|

पाल्पा : जिल्लाको सबैभन्दा विकट मानिने साविकको जुठापौवा गाविसमा एम्बुलेन्सको पहुँच पुगेको छ। एम्बुलेन्स उपलब्ध भएसँगै यहाँका मानिसलाई केहि मात्रामा भएपनि राहत मिलेको छ।

रैनादेवी छहरा गाउँपालिकाले जुठापौवा स्वास्थ्य चौकीलाई एम्बुलेन्स अनुदानमा उपलब्ध गराएको हो। गाउँपालिकाको करीब ११ लाख लगानी र नेपाल सरकारको तर्फबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर पराजुलीले बताए। उनका अनुसार करीव ३० लाख पर्ने एम्बुलेन्स खरिदको लागि गाउँपालिकाले बिमासहित करीव ११ लाख लगानी गरेको छ बाँकी भन्सार छुट भएको छ। झण्डै १९ लाख रुपयाँ भन्सार छुट भएको उनले बताए। टाटा कम्पनीको बोलेरो एम्बुलेन्स खरिदका क्रममा २ सय ४० प्रतिशत भन्सार छुट भएको छ। 

खरिद गरिएको एम्बुलेन्स जुठापौवा स्वास्थ्य चौकीलाई सम्पूर्ण अधिकारसहित हस्तान्तरण गरिएको छ। यो एम्बुलेन्सबाट गाउँपालिका अन्तर्गत तीनवटा वडाका मानिसले सेवा लिन पाउने छन्। गाउँपालिका अन्तर्गत वडा नम्बर ६ जुठापौवा, ७ वल्ढेङगढी र ८ सत्यवतीका मानिसलाई यो एम्बुलेन्सले ठूलो राहत हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए। उनका अनुसार यी वडा गाउँपालिका अन्तर्गत मात्र नभई जिल्लाकै विकट र दुरदराजमा पर्ने वडा हुन्। यहाँका मानिसले स्टेचरमा बिरामी बोकेर अस्पतालसम्म धाउनुपर्ने बाध्यता थियो। समयमै उपचार पाउन नसक्दा ज्यान गुमाउनुपर्ने अवस्था थियो उनले थपे।

महङ्गो भाडा तिर्न नसक्दा स्टेचरमै बोकेर बिरामीलाई उपचारको लागि अस्पतालसम्म पुर्‍याउन यहाँका मानिस बाध्य रहेको गाउँपालिकाका प्रवक्ता विष्णु पोख्रेलले बताए। जीपलाई झण्डै ७ हजार तिरेर रिजर्व गर्नुपर्ने अवस्था थियो उनले भने अब सदरमुकाम तानसेनसम्म करीव ३५ सयसम्म खर्च गरेर एम्बुलेन्समा विरामी लैजान पाउने छन्। उनका अनुसार कच्चीसडकमा प्रतिकिलोमिटर ८० र पक्की सडकमा प्रतिकिलोमिटर ४० रुपयाँका दरले भाडादर कायम गरिएको छ। यसरी आम्दानी हुने रकम स्वास्थ्य चौकीले संस्थाकै हितमा खर्च गर्न पाउने गरी अधिकार सहित एम्बुलेन्स हस्तान्तरण गरिएको प्रवक्ता पोख्रेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.