|

काठमाडौं : नेपाल उत्पादित  घिउलाई प्रवर्द्धन गर्न भन्दै सरकारले आयतित घिउको मूल्य बढाउने भएको छ। न्यून विजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउले बजामा प्रतिस्पर्धा गर्न समस्या भएको भन्दै उद्योगीहरूले गुनासो गरेपछि सरकारले कदम चालेको हो।

कृषिमन्त्रीले समेत विशेष चासोको रुपमा घिउको मूल्यलाई लिएपछि अर्थमन्त्रालयले बाबा रामदेवले सञ्चालन गरेको पतञ्‍जलिको घिउ र अमुलको घिउको मूल्यांकन बढाएर ४०० भारु अर्थात् ६४० रुपैयाँ बनाइएको छ। यसअघिको मूल्यांकन २५० भारु थियो ।

जसअनुसार ३० प्रतिशत भन्सार महसुल र त्यसको १३ प्रतिकर भ्याटसमेत गरी प्रतिलिटर घिउको मूल्य ९४० रुपैयाँ कायम भएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीले प्रतिलिटर घिउ ८५० रुपैयाँमा बेचिरहेको छ।

अब नेपाली घिउभन्दा भारतीय घिउ महँगो भएपछि प्रतिष्पर्धा गर्न सजिलो हुने नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए । मूल्यांकन पनि सस्तो र भन्सार पनि छलेर भारतीय घिउ नेपाली बजारमा भित्रँदा नेपाली डेरी उद्योगहरुले पनि मूल्यांकन बढाउन र भन्सारमा कडाइ गर्न अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएका थिए ।

 त्यसमा डिस्ट्रिब्यूटर, होलसेलर, रिटेलरले थप नाफा खाएर बेच्नु पर्ने हुँदा नेपाली घिउले प्रतिस्पर्धा गर्न सक्ने भएको छ । राजभण्डारीले भारतीय घिउको मुल्यांकन बृद्धिले नेपाली किसानलाई निक्कै राहात महसुस भएको बताए ।  खुल्ला सिमानाका कारण कतिपय अवस्थामा भन्सार छलेल पनि भारतीय घिउ नेपाल भित्रने गरेको किसानको गुनासो छ । सुनौली र भैरहवा नाकाबाट धेरै घिउ नेपाल भित्रने गरेको छ।

 नेपाल दुग्ध संस्थानका अनुसार गत साउन महिनामा मात्रै भैरहवा नाकाबाट २० हजार लिटर पतञ्‍जलिको घिउ नेपाल भित्रिएको छ। काठमाडौंका भाटभटेनी र बिग मार्टहरुमा पतन्जलीको घिउ नभेटिए पनि साना खुद्रा पसलहरुमा छ्यास्छ्यास्ती पतन्जलीको घिउ बिक्री भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

गत वर्ष आर्थिक वर्षमा मात्रै नेपालमा ३ लाख २६ हजार किलो घिउ विदेशबाट आयत भएको अवस्थामा स्वेदेशी घिउ भने विक्न नसकेको उद्योगी व्यवासायीको गुनासो रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.