|

काठमाडौं : संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाहीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।

प्रस्ताव दर्ता भएदेखि नै आफूलाई धम्की आएको जानकारी गराउँदै उनले भने 'यो प्रस्ताव दर्ता भइसकेपछि धम्कीहरु आएका छन् नआएका होइनन्, ९ गतेसम्म मलाई मारिएन भने यो प्रक्रिया अगाडि बढ्छ।'  संसदमा पेश भएको महाभियोग प्रस्तावमाथि कात्तिक ९ गतेदेखि छलफल राखिएको छ। धम्की आएपनि महाभियोग प्रस्तावलाई जसरी पनि अघि बढाउने शाहीले बताए। 'मृत्यु जितेर आएको हुनाले सानोतिनो दबावले डगमगाउनेवाला छैन' उनले भने।

अहिले पनि लोकमान सिंह कार्कीका नजिकका मानिसहरुले सेफ ल्याण्डिङ खोजिदिन आग्रह गरेको भन्दै शाहीले अब महाभियोग पारित गराउने बाहेक अर्को बाटो नभएको दावी गरे। 'लोकमानका एकाध जना मान्छेले सेफ ल्याण्डिङ छ भने खोजिदिनुपर्‍यो भनेर फोन गरेका छन्। यसको कुनै सेफ ल्याण्डिङ छैन।'

दशैंअघि विदेश भ्रमणमा गएका कार्कीले फर्केर आएपछि परिवर्तनका पक्षमा लडेका शीर्ष नेताहरुलाई जेल हाल्ने प्लानिङ गरेकाले उनी विरुद्ध महाभियोग प्रस्ताव ल्याइएको शाहीले दावी गरे। 'लोकमानले फर्केर आएपछि परिवर्तनको पक्षमा लडेका शीर्ष नेतालाई जेल हाल्ने प्लानिङ गरेका थिए। त्यो सूचना पाएपछि उनीविरुद्धमहाभियोग अघि बढाइएको हो' उनले भने।  

लडाकु शिविर छानबिनको प्रतिशोध होइन

प्रस्तावक शाहीले लोकमान विरुद्धको महाभियोग प्रस्ताव लडाकु शिविरमा भएको भ्रष्टाचारबारे अख्तियारको कदमको प्रतिशोध नभएको बताए। शीर्ष नेतालाई जेल हालेर उथलपुथल ल्याउन चाहेका कारण महाभियोग प्रस्ताव दर्ता गराएको बताए। उनले पशुपतिमा आयोजित कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले विद्रोहको चेतावनी दिनु र राप्रपा नेपालले महाभियोगको विपक्षमा धारणा दिनुले उथलपुथलको संकेत गरेको दावी गरे। 'मुलुकलाई प्रतिगमनतिर लान खोजिएको थियो। प्रतिगमनबाट जोगाउन आकस्मिक रुपमा महाभियोग दर्ता भएको हो। यो छिट्टै गरिनुपर्थ्यो केही ढिलाइ भयो' शाहीले भने।

सबैको समर्थन खोजेर महाभियोग प्रस्ताव दर्ता गर्न लागेको भए दर्ता हुन कठिन हुने बताए। 'सबैको सहमति खोजेको भए दर्ता गराउन गाह्रो हुन्थ्यो' उनले भने 'तर महाभियोगबारेमा अध्यक्ष (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) जानकार हुनुहुथ्यो।'

यो पनि पढ्नुस् : को हुन् महेन्द्र शाही? जसले प्रचण्डलाई नै खबर नगरी लोकमानविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.