|

काभ्रेपलाञ्चोक : नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले प्रधानमन्त्रीसमक्ष पुर्‍याउनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग राख्दै महासंघले ज्ञापनपत्र बुझाएको हो।

बुधबार महासंघ काभ्रेपलाञ्चोक जिल्ला शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकारहरुको उपस्थितिमा बुझाएको पत्रमा पत्रकार र सञ्चारमाध्यमका लागि मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का केही प्रावधानहरु जटिल र प्रेस स्वतन्त्रताविरोधी भएको नेपाल पत्रकार महासंघको ठहर रहेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ, ती प्रावधानहरुमा तत्काल संशोधन गरी संविधानको प्रस्तावनामा नै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्‍टी गर्न महासंघ नेपाल सरकारसँग जोडदार माग गर्दछ।’ मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधानहरुलाई हेर्दा सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीकै आधारमा सञ्‍चारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएको भन्दै महासंघले तत्काल सो सम्बन्धीका बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेको छ।

‘सो ऐनका कुनै पनि दफामा सञ्चारमाध्यममा प्रवाह भएका सामग्रीका सन्दर्भमा यो ऐनका प्रावधानहरु लागू हुँदैन भन्ने व्यवस्था नरहेको र सञ्चारमाध्यमसम्बन्धी छुट्टै ऐनहरुमा समेत यस ऐनमा उल्लेखित विषयका सन्दर्भमा कुनै प्रावधानहरु नै नराखिएकाले यो ऐनबाट सञ्चारमाध्यम र पत्रकारहरु पीडित बन्न सक्ने अवस्था देखिन्छ,’ ज्ञापनमा उल्लेख  छ।

ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन/प्रसारण गर्न बाधा हुनसक्ने देखिएको उल्लेख छ।प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले ज्ञापनपत्र बुझ्दै छिट्टै प्रधानमन्त्रीसमक्ष सम्प्रेशण गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.