|

विराटनगर : निर्माण सुरु गरिएको १७ वर्ष बित्न लाग्दा पनि मोरङको ग्रामथान गाउँपालिका र बुढिगंगा गाउँपालिका जोड्ने गिधनीया खोलाको पुल निर्माण सम्पन्न हुन सकेको छैन। विराटनगरका ठेकेदार सुरेश खरेलले २०५८ सालमा निर्माण सुरु गरेको उक्त पुलका लागि केही पिल्लर गाडिएको छ। त्यही पिल्लर हेरेर सर्वसाधरण चित्त बुझाइरहेका छन्।

२०५८ सालमा निर्माण सुरु गरिएको यो पुल सम्पन्न गर्ने भन्दै पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, महेश आचार्यलगायतले पटक पटक जनतालाई भोट मागे। तर, पुल निर्माण सम्पन्न हुने अझै कुनै छाँट छैन। पुलका लागि आवश्यक पर्ने केही पिल्लर गाडिएको छ। तर अब त्यही पिल्लरले पनि काम गर्ने जस्तो देखिँदैन्। नेता र मन्त्रीहरूले भोटको रुपमा पुललाई लिएको भन्दै सर्वसाधरण आक्रोस व्यक्त गर्छन्। ‘कति नेता आए। भोटको राजनीति गरे। पुल बन्न अझै सकेको छैन,’ स्थानीय देवनारायण खाँले भने, ‘यहाँबाट दुहबी बजार जान धेरै समस्या भएको छ।’

पुल निर्माण गर्न पटक पटक स्थानीय र प्रशासनले दवाव दिए पनि ठेकेदारले अटेर गरिरहेका छन्। ग्रामथान गाउँपालिकाको तेतरीयाबाट बुढिगंगा हुँदै सुनसरीको दुहवी जाड्ने बाटोमा पर्ने यो पुल नबन्दा यस क्षेत्रका स्थानीय मारमा परेका छन्। पुल नहुँदा दुहबी पुग्न झण्डै १५ किलोमिटर घुमाउँरो अर्को बाटो प्रयोग गर्नु पर्ने या त खोला तरेर जानुपर्ने स्थानीयको बाध्यता छ। 

विवेक निर्माण सेवा प्रालिले तात्कालिन समयमा १ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरी पुल निर्माणको काम सुरु भए पनि बीचमै काम छोडेको थियो। सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगमा काम गर्न यहि  बाटो भएर दैनिक सयौं मजदुरहरू आवत जावत गर्ने गर्छन्। ठेकेदार कम्पनीले २०६०/०६१ सालमा पुलको तीन ओटा पिलर बनाएर प्रारम्भिक काम अघि बढाएको भए पनि थप संरचना नबन्दा स्थानीय मर्कामा परेका हुन्।

पुल अनुगमनका क्रममा सोमबार उक्त स्थान पुग्नु भएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले २/३ वर्षभित्रमा पुल निर्माण हुने आश्वासन दिएकाे बताए। ‘म यो क्षेत्रको जनप्रतिनिधि पनि होइन। तर यो पुल निर्माण गर्न अब दुईवर्ष लाग्छ,’ मन्त्री महासेठले भने। 

यसै आर्थिक वर्षमा पुरानो ठेक्का रद्द गरेर नयाँ बोलपत्र आव्हान गर्ने बताउँदै उनेले सकभर चालु आर्थिक वर्ष भित्रै नभए पनि अर्को वर्ष जनताले पुलमाथिबाट यात्रा गर्ने अवस्था सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे। मोरङ क्षेत्र ४ का नेकपाका सांसद अमनलाल मोदीले आफूले जसरी भए पनि पुल निर्माण गर्ने गरी पहल गरिरहेको बताए। 

प्रदेशसभा सदस्य बिजय विश्वास थारु तथा प्रदेश सरकारका मन्त्री जगदिश कुसियतले पुलको अवस्थाको बारेमा मन्त्री महासेठलाई अवगत गराएको थियो। पुल नहुँदा आवत जावत गर्ने क्रममा कहिले ट्रक डुब्ने त कहिले मानिसको मृत्यु हुने क्रम नरोकिएको स्थानीय बताउँछन्।

सरकारले पुल निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने सर्वसाधरणको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.