|

दैलेख : कर्णाली प्रदेशका विभिन्न जिल्लामा बस्दै आइरहेका जंगलका राजा भनेर चिनाउन चाहने राउटे समुदायले असुरक्षा महसुस गर्दै सुरक्षाको माग गरेका छन्। जंगलमै फिरन्ते जीवन बिताउँदै आएका लोपउन्मुख राउट समुदायका मुखिया सूर्य नारायण शाहीले आफू र आफ्ना जनताले असुरक्षा महसुस गरेको भन्दै सरकारसँग सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका हुन्।

उनले आफ्ना जनताले असुरक्षित महसूश गरेको गुनासो आफूलाई गर्न थालेको भन्दै सरकारले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए। पछिल्लो समय आफ्नो समुदायका मानिसहरूसँग अन्य समुदायका धेरै मानिसहरू घुलमिल हुन थालेकोले असुरक्षित महसुस गरेको उनको भनाइ छ।

'हाम्रा छोरीचेली एक्लै हिड्ने वातावरण भएन, उनीहरू एक्लै हिड्न डराउने गरेका छन्। यस विषयमा सबैले मसँग गुनासो गर्छन्। म एक्लैले के गर्न सक्छु,' मुखिया शाहीले भने, 'त्यसैले सरकारले हामीलाई ढुक्कले बस्ने वातावरण सृजना गरिदिनु पर्छ।'

राउटे मुखिया शाहीले आफ्नो संस्कृतिअनुसार एकै ठाउँमा नबसी ठाउँठाउँमा जानुपर्ने अवस्था रहेकाले यसका लागि सरकारले सुरक्षाको ग्यारेन्टी दिनुपर्ने बताए। 'पछिल्लो समयमा हामी र हाम्रो समुदायलाई एकै ठाउँमा बस्न आग्रह गरिएको छ', उनले भने, 'हामी कसैको आग्रहलाई मान्न नसक्ने र हाम्रो आफ्नै खालको कला-संस्कृति रहेको छ। हामी आफ्नै कला संस्कृतिअनुसार फिरन्ते जीवन बिताउँदै आयको र पछिका दिन पनि यसै गरी बिताउन चाहन्छौँ'

सो विषयमा सबै पक्षले ध्यान दिन आवश्यक रहेको भन्दै उनले अन्य समुदायका केही व्यक्तिहरूसँग आफ्ना जनताले असुरक्षित महसुस गरेको उनले उल्लेख गरे। उनले आफ्नै समुदायका युवाहरूबाट पनि असुरक्षित महसुस भइरहेको बताए। 'हाम्रा समुदायका युवा अरू समुदायका मानिससँग घुलमिल भई मदिरा पिउने र बस्तीमा छाड्ने गरेकाले पनि मेरा जनताले असुरक्षित महशुस गरेका छन्', राउटे मुखिया शाहीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.