|

जाजरकोट : गत साउन २९ गते बाढी, पहिरोले पुल बगाएपछि आन्तरिक नाकाबन्दीमा परेको बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव देखिएको छ। खाद्य संस्थान खाद्य डिपोमा रहेको सबै चामल सकिएकोले खाद्य संकट देखा परेको हो।

ढुवानीका लागि नलगाड नगरपालिकामा रहेको झुम्रेखोलाले पुल बगाएपछि बारेकोटलगायत आसपासका क्षत्रमा खाद्य संकट देखा परेको बारेकोट गाउँपालिका घाटका निमबहादुर सिंहले जानकारी दिए। खाद्य संस्थान घाट डिपोमा अहिले एक अछेता गर्नेसम्म चामलको गेडा नभएको संस्थानले बताएको छ।

चामलका लागि दैनिक स्थानीयहरु डिपोमा पुगे पनि रित्तो हात फर्कने गरेको स्थानीय पत्रकार कालीप्रसाद थापाले बताए। बर्सेनि खाद्य संकट पर्ने बारेकोट क्षेत्रमा अहिले ढुवानी कार्य ठप्प हुँदा थप मर्का परेको थापाले बताए। स्थानीय बजारमा समेत चामल नपाउँदा समस्या भएको छ। 'हुने खानेले पहिले नै खाद्यान्न भण्डारण गरी सकेको तर दैनिक काम गरेर ल्याएको रकमद्धारा खाद्यान्नको जोहो गर्ने गरिबलाई सबैभन्दा समस्या परेको छ' मुलसामका लालबहादुर रोकायले दु:खेसो सुनाए। बारेकोट जानका लागि प्रयोग हुने बाटोमा पुल निर्माण नभएसम्म, खाद्यान्न ढुवानी अवस्था नभएको नलगाड नगरपालिका उद्योग वाणीज्य संघले बताएको छ।

बच्चा बोकेर चामलका लागि घाट डिपोमा पुग्ने पुग्ने दैनिक दर्जन स्थानीय रित्तो हात फर्कने गरेका छन्। बजारमा अन्य दैनिक उपभोग्य सामग्रीसमेत अभाव  भएको छ। ढुवानी गर्नका लागि खच्चडकै भर पर्नुपर्ने यहाँको बाध्यता हो। सडक सञ्जालले नजोडिएको बारेकोट क्षेत्रमा उत्पादनका हिसाबले धान कम हुने गर्दछ।

जिल्लाको अन्य स्थानीय तहभन्दा अलि विकट मानिने बारेकोट गाउँपालिकामा सरकारले छुट्टै वैकल्पिक उपाय उपनाउनुपर्ने यहाँका नागरिकको माग छ। पुनानो अन्न नपाकेको र नयाँ अन्न सकिएकोले बाहिरबाट आयातित अन्नका भर पर्नुपर्ने वाध्यता बारेकोटवासीलाई रहेको छ। पैसा हुँदा पनि खाद्यान्न नपाउनु बारेकोटवासीको पीडा भएको स्थानीय प्रेमविक्रम शाहीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.