|

बाँके : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले १९ करोड ३७ लाख ७१ हजार ६१९ रुपैयाँ महशुल बक्यौता देखिएको छ। आर्थिक वर्ष २०७४/०७५ मा ८४ करोड ९३ लाख १५ हजार ५२९ रुपैयाँ असुल गरेको वितरण केन्द्रले विद्युत महशुल भुक्तानी नगरेका ग्राहकको लाइन काटेर तीन करोड २८ लाख ३९ हजार ३३० रुपैयाँ असुल गरेको छ।

एक वर्षको अवधिमा एक हजार ८६४ ग्राहकको लाइन काटेकोमा एक हजार ३४८ ग्राहकले विद्युत लाइन जोडाएको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिए। ‘५१६ ग्राहकले लाइन पुनः जडान नगरेका कारण उनीहरूबाट रकम असुल्न बाँकी छ,’ उनले भने। समयमा विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटिने गरेको उनले बताए। तीन महिनाभन्दा लामो समयसम्म विद्युत महशुल नबुझाउने ग्राहकको लाइने काट्दै आएको उनले स्पष्ट पारे। 

मन्दीर र मस्जिदको समेत बक्यौता

विद्युत महशुल नबुझाउनेमा सरकारी कार्यालय, अस्पताल, मठ, मन्दिर, मस्जिद, खानेपानी, सिंचाई, सडक बत्ती वापतको रकम असुल हुन नसकेको यादवले स्पष्ट पारे। उनका अनुसार, नेपालगन्जका मन्दिर र मस्जिदले २५ लाख ७३ हजार ८८५ रुपैयाँ महशुल बुझाउन बाँकी छ। त्यसैगरी नेपालगन्जका सडकमा बल्ने बत्तीको बक्यौता आठ करोड ८४ लाख ६५ हजार १५३ रुपैयाँ रहेको छ। त्यसैगरी सिंचाईतर्फ ८२ लाख २६ हजार ८८३, खानेपानीतर्फ पाँचलाख २२ हजार ६५६, घरायसीतर्फ ६ करोड ६३ लाख आठ हजार ६६९ र औद्योगिक क्षेत्रतर्फ १४ लाख ७० हजार रुपैयाँ महशुल असुल नभएको यादवले जानकारी दिए। ‘कमरसियलतर्फ एक करोड नाैलाख ८२ हजार ५३७ रुपैयाँ र नन कमरसियलतर्फ २८ लाख १२ हजार ३३४ रुपैयाँ महशुल बक्यौता छ,’ यादवले भने।

नेपालगन्ज वितरण केन्द्र अन्तर्गत चार लाख ४४ हजार ५९७ ग्राहक रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.