नैनसिंहलाई निकटकाले नै छाडे साथ

|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले महाधिवेशनको विषयलाई लिएर संगठभित्र पुनः विवाद सुरु भएको छ। संगठनमा रहेका विभिन्न विचारलाई नसमेटी आफू खुसी नेतृत्व अघि बढेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएका छन्। 

पार्टी सभापति शेरबहादुर देउवानिकट संगठनका अध्यक्ष नैनसिंह महर र सहमहामन्त्री बद्री मुडवरी, नेता रामचन्द्र पौडेलनिकट तथा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, उपाध्यक्ष प्रकाश राना र नविन राई, नेता सिटौला समूहबाट महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लिराम सुवेदी र सहमहामन्त्री माधव ढकालले गोप्य बैठक गरेर संगठनलाई एकलौटी चलाउन खोजेको भन्दै नेविसंघका अन्य नेताहरू भने असन्तुष्ट भएका हुन्। 

यी नेताहरू करिब एक हप्तादेखि महाधिवेशनका लागि भन्दै वार्ता गर्दै आएका छन्। यी तीन गुटमा आन्तरिक सहमति भएपछि महामन्त्री कुन्दनराज काफ्लेले २२ गते शुक्रबारका लागि आकस्मिक बैठक बोलाए। लामो समयको वार्तापछि काफ्लेले तीन गुटको सहमतिमा शुक्रबारको बैठक बोलाएका हुन्। तर, अन्य समूहले असन्तुष्टि जनाएको छ। अध्यक्ष नैनसिंह महर निकटका महामन्त्री सरोज थापाले पनि २४ गते आइतबारका लागि आकस्मिक भन्दै बैठक बोलाएका छन्। थापा पार्टी उपसभापति विमलेन्द्र निधि गुटका नेता हुन्। 

दुवै महामन्त्रीले १२ औँ महाधिवेशनका लागि भन्दै पत्र काटेका हुन्। स्रोतका अनुसार अध्यक्ष महर तथा अन्य नेताहरूले संगठनलाई ठेक्कामा लिन खोजेको भन्दै असन्तुष्ट रहेका महामन्त्री थापाले पनि पत्र काटेका हुन्। एक हप्तादेखि बसेको बैठकमा संगठनका सबै गुटलाई समेटन नसकेको आरोप लाग्दै आएका छ। बैठकमा सहभागी हुँदै गर्दा गर्दा आफ्नो गुटका नेतालाई आफूले नै मलिाउने प्रतिवद्धता जनाएका थिए। यस्तै, संगठनमा पार्टी महामन्त्री डा. शशांक कोइरालाको पनि अर्को गुट अस्तित्वमा छ।

यसको नेतृत्व उपनाध्यक्ष उर्मिला थपलियाले गर्दै आएकी छन्। उक्त गुटलाई पनि नेताहरूले ‘बाइपास’ गरेर गोप्य बैठकमा बोलाएनन्। उक्त गुट आफूहरू मातहत रहेको भन्दै पूर्वअध्यक्ष कर्णले ठेक्का लिएको स्रोतको दाबी छ। 

यता दुई वटा पत्रका विषयमा बुझ्दा महामन्त्री काफ्लेले भने आर्को पत्रका बारेमा थाहा नभएको प्रतिक्रिया दिए। उनले आफूले सबैको सहमतिको आधारमा पत्र काटेको स्पष्ट पारे। ‘हामीले सबैको सहमतिको आधारमा बैठक बोलाएका हौँ’, उनले भने,‘१२ औँ महाधिवेशनका लागि हामीले उठाएका केही मुद्दामा लचिलो हुँदै महाधिवेशनमा जानका लागि तयारी गर्न बैठक बोलाएका हौँ। महाधिवेशन सबै विद्यार्थीको चाहना हो।’

यता, अर्का महामन्त्री थापा भने थाइल्याण्ड गएका कारण सम्पर्क हुन सकेन। पार्टी नेता निधिनिकट नै मानिएका उपाध्यउक्ष सञ्‍जय यादवले केही नेताहरूले संगठनलाई कब्जा गर्न खोजेकाले आफूहरूले अर्को बैठक बोलाउनुपरेको दाबी गरे।

‘महामन्त्रीहरू सरोज थापा र आनन्द त्रिपाठी विदेश हुनुहुन्छ’, उनले भने, ‘यस्तो अवस्थामा हामीसँग सल्लाह नै नगरी बैठक बोलाउनु उचित हुँदैन।’ अध्यक्ष महरले आफूहरूलाई समेत ठेक्का लिन खोजेको उनले आरोप लगाए। ‘कुनै बेला त्यही महामन्त्री कुन्दनले बैठक बोलाउदा विद्रोही हुने। अहिले उसले नै बोलाउँदा कसरी आधिकारिक भयो?’यादव भन्छन्,‘अहिले धेरै साथीहरू काठमाडौं हुनुहुन्न यस्तो अवस्थामा बैठक बोलाउँदा राम्रो सन्देश जाँदैन।’

नेविसंघको दुई वर्षे अवधिमा अहिलेसम्म जम्मा एक पटक मात्र केन्द्रीय समिति बैठक बसेको छ। आन्तरिक विवादले व्यप्त भएको संगठले समयमा आफ्नो महाधिवेशनसमेत गर्न नसकेका कारण गत भदौ २ गते तीन महिनाका लागि म्याद थपिएको थियो। सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौला निकटका विद्यार्थी नेताहरू भने आन्तरिक छलफलमा जुटेर कर्तिकभित्र महाधिवेशनको तयारी गरिरहेको स्रोतको दाबी छ।

तर केही नेताहरूले आफूहरूलाई बाइपास गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। शशांक समूहकी नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाले सहमति र सहकार्यका आधारमा महाधिवेशनको मिति तय गर्नुपर्ने बताइन्। ‘हामी पनि महाधिवेशन कुनै पनि हालत मा हुनुपर्छ भन्ने पक्षमा छौँ’, उनले भनिन्, ‘तर सहमति र सहकार्यमा सबै पक्षलाई समेटर महाधिवेशन गर्दा राम्रो हुन्छ। संगठन पनि एक हन्छ। कसैलाई बाइपास गरेर अघि बढ्नु राम्रो हुँदैन।’

नेविसंघभित्र विवाद देखिएपछि पार्टीले विवाद समाधानका लागि पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति बनाएको थियो। तर यो विवाद बारे समितिका संयोजक महतलाई समेत थाहा नभएको प्रतिक्रिया दिए। ‘मलाई त तपाईंले भन्दा मात्र थाहा भयो’, उनले भने,‘योबारे केही थाहा छैन बुझेर भनौँला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.