|

दुनै(डोल्पा) : जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका-१ र ७ मा पर्ने ऐतिहासिक मुकुटेश्वर क्षेत्र धार्मिक पर्यटनको आकर्षक गन्तव्‍य बन्न थालेको छ। विशेष धार्मिक महत्वको रूपमा जोडिएको मुकुटेश्वर क्षेत्रमा डोल्पालगायत विभिन्न जिल्लाबाट धामिर्क पर्यटकहरू आउन थालेपछि मुकुटेश्वर क्षेत्र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्न थालेको हो।

नेपालमै प्रसिद्ध शक्तिपीठको रूपमा परिचित त्रिपुरा सुन्दरी मन्दिरको उत्तर दिशामा पर्ने मुकुटेश्वर क्षेत्र देवादी देवःशिव भगवानको बासस्थानको रुपमा चिनिएको छ। समुद्री सतहदेखि ४ हजारदेखि ४५ सय मिटर उचाइमा रहेको मुकेटेश्वर तीर्थस्थलसम्म पुग्न त्रिपुराकोट बस्तीबाट झन्डै एक दिनको पैदल यात्रा तय गर्नुपर्दछ।

मुकुटेश्वर तीर्थस्थलसम्म पुग्ने क्रममा बाटोमा पाइने धार्मिक महत्वसँग जोडिएको, बुकी, लुड्की, डोइली नर्कालीलगायतका दर्जनौँ जातका फूलहरुको बास्ना र सुन्दरताले मुकेटेश्वरको यात्रा अत्यन्तै रमाइलो हुने गरेको तीर्थयात्रीहरु बताउँछन्।

जिल्लामै पवित्र तीर्थस्थलका रूपमा चिनिएको मुकुटेश्वर क्षेत्रमा जिल्ला भित्रका मात्रै नभई विभिन्न जिल्लाहरुबाट समेत तीर्थाटनका लागि सर्वसाधारण आउने गरेका छन्। त्यस क्षेत्र धार्मिक धाम भएकाले त्यहाँ पुगेर दर्शन गर्नाले शिवजी प्रशन्न हुने र मनले सोचेको पूरा हुने विश्वास रहेको छ। मुकुटेश्वर क्षेत्रमा रहेको मुकोट  हिमालबाट झरेको पानीबाट बनेको तामेगाड खोलालाई ताम्रावणी तीर्थस्थलको रूपमा चिनिन्छ। उक्त ताम्रवणी तीर्थस्थल पनि त्रिपुरा सुन्दरी नगरपालिका १ मा पर्दछ।

प्रशिद्ध तीर्थस्थलको रुपमा चिनिएको ताम्रवणी नदीको विषयमा हिन्दू धर्मको पवित्र धर्मग्रन्थ त्रिपुरा सहश्र नामक पुस्तकमा पनि उल्लेख गरिएको त्रिपुरा सुन्दरी नगरपालिका-१ का स्थानीय लक्ष्मी शर्माले बताए।

मनमोहक दृश्‍य

मुकोट हिमालबाट खसेको पानीबाट बनेको ताम्रवणी तीर्थस्थलका रूपमा त्रिपुरा सुन्दरी मन्दिरमा नित्य पूजापाठ  हुने उनले बताए। 'मुकुटेश्वर हिमाल हिउँदको समयमा हिउँले सेताम्य हुने र वर्षातको समयमा हरायाली हुने भएकाले त्यहाँको दृश्‍य एकदमै मनमोहक हुन्छ, त्यसोत दृष्य अवलोकनका लागि समेत सर्वसाधारणहरु पुग्ने गर्छन्' त्रिपुरा सुन्दरी नगपालिका-१  का स्थानीय दुर्गाप्रसाद देवकोटाले भने।

त्यति मात्रै नभई बहुमुल्य जडीबुटी यार्सागुम्बा समेत पाइने भएकाले मुकुटेश्वर क्षेत्र आर्थिक उपार्जनको बलियो गन्तव्‍यको रुपमा समेत परिचित भएको उनले बताए प्रत्येक वर्ष जेठदेखि असारसम्मको एक महिना अवधिसम्म चल्ने यार्सागुम्बा संकलनका लागि त्यस क्षेत्रमा पर्ने भाङ्का यार्सागुम्बा पाटनमा हजारौँ सर्वसाधारण पुग्ने गरेको उनले बताए।

मुकुटेश्वर क्षेत्रमै दूधजस्तो सेतो र तेलजस्तो चिल्लो पानीको कुवासमेत रहेको स्थानीय बुढापाखा बताउँछन्। उक्त पानीका कुवाहरुमा नुहाँउएपछि मान्छे मरेपछि मुक्तिको बाटो पाइने विश्वास रहेको छ। मुकुटेश्वर यात्राको क्रममा देखिने छाँगा, छहरा झरनाहरु अन्य पर्यटकीय आकर्षणहरु हुन्। वर्षातको समयमा लाग्ने कुहीरोले पनि आन्तरिक पर्यटकहरुको मन लोभ्याउने गर्दछ।

अर्को गन्तव्‍य महाराज मन्दिर

मुकुटेश्वर क्षेत्रको अर्को प्रशिद्ध गन्तव्य भनेको सयौँ वर्ष पुरानो भग्नावशेषमा सीमित महाराज दरबार पनि एक हो। देवशक्ति भएका विक्रम शाही महाराजको दरबार रहेका स्थानको रुपमा उक्त क्षेत्र परिचित छ। अहिले पनि दरबारका चारैतिर लगाइएका भग्नावशेष गारोहरु देख्न पाइन्छ।

बाइसे/चौबीसे राज्य हुँदा बिक्रम शाही महाराजले डोल्पाको नौ राज्यको प्रमुख आफ्नो राज्य समालेर आफ्नो माताहतमा रेखदेख गर्ने काम गरेको इतिहास पढ्न पाइन्छ। उनी एकदमै धार्मिक भएकाले त्यहाँबाट नुहाउनका लागि भेरी नदी र ताम्रवणी नदीको संगमस्थल तिव्रेणीमा पुगेर नुहाउने र त्रिपुरा सुन्दरी मन्दिरमा आएर देवीको दर्शन गरेर पुनः आफ्नै दरबार फर्कने गरेको इतिहासमा उल्लेख छ।

त्रिपुरा सुन्दरीमा दर्शन गरिसकेपछि मन्दिर तल रहेको खौलामा रहेको उनकालाई बस्ने बनाइएको ठाउँमा बसेर सम्पूर्ण सर्वसाधारण जम्मा गर्ने र अन्याय परेकाहरुलाई न्याय दिलाउने गर्ने गरेको स्थानीय वृद रविप्रसाद न्यौपानेले बताए।

उनले इतिहास सुनाउँदै भने, पहिले नेपाल एकीकरणको क्रममा डोल्पाका नौ वटा राज्य एकीकरण गर्न बहादुर शाहको टोली आएको थियो। विक्रम शाही महाराज पनि दर्शनका लागि त्रिपुरा सुन्दरी मन्दिरमा झरेका थिए, त्यसै बखतमा उक्त टोलीले आत्मसमर्पण गर्न भनेपछि आफूले स्वाभिमानका साथ सञ्चालन गरेका राज्य दिन नसक्ने बिक्रम शाहीले बताए। राज्य बुझाउन नमानेपछि बहादुर शाहको टोलीले मार्ने योजना बनाए। त्यसपछि विक्रम शाहीले शत्रुका हातबाट मर्नुभन्दा आफैँ देवीको स्थानमा मर्छु भनेर त्यसै त्रिपुरा सुन्दरी मन्दिरमा खुकुरीले सेरिएर मरेको इतिहा छ।

अहिले पनि विक्रम शाही महाराजको त्रिपुरा सुन्दरी मन्दिरमा नित्य पूजाआजा हुने गर्दछ भने उनको नामको छुट्टै काठको लिंगासमेत ठड्याइएको छ। देशमा प्रधानमन्त्री मन्त्रीलगायतका उच्च पदस्थ व्‍यक्तिहरूलाई अनिष्ठ हुने भय भयो उक्त लिंगाले संकेत गर्ने गरेको स्थानीयको विश्वास रहेको छ। पछिल्लो समयमा विक्रम शाही महाराजको भग्नावशेष दरबार हेर्न आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ। स्थानीय देवी देवताका पुजारीहरु समेत तीर्थाटन र पूजाआजाका लागि महाराज दरबार क्षेत्रमा पुग्ने गर्दछन्।

महाराज दरबार क्षेत्र उचाइमा पर्ने भएकाले त्यहाँबाट देखिने त्रिपुरा सुन्दरी नगरपालिकाको विभिन्न बस्तीहरुको दृष्य एकदमै मनमोहक देखिने गरेको भ्रमणको क्रममा पुगेका शिक्षक विद्यार्थीहरूले बताए।

उक्त क्षेत्र ऐतिहासिक क्षेत्र भएकाले त्यहाँको इतिहास समेटेर विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गरिनुपर्ने भ्रमणका क्रममा त्यहाँ  पुगेका त्रिपुरा माध्यामिक विद्यालयका प्रधानाध्यापक हेमराज हमालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.