|

धनगढी : अघिपछि अन्त चैतमा जन्त भन्ने उखान कैलालीको संयुक्त बजार अनुगमन संयन्त्रसँग ठ्याक्कै मेल खान्छ। वर्षभरि कानमा तेल हालेर सुत्ने समिति ठूला चाडपर्वको बेला मात्रै जाग्ने गरेको सर्वसाधारण उपभोक्ताहरूको आरोप छ। संयुक्त बजार अनुगमनको जिम्मा पाएको संयन्त्र निष्क्रिय बनेपछि उपभोक्ता मारमा परेका छन्। 

दशैं तिहारजस्ता ठूला चाडपर्वका बेला प्रचारमुखी अनुगमनमा निस्कने संयुक्त बजार अनुगमन संयन्त्र अहिले के गर्दै छ भन्ने विषयमा सम्बन्धित निकाय पनि जानकार छैनन्। 

नियमित बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन संयन्त्र निष्क्रिय भएपछि बजारमा कालोबजारी मौलाएको उपभोक्ताहरूको गुनासो छ। धनगढीका दीर्घराज भट्टले भने, ‘दशैं तिहारमा मात्रै अनुगमन हुन्छ, अरू बेला अनुगमन गर्नुहुन्न भनेर संविधानमा लेखेको त छैन होला नि।’ यस्तो जिज्ञासा भट्टको मात्रै होइन, आम उपभोक्ताहरूमा रहेको पाइन्छ। यसपटक पनि कहिले दशैं आउला र अनुगमन गरौँला भनेर प्रशासन बसेको उनीहरूकाे भनाइ छ। 

चाडपर्वका बेला भड्किलो र प्रचारमुखी अनुगमनमा निस्कने सम्बन्धित नियकायहरू अरू बेला मौन बस्ने गरेकोप्रति उपभोक्ताहरू मात्रै होइन व्यवसायीहरूलाई पनि चित्त बुझेको छैन। ‘नियमित अनुगमन नहुँदा मापदण्डअनुसार व्यापार व्‍यवसाय गरिरहेका हामीहरू जस्तालाई मार परेको छ। दुई नम्बरी गर्नेहरू गर्छन्, हामीहरू चेपुवामा पछौं’ धनगढीका डेरी सञ्चालक आशिष बमले भने। वर्षमा एक दुईपटक हुने ठूलो बजार अनुगमनमा दोषी देखिएकाहरू सामान्य जरिवानामा छुट्ने गर्दा पनि कालोबजारी नरोकिएको उनको भनाइ छ।

निष्क्रिय उपभोक्ता अधिकारकर्मी

उपभोक्ता हक अधिकारका नाममा गठित विभिन्न उपभोक्ता समितिहरू पनि चाड पर्वका बेलामा मात्रै सक्रिय हुने गरेका छन्। उनीहरू यो कुरा नकार्न भने सक्दैनन्। राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मी यस विषयमा कसैलाई चासो नभएको बताउँछन्।  ‘हामीले पटक-पटक संयुक्त बजार अनुगमन गरौँ भन्यौँ, प्रशासानले चासो नै दिँदैन, सधैँ दशैँ तिहारमा तात्ने प्रशासन यसपटक त त्योभन्दा पनि ढिलो तात्लाजस्तो छ’ रेग्मीले गुनासो पोखे।

कैलालीमा मात्रै दर्जनको हाराहारीमा उपभोक्ता अधिकारको वकालत गर्नेहरू रहेपछि यही संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने विषयमा भने सबै मौन रहेको पाइन्छ।

सरोकारवालाहरूको आफ्नै तर्क

अनुगमनको नेतृत्व गर्नेहरू भने वर्षभरि अनुगमन गरिरहेको दाबी गर्छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रिय कार्यालय धनगढीले अनुसार गत आर्थिक वर्ष  ०७४/७५ मा  उपभोक्ता ठगी गर्ने १४ वटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको जनाएको छ। क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सुमन धितालले कञ्चनपुरमा ८ वटा,  कैलालीमा ५ वटा र बझङ्गमा १ उद्योगलाई मुद्दा दायर गरेको बताए।

‘हामीले वर्षभरिनै अनुगमन गरिरहेका हुन्छौं, तर दशैँ तिहारमा केही मात्रामा बढि भएकै हो’ धितालले भने। उनले अरू समयमा भन्दा चाडपर्वका समयमा उपभोक्ता ठगिमा पर्ने बढि सम्भावना हुने भएकाले त्यो बेला अनुगमनलाई तिब्र बनाइने गरेको बताए। 

जिल्ला प्रशासन कार्यालय कैलालीले पनि पटक-पटक बजार अनुगमन गर्ने गरेको दाबी गरेको छ। तर, प्रशासनले संयुक्त बजार अनुगमनलाई भने प्रभावकारी बनाउन सकेको छैन। ‘हामीले बजार अनुगमनलाई प्रभावकारी बनाएका छौँ, तर यस आर्थिक वर्षमा एकपटक मात्रै संयुक्त बजार अनुगमन भएको छ’ कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए। उनले अब यस विषयमा अझै गम्भीर हुने बताए।

विषयगत अनुगमन मात्रै बढी

जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, औषधि व्यवस्था कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, घरेलु तथा साना उद्योगलगायतका कार्यालयहरूले आफ्नो अधिकारभित्र रहेको कुराहरूमा अनुगमन गरिरहेका छन्। 

केही समयअघि गुणस्तर तथा नापतौल कार्यालयले धनगढीका पेट्रोलियम पदार्थमा कालोबजारी भइरहेको पाएपछि अनुगमन गरी तीन वटामा सिल लगाएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पनि वर्ष भरिको कार्ययोजनाअनुसार अनुगमन गर्ने गरेको जनाएको छ। 

‘हामीले हाम्रो कार्यक्रम अनुसार जिल्ला प्रशासनसँग समन्वय गरेर बजार अनुगमन गर्छाैं, त्यहीअनुसार केहीलाई कारबाहीको दायरामा पनि ल्याएका छौँ ’खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सुमन धितालले भने। कैलालीमा विषयगत कार्यालयको अनुगमनले निरन्तरता पाए पनि आमउपभोक्तालाई मध्यनजर गरेर संयुक्त बजार अनुगमन भएको भने पाइँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.