मुस्ताङमा पर्यटन गुरुयोजना तयार

|

पर्वत : पर्यटन प्रवर्द्धन गर्दै पर्यटकहरुको आगमनलाई बढाउन हिमाल पारिको जिल्ला मुस्ताङमा पर्यटन गुरुयोजना तयार पारिएको छ। ‘मुक्तिनाथ बृहत्तर विकास गुरुयोजना’ नाम राखिएको गुरुयोजनाले मुस्ताङको पवित्र धार्मिक तथा पर्यटीकयस्थल मुक्तिनाथलाई पर्यटनमैत्री बनाउँदै थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई थप आकर्षण गर्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको टोलीले मुस्ताङमै पुगेर गुरुयोजना तयार पार्नका लागि आवश्यक तथ्यांक संकलन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेल, पर्यटन विभागका सचिन्द्रकुमार यादव र गणेश पौडेल तथा पुरातत्व विभागका इन्जिनियर प्रज्वल बज्राचार्यको टोलीले स्थानीय स्तरमै पुगेर स्थानीयको चहाना अनुरुपको योजना निर्माण गरेमा योजना सफल हुने अपेक्षा सहित स्थलगत अध्ययन गरेको हो।

गुरुयोजनामा भक्तजनलाई सहज बनाउने गरी मन्दिर परिसरलाई फराकिलो बनाउने, आनी बस्ने घरलाई नरसिंह गुम्बा बनाउने, त्यसको पूर्व तर्फबाट बाटो ल्याउने, बाढीले बगाएको कागबेनीलाई श्राद्धस्थलको रूपमा प्राविधिक डिजाईन अनुसार निर्माण गर्ने, तीर्थालु र भक्तजनको सुविधा र सुन्दरताको लागि रानीपौवाको गेटदेखि मुिक्तनाथ गेटसम्म लिफ्ट–बिद्युत भर्‍याङ राख्ने, रानीपौवा बजारलाई पीसीसी ढलान गर्ने र कागबेनीदेखि रानीपौवाको जिप स्टेशनसम्म डेलिनेटर लाईट जडान गर्नेलगायतका कुराहरु समावेश गरिएको छ।

योजनामा तत्काल समावेश गरीएका कुराबाहेक स्थानीयले थप योजना प्रस्तुत गर्न सकेमा गुरुयोजनामा अन्य योजनाहरु पनि थप गरिने अध्ययन टोलीमा संलग्न पुरातत्व विभागका इन्जिनीयर प्रज्वल बज्राचार्यले जानकारी दिए। बज्राचार्यले भने, ‘पर्यटन विभाग/मन्त्रालयले र पुरातत्वले तयार गरेका विगतका गुरुयोजनालाई समेत अध्ययन गर्ने छौँ, जसले अहिले गरिएको अध्ययनलाई थप परमार्जित गर्न सहयोग गर्नेछ।’ 

टोलीले तयार पारेको वर्तमान खाकालाई स्थानीयले स्वागत गरेको मुक्तिनाथ विकास समितिका अध्यक्ष समेत रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए। गुरुयोजनाअनुसार मुक्तिनाथको विकासमा अगाडि बढ्न सकेमा मुस्ताङले धेरै पर्यटक तान्न सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘पदमार्ग र पदयात्रामा नाम चलेको मुस्ताङ जिल्ला झनै पर्यटकीय केन्द्रको रुपमा विकास हुन सक्छ भन्ने अपेक्षा हामीले गरेका छौँ।’ गुरुयोजनालाई शीघ्र कार्यान्वयन प्रक्रियामा लैजान मन्त्रालयको टोलीलाई अनुरोध गरिएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ। 

मुक्तिनाथ गुरुयोजना सम्वन्धमा बसेको बैठकले गुरुयोजना कार्यान्वय पूर्व मुक्तिनाथ विकास समितिको चालु कोष मार्फत खर्च हुने गरी तत्काल ६ बुँदै विकास कार्यलाई प्राथमिकता दिएर अघि बढाउने निर्णय पनि गरेको छ। गुरुयोजनाको लागि पर्यटन मन्त्रालयले एक करोड रुपैयाँ र गण्डकी प्रदेश सरकारले ४० लाख रुपैयाँ बिनियोजन गरेका छन्।

यसअघि २०७० सालमा मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले करिव २२ लाख खर्चिएर मुक्तिनाथ गुरुयोजना तयार गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन। पुरानो गुरुयोजना कार्यान्वयन नभएपछि पर्यटन मन्त्रालयले बृहत मुक्तिनाथ बिकास गुरुयोजनाको अवधारणा अघि ल्याएको हो। मुक्तिनाथ क्षेत्र विकास समितिमा हाल करिब ४ करोड रुपैयाँभन्दा बढी आर्थिक मौज्दात छ।

मुस्ताङका पूर्व सांसद रोमी गौचन थकालीले मुस्ताङमा थप पदमार्गको खोजी गरेर विकास र प्रचार गर्न सकेमा पर्यटकहरुको आकर्षण बढ्नुका साथै गुरुयोजनालाई सफल बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिए। पदमार्गको रुपमा परिचित रहेको मुस्ताङमा सुविधाका नाममा धेरै मोटरबाटो खनिएका कारण पदमार्ग धरापमा पारेको उनको भनाइ छ। 

सरकारले जोमसोम र मार्फा गाविसलाई एकीकृत गरी हिमाली सहरको रुपमा विकास गर्न खोजेको छ। यद्यपी, सबैभन्दा  जलवायु परिवर्तनको असर मुस्ताङ जिल्लामा पनि पर्नु, घट्दो जनसङ्ख्या, बढ्दो सांस्कृतिक महत्वलाई जोगाइराख्न चुनौती रहेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख धारा गुरुङको भनाइ छ। 

हिन्दू र बौद्ध धर्मावलम्बी दुवैको सहिष्णुताको केन्द्र मानिने मुस्ताङमा मुक्तिनाथ, कागवेनी तथा दामोदरकुण्ड, बौद्धमार्गीहरूका धार्मिक धरोहरका रुपमा रहेका विभिन्न गुम्बा, तिब्बती संस्कृतिको पाइने माथिल्लो मुस्ताङसहित जिल्लामा   विभिन्न पैदलमार्ग छन्। मुस्ताङमा वैदशिक सहयोगमा झण्डै ५ अर्बको लगानीमा मुक्तिनाथमा केवलकार बनाउन अध्ययन भइरहेको छ। यसले पनि गुरुयोजनामा उल्लेख गरे अनुसारको विकासमा सघाउने अपेक्षा गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.