काठमाडौं : पछिल्लो क्रममा नेपाली साहित्य बजारमा पुस्तक प्रकाशनले तीव्रता लिइरहेको छ। नेपाली साहित्यको बजारमा लेखक एवम् पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ शनिबार सार्वजनिक हुँदै छ। विशेषत: यो आख्यान किशोर-किशोरीको प्रेममा आधारित रहेर लेखिएको आचार्य बताउँछन्।
लेखक आचार्यले उपन्यासमार्फत् पाठकलाई फरक स्वादको विषयवस्तु दिन खोजेको बताए। ‘मूलत: आख्यानले सिंगो जीवन चित्रण गर्छ। यस पुस्तकमा सामाजिक घटना, घटनाले निम्त्याएका परिघटना छन्’, उनी भन्छन्, ‘उपन्यासका हरेक पाना पल्टाउँदै जाँदा स्वयं पाठकले आफूले बाँचेको समाजको लुकेको यथार्थ भेट्टाउनेछन्।'
हरेक लेखकले आफ्नो सिर्जनाबाट पाठकमा छुट्टै छाप छाड्न चाहन्छन्। यस उपन्यासले नेपाली साहित्यमा फरक धार निर्माण गर्ने उनको दाबी छ। यस आख्यानमा भएको सरल भाषा, शैली, घटनाक्रम र रोचक कथावस्तुले पाठकको माया पाउनेमा उनी विश्वस्त छन्। पुस्तकभित्र रमाइला किस्साहरू छन्। कारुणिक किस्सा पनि रहेका उनले बताए।
'यो बहुआयामिक उपन्यास हो। यसमा हाम्रो व्यक्तिगत जीवन र सामाजिक परिवेश छ। केही मात्रामा कल्पनाको प्रयोग र केही मात्रामा व्यक्तिका वास्तविक घटनालाई निकाल्न खोजिएको छ', उनी भन्छन्, 'समग्रमा भन्दा यस पुस्तकमा समाज छ। समाजको वास्तविक चित्रण छ। समाजले प्रेमलाई हेर्ने दृष्टिकोण छ। प्रेम गर्नेहरूको वास्तविक चित्र छ।' लामो समयदेखि कथाहरू लेख्दै आएका उनले ती कथाबाट पाठकले दिएको प्रतिक्रियाले पुस्तक निकाल्न थप ऊर्जा मिलेको बताए।
युरिका पब्लिकेशनले बजारमा ल्याउँदै गरेको यो पुस्तक लेख्न चार वर्ष लागेको उनले बताए। नयाँ पत्रिका दैनिकमा उपसम्पादकको रूपमा कार्यरत उनी समयको अभावले पुस्तक लेखनले तीव्रता नपाएको बताउँछन्। उनी भन्छन्, 'लेखिसकेपछि पाण्डुलिपि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई दिएको थिएँ।' गोविन्दले उनको पाण्डुलिपि पढेर भनेछन्, 'उपन्यास भन्दा पनि शब्दको थुप्रो भयो। समय, परिवेश, भाषा तथा पात्रलाई जीवन्त बनाउनुपर्यो।' त्यसपछि उनले पुनर्लेखन गरेको स्वीकार गरे।
उनले आफ्ना नजिकका मित्रलाई यसको पाण्डुलिपि दिए। सबै साथीहरूले राम्रो भनेर प्रतिक्रिया दिएपछि बल्ल पुस्तक निकाल्ने आँट आएको बताए उनले। विगत लामो समयदेखि पत्रकारितामा लागेकाले पनि भाषा सम्पादन आफैँले गरेको बताउँछन्। उनी भन्छन्, 'आफैँले सम्पादन गर्दा लेखकको मौलिकता गुम्ने डर हुँदोरहेनछ।'
पत्रकारिता र लेखन सँगसँगै अगाडि बढाइरहेका उनी साहित्य लेखन पत्रकारिताभन्दा अलिक सजिलो रहेको अनुभव सुनाउँछन्। पत्रकारिता निश्चित सीमाभित्र बसेर सत्य, तथ्य, निष्पक्ष तवरले लेखिनुपर्छ तर साहित्यमा कुनैकुनै ठाउँमा यथार्थ भए पनि कल्पनाशीलताको मात्रा बढी हुने गर्छ। यदि पत्रकारितामा नआएको भए आफू लेखक नहुने पनि उनले भन्न छुटाएनन्। भन्छन्, 'पत्रकारिताले गर्दा नै साहित्य लेखनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।'
पत्रकारिता गरिरहँदा नजिकका साथीहरूको साथ र सहयोगले नै पुस्तक बजारसम्म आइपुग्न सफल भएको उनी बताउँछन्। कुन कुराले छोएर यो पुस्तक लेख्ने सोच आयो भन्ने विषयमा भने उनी स्वयं अनुत्तरित छन्। 'लेख्दै जाँदा नयाँनयाँ पात्रहरू निर्माण हुँदै गएका हुन्', उनी भन्छन्, 'यही विषयमा लेख्छु भन्ने सोचेको थिइनँ तर लेखन कार्यको समयसँगै विषय परिवेशहरू निर्माण हुँदै गएका हुन्।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।