|

सल्यान : जिल्लाका १४१ सामुदायिक विद्यालय शिक्षकको शून्य दरवन्दीमा सञ्चालन हुँदै आइरहेका छन्। शिक्षा विकास तथा समन्वय इकाई सल्यानका अनुसार हालसम्म शिक्षकको शून्य दरवन्दीमा वर्षौदेखि ती सामुदायिक विद्यालय सञ्चालन हुँदै आइरहेका हुन्। 

जिल्लाका २६ माध्यमिक, ७५ निम्न माध्यमिक विद्यालय शून्य दबन्दीबाट सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लिलाधर बबालले बताए। उनले भने, ‘वर्षौदेखि धेरै विद्यालयहरू शून्य दरबन्दीबाटै सञ्चालन हुँदै आइरहेका छन्। शून्य दरबन्दी हुँदा निजी स्रोतबाट शिक्षक भर्ना गरी पठन पाठन भइरहेकाे छ।’ केही विद्यालयहरू मर्ज भए पनि धेरै सामुदायिक विद्यालयहरू दरबन्दीबिना नै सञ्चालन हुँदै आइरहेको उनले बताए। 

यसरी वर्षौदेखि शून्य दरबन्दीमा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरू स्थानीय स्रोत साधन परिचालन गरी निजी स्रोतबाट सञ्चालन हुँदै आइरहेका छन्।अभिभावक चन्दादाता अन्य दाताको सहयोगमा सञ्चालन हुँदै आएका छन्। 

केन्द्रमा दरबन्दी मिलानका लागि कार्यदल बनेको र उक्त कार्य दलले काम गरिरहेकाले केही वर्षपछि दरबन्दी मिलान हुन सक्ने प्रमुख बबालले बताए। उनले भने,‘यो समस्या सल्यानको मात्रै होइन देशभरको समस्या हो। देशभर धेरै सामुदायिक विद्यालय शून्य दरबन्दीबाट सञ्चालन भइरहेका छन्। यसको समाधानका लागि मन्त्रालयमा अहिले एउटा दरबन्दी पुनवितरण कार्यदल बनेको छ आशा छ उक्त कार्यदलले समस्याको निकारण गर्ने छ।’

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न दरबन्दी पुन वितरण, दरबन्दी मिलान  नितान्त आवश्यक रहेको इकाई प्रमुख बबालको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.