|

काठमाडौं : भदौ १० गते नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति तय गरेसँगै पार्टीका शीर्ष नेताहरू अहिले देश दौडाहामा व्यस्त छन्। मंसिर ५ देखि ९ गतेसम्मका लागि महासमिति बैठकको मिति तय गरेसँगै नेताहरू अहिले कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि देश दौडाहामा निस्किएका हुन्।

महासमिति बैठकमा आफ्नो पक्षमा मत तयार पार्नका लागि कतिपय शीर्ष नेताहरू कार्यकर्ता भेट्नका लागि देश दौडाहामा निस्किएका हुन्। महाधिवेशन नजिकिएपछि सधैँ एकअर्काको अलोचना गरिरहने कांग्रेस नेताहरू एकअर्काको विरोध गर्दै कार्यकर्ता भेट्न व्यस्त छन्। महासमिति बैठकमा एकले अर्कालाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने रणनीति बनाउनतर्फ नेताहरू लागिपरेका छन्।

आउँदो महाधिवेशनमा पार्टी सभापतिको दाबेदारका रूपमा आफूलाई प्रस्तुत गर्दै आइरहेको नेताहरू अहिले महासमिति बैठकका लागि भन्दै कार्यकर्ता भेटघाटमा निक्लिएका हुन्। पार्टी सभापति शेरबहादुर देउवा पनि महासमिति बैठकमा आफ्नो विपक्षमा नेताहरू खनिने लगभग निश्चित भएपछि बचाउका लागि कार्यकर्ता भेटघाटमा निक्लिँदै छन्।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला नेता शेखर कोइरालालगायत नेता पछिल्लो समय कार्यकर्ता भेटघाटमा व्यस्त छन्। नेताहरूको दौडधुप अझ बाक्लिँदै जाने कांग्रेस नेता प्रदीप पौडेल बताउँछन्। ‘जति महासमितिको मिति नजिकिँदै जान्छ त्यति नेताहरूको दौडधुप पनि बढ्दै जान्छ’, उनी भन्छन्,‘यही बेला सबै नेताहरूले कार्यकर्तासमक्ष आफ्ना योजनाहरू सुनाउनुहुन्छ।’

सभापति देउवा पनि महासमित बैठकमा कसरी तयारी प्रस्‍तुत हुने भन्नेबारे रणनीति तय गर्दै छन्। महासमिति बैठकमा पनि जिल्ला सभापति भेलाको जस्तै आलोचना हुने डरले उनी आफू निकटहरूसँग छलफलमा छन्। यस्तै, उनी यही २३ गते बुटवल, बर्दिया र नेपालगञ्‍ज जिल्ला पार्टीको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनीका एक सहयोगीले जानकारी दिए। 

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल महासमिति बैठकको मिति तय भएपछि नै व्यस्त छन्। उनी करिब एक साताअघि गृहजिल्ला पुगेका पौडेल कार्यकर्ता भेटघाटमा व्यस्त छन्। आफूले यसअघि पनि सभापतिमा पराजय भोगेकाले यसपटक पनि सभापतिमा प्रतिस्पर्धा गर्ने उनी बताउँदै आएका छन्। 

यस्तै, पार्टी नेता प्रकाशमान सिंह पनि देश दौडाहामा छन्। उनी केही महिनादेखि निरन्तर पार्टी कार्यकर्ता भेटघाटका लागि जिल्लामा गइरहेका छन्। यस्तै, उनी केही दिनपछि दार्चुला, डडेल्धुरालगायत जिल्ला भ्रमणमा जाने कार्यक्रम रहेको छ। उनी अब आउने महाधिवेशनमा कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्। 

यसैगरी, पार्टीका नेता कृष्णप्रसाद सिटौला पनि अहिले पार्टी कार्यकर्ता भेटघाटमा व्यस्त छन्। उनी केही दिनअघि उदयपुर पुगेका थिए। त्यहाँ पनि उनले आफूनिकट कार्यकर्ता भेटेको स्रोतको दाबी छ। यसैगरी उनले काठमाडौंमा पनि आफूनिकट कार्यकर्तालाई विभिन्न कार्यक्रम राख्न लगाउँदै आफ्ना धारणा राख्दै आएका छन्। उनी नेतृत्वप्रति खरो आलोचना गर्दै आएका छन्। अघिल्लो महाधिवेशनमा पनि सभापतिमा प्रतिस्पर्धा गरेका कारण यसपटक पनि सभापतिको उम्मेदवार बन्ने चर्चासमेत छ। 

पार्टी महामन्त्री डा. शशांक कोइरालाका पनि पछिल्लो समय सक्रियता बढेको छ। महामन्त्री भएपछि पनि निष्क्रिय भएको आरोप लाग्ने गरेका कोइराला अहिले भने देशको विभिन्न ठाउँमा कार्यकर्ता भेटघाटका लागि जान थालेका छन्। महाधिवेशनको मिति तय भएपछि उनी केही दिनअघि सर्लाही पुगेका थिए। यस्तै, आफ्नै घरमा पार्टी नेताहरूलाई बोलाएर केही दिनअघि मात्र रात्रिभोज दिएका थिए।

उनका एक सहयोगीका अनुसार शशांक २४ गते चितवन, नवलपरासी हुँदै वर्दिया पुग्ने कार्यक्रम रहेको छ। उनी त्यहाँ कार्यकर्ताहरूसँग भेटघाट गर्ने बताइएको छ। 
डा. शेखर कोइराला पार्टीले निर्वाचनमा पराजय व्यहोेरेदेखि नै देश दौडाहामा छन्। उनी कार्यकर्ताको मनोबललाई उकास्‍न भन्दै लामो समयदेखि कार्यकर्ता भेटघाट कार्यक्रममा देश दौडाहामा छन्। यस्तै, महासमिति बैठकको मिति तय भएसँगै डा. शेखरले बैठकअघि नै देशभरका कार्यकर्ता भेट्ने योजना बनाएका छन्। देश दौडाहामा रहेका शेखर अहिले पूर्वमा छन्। 

शेखर प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लामा कार्यकर्ता भेट्दै पश्चिमतर्फ लाग्ने उनको सहयोगी दिनेश थपलियाले जानकारी दिए। उनका अनुसार शेखरले महासमिति बैठकअघि प्रतिनिधिमूलक हिसाबले देशका सबै जिल्ला भ्रमण गर्ने योजना बनाएका छन्। प्रदेश १ र प्रदेश २ का केही जिल्लाको भ्रमण गरी सकेपछि शेखर पश्चिम पहाडका जिल्लाको भ्रमणमा निस्कने बताइएको छ। यस्तै, दशैँ र तिहारको बीचमा सुदूरपश्चिमका जिल्लाका कार्यकर्ता भेटघाटमा निस्कने थपलियाले जानकारी दिए। 

स्रोतका अनुसार शेखर पनि आउने महाधिवेशनमा सभापतिको तयारीमा छन्। ‘जनताको अपेक्षाअनुसार निर्णय हुन्छ’,स्रोतले भन्‍यो,‘अहिलेनै यसै भन्न सक्ने अवस्था छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.