|

बागलुङ : जिल्ला सदरमुकाम बागलुङ बजारमा वितरण भइरहेको खानेपानीमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) भेटिएको छ। त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका विद्यार्थीहरूले संकलन गरेको पानी परिक्षाणका क्रममा कोलिफर्म भेटिएको जिल्ला जनस्वास्थय कार्यालय बागलुङले जनाएको छ।

बागलुङ बजारमा वितरणको लागि ल्याइएको रेशखोला मुहानदेखि उपभोक्ताको धारासम्म आइपुग्दा अनगिन्ती कोलिफर्म भेटिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले बताए। ‘पानीको परीक्षण गर्ने काम निकै कठिन काम हो, सूचकको रूपमा कोलिफर्मलाई हेर्ने गरिएको छ’ तिवारीले भने ‘बजारमा वितरण भइरहेको पानीमा पिउनै नमिल्ने गरी कोलिफर्म भेटिएको छ।’

पिउनका लागि प्रयोग हुने पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्ने उनले बताए। मुख्य मुहान रेश खोलाको मुहानको पानीमा कोलिफर्मको भेटिएको हो।

विद्यार्थीले संकलन गरेको नमूनालाई धौलागिरी अञ्चल अस्पतालमा परीक्षण गरीएको थियो। उनीहरूले ल्याएको नमूनाअनुसार भुँदी खोलाको पानीमा ८२, संकलन ट्याङ्कीमा २०, भकुण्डेको मुहानमा १४ र उपभोक्ताको धारामा १३ प्रतिशत कोलिफर्मको मात्रा भेटिएको परीक्षणमा संलग्न धौलागिरी अञ्चल अस्पतालका सिनियर मेडिकल ल्याव टेक्नोलोजिस्ट सुरज बरालले बताए। उनका अनुसार प्रति सय मिलिलिटर पानीमा कोलिफर्मको मात्रा नापिएको थियो।

बरालका अनुसार पानीमा रहेको अम्लियपन, धमिलोपन र कोलिफर्म जाँच गरिएको थियो। ‘कोलीफम मिसिएको पानी खाँदा मानिसलाई झाडा पाखला, टाईफाइड लगायतका खतरा हुन्छन्’ तिवारीले भने, ‘पानी उमालेर मात्र खाने यसको एकमात्र उपाया हो। खतरनाक धेरै रोगबाट बच्नका लागि पनि पानी शुद्धिकरण र उमाल्ने विधि अपनाउनु पर्ने हुन्छ।'

परीक्षणपछि आएको नतिजाको बिषयमा बागलुङ नगरखानेपानी तथा सरसफाई संस्थालाई जानकारी गराएको कार्यालय प्रमुख तिवारीले बताए। उनले पानी वितरण गर्दा कोलोरिनेस गरेर वा फिल्टर गरेर मात्रै वितरण गर्नुपर्नेमा त्यसो नगरेकाले उपभोक्ताको धारामा समेत कोलिफर्म भेटिएको बताए। बागलुङ बजारमा वितरण भइरहेको खानेपानीको स्रोत खुल्ला रहेको र रिजर्ब ट्याङ्कीसमेत खुल्ला रहेकाले बगेर आउने पानीका कारण कोलिफर्मको मात्रा अत्याधिक देखिएको हुन सक्ने अनुसन्धानमा संलग्न विद्यार्थी विक्रम पौडेलले बताए।

विद्यार्थीहरूले पानीको परीक्षणका लागि बागलुङका विभिन्न मुहानसहित प्याकेजमा वितरण भएको पर्वत खानेपानी र कालीका खानेपानीको समेत परीक्षण गराएका थिए। परिक्षणका क्रममा बागलुङमा उत्पादन हुने पर्वत पिउने पानीमा अम्लियपन देखा परेको पौडेलले जानकारी दिए।

शुद्ध पानी वितरण गरेको दाबी

खानेपानी तथा सरसफाई डिभिजन प्रमुख शेखरचन्द्र केसीले भने बजारमा शुद्ध पानी वितरण गरेको दाबी गरेका छन्। ‘विभिन्न शुद्धिकरणका विधि अपनाएर हामीले वितरण गरेकोले कोलिफर्म छैन’ केसीले भने, ‘कतै पाइप टुटेफुटेको भएमा त्यस्तो हुन सक्छ, हामीले वितरणमा कोलिफम पर्न दिएका छैनौँ।’ केसीले सामाजिक संजालमा बुधबारै बागलुङ बजारबासीलाई शुद्ध पानी खुवाएको दाबीसहितको स्टाटससमेत लेखेका छन्।

त्यस्ता स्टाटसले समाजमा भ्रम पैदा भएको स्थानीयले गुनासो गरेका छन्। फिल्टर जडानको गरेको भने पनि शुद्ध पानी वितरणको काम भने शुरु नभएको डिभिजन र बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अदातलमा प्रष्ट पारेका छन्। उनीहरूले अदातलमा परेको रिट निवेदनमा सहलगानीको आयोजना पूरा नहुन्जेल पूरै शुद्ध पानी खुवाउन नसकिने प्रतिउत्तर लगाएका थिए।

खानेपानी संस्था भन्छ उमालेर पिउनुस्

बागलुङ नगर खानेपानी तथा सरसफाई संस्थाले पानीमा कोलिफर्मको मात्रा भेटिएको सूचना पाएपछि उपभोक्तालाई पानी उमालेर मात्रै पिउन आग्रह गरेको छ। वितरण ट्याङ्कीमा रहेको फिल्टरले काम नगरेको र विद्युत आपूर्ति बन्द हुँदा क्लोरिनेस प्रविधिले काम नगर्दा समस्या भएको प्रबन्धक हिमाल शर्माले बताए। पानीको परीक्षणका लागि नमूना संकलन गर्ने समयमा पनि विद्युत आपूर्ति बन्द रहेको उनले बताए। कोलिफर्म कम गर्ने औषधि प्रयोग नभएकाले धेरै देखिएको उनले बताए। ‘विद्युतबाट स्वचालित मेसिन राखेर कोलोरिनेस गर्ने गरेका थियौँ’ शर्माले भने ‘अहिले हातैले क्लोरिन मिसाउन जनशक्ति परिचालन गरेका छौँ।’

शुद्ध खानेपानी खुवाउन आदेश

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई शुद्ध पानी खुवाउन उच्च अदालत पोखराको बागलुङ ईजलासले आदेश दिएको छ। अदालतमा परेको रिट निवेदनको सुनुवाई गर्दै अदालतले आदेश दिएको हो।

अदालतले विपक्षीको चित्त बुझ्दो प्रतिउत्तर नआएपछि डेढ महिना अघिको आफ्नै आदेश जारी रहने ठहर गरेको हो। मुख्य न्यायाधीस शेषराज शिवाकोटी र न्यायाधीस हरिप्रसाद पौडेलको संयुक्त ईजलासले उक्त आदेश दिएको थियो। विपक्षीमा रहेका खानेपानी तथा सरसफाई उपभोक्ता सरसफाई संस्था बागलुङ, जिल्ला प्रशासन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र बागलुङ नगरपालिका समेतलाई यो आदेश दिएको हो।

बागलुङ नगरपालिका १ का टेकबहादुर सार्कीले गत असारमा रिट निवेदन दर्ता गरेका थिए। बागलुङ बजारमा खानेपानी विरतण गर्दै आएको नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खोलाको पानी सोझै ल्याएर धारामा पठाउने गरेको रिटमा उल्लेख थियो। संस्थाले वर्षातको बाढीसमेत मिसिएको पानी सोझै खुवाएको आरोप लाग्ने गरेको छ। निवेदकका तर्फबाट अधिवक्ता बद्रीप्रसाद शर्मा उपाध्याय र विपक्षी संस्थाको तर्फबाट अधिवक्ता काजी गाउँले श्रेष्ठ, नगरपालिकाको तर्फबाट अधिवक्ता हरिप्रसाद शर्मा र डिभिजनको तर्फबाट उच्च सरकारी वकील कार्यालयका शाखा अधिकृत तारानाथ शर्माले बहस गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.