|

ला लिगाको शनिबार राति सम्पन्न खेलमा इन्जुरी समयमा पाएको पेनाल्टिलाई लियोनेल मेसीले गोलमा परिणत गरेपछि बार्सिलोनाले भ्यालेन्सियामाथि जित हासिल गरेको छ। जितसँगै बार्सिलोना अंकतालिको शीर्ष स्थानमा उक्लिएको छ। 

खेलमा बार्सिलोनाले अग्रता लिएको थियो। खेलको २२ औँ मिनेटमा लियोनेल मेसीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ५२ औँ मिनेटमा भ्यालेन्सियाका मुनिर इल हाड्डाडिले गोल गर्दै खेललाई बराबरीमा ल्याए भने खेलको ५६ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई २-१ को अग्रता दिलाएका थिए।

तर, उक्त अग्रता लामो समय भने टिक्न सकेन। खेलको ६२ औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए। खेलको इन्जुरी समयमा लुसइ स्वारेजलाई डि बक्स एरियाभित्र फल गरिएपछि बार्सिलोनाले पेनाल्टि पायो र मेसीले उक्त मौकाको फाइदा उठाउँदै गोलमा परिणत गर्न सफल भए।

भ्यालेन्सियाको गोलकिपर डिएगो अल्भेस पेनाल्टि रोक्न खप्पिस मानिन्छन्। उनले आफ्नो करिअरको ३५ वटा पेनाल्टिमा १७ वटा गोल रोकेका छन्। 

यता मेसीले पनि भ्यालेन्सियाविरूद्व राम्रो प्रदर्शन गर्दै आएका छन् उनले पनि भ्यालेन्सियाविरुद्व भएका २१ खेलमा १९ गोल गरिसकेका छन्। 

यसैबीच, बार्सिलोनाका स्टार आन्द्रे इनियस्टा घाइते भएका छन्। उनी आगामी ६-८ हप्तासम्म मैदान नफर्कने भएपछि बार्सिलोनाले एक स्टार खेलाडीबिना नै अबका ६-८ हप्ता खेल्नुपर्ने भएको छ। 

यस्तै, शनिबार राति नै सम्पन्न अन्य खेलमा रियल सोसिडाडले एल्भेसलाई ३-० ले पराजित गरेको छ भने इस्प्यानोल र एइबरबीचको खेल ३-३ गोलको बराबरीमा टुङगिएको छ। यसैगरी आइतबार बिहान सम्पन्न खेलमा ग्रानडा र स्पोर्टिङ गिजोनको खेल गोलरहित बराबरीमा टुंगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.