|

विराटनगर : लगानी अनुसारको प्रतिफल नहुनु र मजदुर अभावका कारण मोरङमा जुट खेति निरन्तर ओरालो लागेको छ। केही वर्षअघिसम्म मोरङ नेपालमै सबैभन्दा बढी जुट उत्पादन हुने जिल्लामा पर्दथ्यो। 

जुटको बाली भित्राउने मुख्य समय साउन मसान्तदेखि असोजसम्म हो। तर, झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारण जुट खेती क्रमिक रुपमा घट्दै गएको छ। तर, जुटको माग भने अझै पनि बढिरहेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ।

चार दशक पहिले मोरङमा ६० हजारभन्दा बढी हेक्टरमा जुटको खेती हुने गरेको थियो।  जिल्ला कृषि विकास कार्यालय मोरङका अनुसार आर्थिक वर्ष  २०७१÷७२ मा जिल्लामा  ६ हजार हेक्टर क्षेत्रफलमा जुट खेती गरिएको थियो। 

जुट खेतीबाट ९ हजार ६० मेक्ट्रिक टन जुट उत्पादन भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा जुट खेति घटेर ५ हजार ७ सय हेक्टर क्षेत्रफलमा गरिएको थियो। जसबाट ८ हजार ६ सय मेट्रिक टन उत्पादन भएको थियो।

पछिल्लो केहि वर्षयता मोरङमा जुट खेती क्रमिक रुपमा घट्दै गएको प्रदेश–१ का क्षेत्रीय कृषि निर्देशनालयका सूचना अधिकृत राजेन्द्र उप्रेतीले बताए। जुट खेती र उत्पादन घटेपनि यसको माग भने बढ्दै गएको उनको भनाइ छ। रङ्गेली सडक वरपरको क्षेत्रका साथै दक्षिणी भेगका बुधनगर, नोचा, भातिगछ, डाइनियालगायतमा जुटको खेती हुने गर्छ। समयअनुसार जुट प्रशोधन पनि बदल्न नसक्दा जुट खेतीमा किसानको आकर्षण घटेको उप्रेतीको भनाइ छ।

विगतका वर्षमा मोरङमा उत्पादन भएका जुट भारतका साथै बङ्गलादेशमा समेत निर्यात गरिन्थ्यो। विराटनगरस्थित जुट मिलहरुले पनि अधिकांश मात्रामा खरिद गर्ने गरेका थिए। अहिले अधिकांश जुट मिल बन्द भएपछि धेरै किसानहरुले पनि जुट खेती छाडेर अन्य बालीतर्फ अग्रसर भएको देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.