|

भद्रपुर : केही महिना अगाडि झापाको बिर्तामोड निवासी एक व्यक्तिले चलाउँदै आएको फेसबुकमा अपरिचित एउटी केटीको फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गरे। त्यसपछि अपरिचित केटीसँग ती व्यक्तिले निरन्तर फेसबुक च्याटमा कुराकानी गर्न थाले। सोही कुराकानीको दौरानमा उनीहरूबीच प्रेम सम्बन्ध बस्यो। तर ती व्यक्ति विवाहित पुरुष हुन्।

फेसबुकमा अपरिचित केटीसँग प्रेम सम्बन्ध बसेपछि उनीहरूबीच अश्लील कुराकानी समेत हुँदै गयो। यतिसम्म किन अश्लील कुराकानीपछि उनीहरूबीच नांगाे भिडियो च्याट समेत हुन् थाल्याे। सोही मौकाछोपी अपरिचित केटीले ती व्यक्तिको नांगाे भिडियो रेकर्ड गरिन् र उनलाई इमेलमार्फत पठाएर बार्गेनिङ गर्न सुरु गरिन्।

नांगाे भिडियोवापत ती व्यक्तिसँग केटीले १० हजार डलर मागेपछि उनी मानसिक तनावमा परे। बार्गेनिङको सञ्जालमा फसेँ। मानसिक तनाव झेल्न नसकेपछि उनी इलाका प्रहरी कार्यालय बिर्तामोडमा पुगे। उनको घटना सुनेपछि इलाका प्रहरी कार्यालयले साइबर अपराध शाखासँगको सहकार्यमा ती केटीको फेसबुक एकाउन्टका बारेमा सोधी खोजी गर्दा ती केटीको स्थानीय ठेगाना फिलिपिन्स देखाए। फिलिपिन्स देखाएपछि ती नेपाली व्यक्तिलाई प्रहरीले न्याय दिन नसकेको तितो यथार्थ घटना इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले बताए।

झापाको भद्रपुरमा आयोजित बालबालिकामा हुने 'अनलाइन यौनशोषण रोकथाम विषयक' जिल्लास्तरीय परामर्श कार्यक्रममा यस्तै यस्तै कथा सुनाइयाे। प्रहरी नायव उपरीक्षक कोइरालाले भने, ‘यो त एउटा प्रतिनिधि घटनाकाे पात्र मात्र हाे। दैनिक देशैभरि यस्तै समस्या प्रहरी समक्ष आइपुग्छन्।’ जस्ट से ए नो नेपाल नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा कोइरालाले भने, 'पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत अपराधका घटनाहरू झनझन् बढिरहेका छन्। यो नेपालमा मात्र चुनौतीको विषय बनेको भने होइन।

विश्वमै यसले विकृति फैलाउन थालिसकेको छ। विशेष गरी बालबालिकामा यसको असर देखा परेको छ’, उनले भने, 'अहिले प्रत्येक नेपाली बालबालिकाको हात/हातमा मोबाइल छ। ल्याप्टप र कम्प्युटर छ। बालबालिकाले फेसबुक एकाउन्ट त बनाउँछन्। तर फेसबुक एकाउन्टमा हुने सुरक्षित तरिकाबाट उनीहरू अनविज्ञ नै छन्। जसको असर पछि गएर देखापर्छ।' उनीहरू अपरिचित व्यक्तिसँग कुराकानी गर्ने, प्रेम सम्बन्ध बढाउने अनि यौनजन्य घटनाका सिकारमा पर्ने घटनाहरू पनि देखापर्न थालेका छन्। ‘बालबालिका मात्र नभई  युवा पुस्ता पनि सामाजिक सञ्जालमा फसी स्वास्थ्य, आर्थिक र मानसिक तनावमा पर्ने गरेकाछन्। बेलैमा सुरक्षित भएर यसको समाधान खाेज्न जरुरी भइसकेकाे छ,' उनले थपे।

अहिले यौनजन्य जस्तै आर्थिक प्रलोभनमा परी मानिसहरू ठगिन थालिसकेकाले बेलैमा सचेत बन्न उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई उनले आग्रह गरे। प्रहरी समक्ष घटना लिएर आउनु भन्दा अघि नै सचेत भइ दिए यस्ता प्रकृतिका घटनालाई रोकथाम गर्न सकिन्छ’, उपरीक्षक कोइरालाले भने, ‘तर अहिलेका प्रयोगकर्तामा त्यस्तो सचेतना छैन।’ त्यस्तै जस्ट सेए नो नेपाल नामक संस्थाका संयोजक ऋषि ओझाका अनुसार जथाभावी फेसबुकमा व्यक्तिगत विवरण हाल्न थालेकोले अनलाइन यौन शोषणका घटनाले प्रोत्साहन पाइरहेको बताए।

नेपालमा झण्डै एक करोड फेसबुक प्रयोगकर्ता रहेको बताउँदै उनले भने,‘यसको लतमा फसेर मानिसको जीवन एक्लो बन्न थालिसकेको छ।’ यसलाई रोकथामका लागि सरकारले ठोस कानुन बनाउन आवश्यक रहेको उनको भनाई छ। त्यसैगरी झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले फेसबुकसँगै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताको सुरक्षाका लागि प्रहरी, प्रशासन गम्भीर रहेको बताए। सामाजिक सञ्जाल प्रयोगकर्तालाई सुरक्षित बनाउन स्थानीय सरकारले सचेतना मुलक कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।

जिल्ला समवन्य समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार सामाजिक सञ्जाल प्रयोग गर्नु राम्रो हो तर त्यसबाट हुने असर तथा आई पर्ने घटनाको विषयमा प्रयोगकर्ता आफै सचेत बन्नुपर्छ। ‘खेलकुद क्षेत्रमा बालबालिकाकाे आकर्षण घटदै गइरहेको छ’, कराते प्रशिक्षक मदन उप्रेतीले भने, ‘सामाजिक सञ्जालमै दिन बिताउँदै गए भने आउँदो दिनमा मानसिक र आँखा रोगी भयवाह रुपमा देखिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.