|

कालिकोट : २०४२ सालबाट निर्माण कार्य थालिएको नरहरीनाथ गाउँपालिका-१ को कोटबाडा विमानस्थल परीक्षण उडान मात्रै सीमित भएको छ। २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा कसैलेका पनि चासो नजाँदा परीक्षण उडानमै सीमित भएको हो।
पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनबहादुर शाही हुदाँ परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल कसैले चासो नदिँदा परीक्षण उडानमै सिमित भएको छ। 

परीक्षण उडान गरिएको १ बर्ष बित्दा समेत कोटबाडा विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर र  भवन समेत अहिलेसम्म पनि नबनाएको स्थानीय गणेशबहादुर बिष्टले बताए। ‘विमानस्थलमा परीक्षण उडान मात्र गरियो।’ उनले भने,‘त्यसपछि कुनै पनि भौतिक पूर्वाधार बनाउने काम भएको छैन।’

सडक संजालले नछोएको नरहरीनाथ गाउँपालिकाका स्थानीयले एक दिनको पैतल दुरी हिडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता रहेको र विमानस्थलको नियमित उडान भएमा पर्यटकियस्थल रुपमा रहेको रामारोसन, बाजुरा र कालिकोटको सिमाना रहेको त्रिवेणी पाटन बडिमालिका पर्यटकहरु लाभान्दित हुने नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए। ‘पालिका अहिलेसम्म पनि सडक संजालले छोएको छैन्। कुनै दुखी बिरामी हुदाँ दुई दिनको पैतल दुरी हिडेर राजमार्गमा जानुपर्छ।’ उनले भने,‘पर्यटकिय हिसावले विमानस्थल संचालनमा आएपछि त्रिवेणी पाटन, बडिमालिका र रामारोसनमा आउने पर्यटकहरुलाई सजिलो हुने थियो।’

विमानस्थलका बिषयमा प्रत्येक नेता र राजनीतिक दलहरुले चुनावी नारा मात्र बनाउने कसैले पनि नियमित उडान लगाएतका भौतिक पूर्वाधार विकास क्षेत्रमा ध्यान नदिएको नरहरीनाथ गाउँपालिका सामाजिक अभियन्ता बिरेन्द्रबहादुर बुढाले बताए। ‘विमानस्थल निर्माण पंचायतकालदेखि बहुदलिय ब्यवस्थाको नारा बन्यो।’ उनले भने,‘अहिले लोकतान्त्रिक गणतन्त्रमा आउँदा नियमित उडानको चुनावी नारा बनाएका छन्। तर, बनाउनका लागि कसैले ध्यान दिएका छैनन्।’
३ रुपैयाँ ज्यालामा काम गर्ने हजार ज्याला पाउन थालेँ।

कालिकोट, हुम्ला, जुम्ला, अछाम जिल्लाको लागि पायक पर्ने यो विमानस्थल राजनीतिक खिचातानी र सरकारी बेवास्थाको सिकार बन्दा विमान चढ्ने यस क्षेत्रका बासिन्दाको सपना सपनामा नै सिमित बनिरहेको छ। 

विमानस्थल निर्माण थालिएको तीन दशक नाघ्दा कति खर्च भयो भन्ने कुनै लेखाजोखा छैन। कहिले ठेकेदार, कहिले उपभोक्ता समिति त कहिले मन्त्रालय आफैँले काम गरेकाले कति खर्च भयो कुनै लेखाजोखा नरहेको जिल्ला प्राविधिक कार्यालय कालिकोटका इञ्जिनियर चक्रबहादुर शाही बताउँछन्। ‘कहिले ठेक्कामार्फत कहिले उपभोक्ता समिति मार्फत काम भयो,’ उनले भने, ‘अहिलेसम्म खर्च कति भयो अत्तोपत्तो छैन।’ 

दैनिक ३ रुपैयाँ पाउने मजदुरको ज्याला हजार पुग्यो कोटबाडा विमानस्थल निर्माण कार्य कुन गतिमा अघि बढिरहेको भन्ने कुरा थाहा पाउन त्यहाँ कार्यरत कामदारको ज्यालालाई उदाहरणको रुपमा लिन सकिन्छ। जिविसका पूर्व सदस्य कटकबहादुर बिष्टका अनुसार २०४२ सालमा निर्माण कार्य सुरु हुँदा त्यहाँ काम गर्ने मजदुरको दैनिक ज्याला ३ रुपैयाँ थियो। अहिले यो बढेर एक हजार पुगिसकेको छ, तर काम अझै सम्पन्न भएको छैन। 

विमानस्थलको काम सुरु गर्दा मजदुरहरुले दैनिक ३ रुपैयाँ ज्याला पाउँथे। अहिले उनीहरुले दैनिक एक हजार रुपैयाँसम्म पाउने गरेका छन् बिष्टले बताए। ‘तर, विमानस्थलमा जहाज कहिले अवतरण गर्ने हो कुनै पत्तो छैन।’ 
चुनावी नारा मै सिमित

पञ्चायतकालमा निर्माण थालिएको विमानस्थलाई बहुदलीय व्यवस्था आएपछि पनि दलहरुले सधैँ चुनावी एजेण्डा बनाउँदै आएका छन्। यही विमानस्थललाई नारा बनाएर धेरै नेता केन्द्रमा पनि पुगिसके। तर, चुनाव जितिसकेपछि कसैले पनि यसको निर्माणमा इमान्दार प्रयत्न गरेका छैनन्। वि.सं. २०६४ को संविधानसभा चुनावमा कांग्रेस, एमाले, तत्कालीन एमाओवादी र राप्रपासहित सबै प्रमुख दलका उम्मेवारले यो विमानस्थललाई पहिलो प्राथमिकता दिएको बताउँदै भोट मागे। त्यसपछि संविधानसभाको दोस्रो निर्वाचनमा पनि यही एजेण्डाका लागि भोट मागियो। 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सचिव पवित्रकुमार शाहीले विमानस्थल चुनावी नारा मै सिमित भएको बताए। ‘विमानस्थल सबैको दलको चुवानी नारामात्र बन्ने गरेको छ। परीक्षण उडानको चर्चा पनि चर्चामै सिमित भन्न त २०६७ र ०६८ मा नै परीक्षण उडान गरिने भनिएको थियो।’ उनले भने।
कोटबाडा विमानस्थल निर्माणका क्रममा ३६ जना मजदुरले ज्यान समेत गुमाएछन्।

०५८ फागुन १३ गते कालिकोटको कोटबाडामा माओवादी भन्दै तत्कालीन साही सेनाले ३५ जना मजदुरसहित ६ जना स्थानीय मारेको थियो। स्थानीय ६ महिने नाबालक नबिन बिष्टसहित लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश बिष्ट, टेक बिष्ट, गंगा बिष्ट कोटवाडाकै स्थानीय बासिन्दा थिए।

त्यस्तै, मारिने मजदुरहरुमा धादिङ्ग जोगीमाराका सानुकान्छा चेपाङ, रामबहादुर चेपाङ, विकास चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ, चित्रबहादुर (तिलु) चेपाङ, दिलबहादुर चेपाङ, बुद्धराज चेपाङ, टंकबहादुर गुरुङ, गोकण गुरुङ, ज्ञानबहादुर थापा, मञ्जु थापा, टेकबहादुर विक, सानुकान्छा (सूर्य) विक, राजकुमार विक, राजकुमार श्रेष्ठ, काभ्रे दोलालघाटका प्रेम (माइला) तामाङ, काभ्रे सानोबाङथलीका पासाङ तामाङ, रामेछाप नागदहका हर्कबहादुर तामाङ र ताकुकोट गोरखाका कुमार बराम रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.