थिए। यसपछि खेलमा लिभरपुलले थप गोल गर्न सकेन भने एल्बियोनका लागि ग्यारेथ म्याकऔलीले खेलको ८२ औँ मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्‍याएका थिए। त्यसपछि थप गोल हुन सकेन र खेल लिभरपुलले २-१ गोलअन्तरले जित्न सफल भयो। 

यसैगरी गएराति नै सम्पन्न अन्य खेलमा बर्नलीले एभरटनलाई २-१ गोलअन्तरले, स्टोक सिटिले हल सिटिलाई २-० गोलअन्तरले, लिसेस्टर सिटिले क्रिस्टल प्यालेसलाई ३-१ गोलअन्तरले, वेस्ट ह्याम युनाइटेडले सन्डरल्यान्डलाई १-० गोलअन्तरले पराजित गरेका थिए भने बोर्नमाउथ र टोटेनह्याम होट्स्पुर तथा स्वान्सि सिटि र वाटफोर्डबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

खेलपछि आर्सनल ९ खेलबाट १९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने लिभरपुल पनि समान अंकका साथ गोलअन्तरका कारण दोस्रो स्थानमा रहेको छ। म्यानचेस्टर सिटि एक खेल कम खेल्दा १८ अंकसहित तेस्रो स्थानमा, टोटेनह्याम होट्स्पुर ९ खेलका १८ अंक जोड्दै चौथो तथा ८ खेलबाट १६ अंक जोड्दै चेल्सी पाँचौ स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.