|

रुकुम : रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका महिलाहरूले स्वास्थ्य संस्थामा तत्काल एम्बुलेन्स व्यवस्था गर्न माग गरेका छन्। गाउँपालिकाका आमा तथा गर्भवती महिलाहरूले सामुहिक रूपमा सिम्रुतु स्वास्थ्य चौकीका प्रमुख भीमबहादुर चन्दमार्फत गाउँपालिकासमक्ष माग पत्र पेस गरेका हुन्। मानव जीवनमा आधारभूत मानिएको स्वास्थ्य क्षेत्र सुधार नगरिँदा महिलाहरू सबैभन्दा बढी जोखिममा परेको उनीहरूको भनाइ छ।

गाउँपालिका २ मा रहेको सिम्रुतु स्वास्थ्य चौकीमा रहेको प्रसूति गृहमा सुत्केरी हुन आउने महिलाहरूले उक्त गृहबाट प्रदान हुने सुविधा स्रोत साधनको अभावका कारण प्रभावकारी हुन नसकेको भन्दै सेवालाई प्रभावकारी बनाउनका माग पत्र पेस गरेका हुन्। मागपत्रमा स्वास्थ्य संस्थामा दक्ष र प्रयाप्त जनशक्ति व्यवस्था गर्नुपर्ने, सुत्केरीलाई मौसमअनुसार एसीको को व्यवस्था गर्नुपर्ने, बच्चा जन्मिसकेपछि न्यानो कपडाको व्यवस्था गर्नुपर्ने, प्रत्येक टोलमा स्टेचरको व्यवस्था गर्नुपर्ने, गाउँपालिकामा एउटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने र सुत्केरी महिलाका लागि भनेर आएको बजेट रकमान्तर नगरी उल्लेखित शीर्षकमै खर्च गर्नुपर्नेलगायतका माग पत्रमा छ बुदाँहरू रहेका छन्। स्थानीय सुत्केरी आमा गंगा चन्दले जिल्लामा रहेका प्रसूति गृहमा सेवा लिन जाने सेवाग्राहीहरूले विशेषज्ञ सेवा पाउनबाट बञ्चित हुनुपरेको सँगै कतिपय दुर्गम स्थानका महिलाहरूले जोखिमसमेत मोल्दै आएका कारण माग पत्र बुझाउनु परेको बताइन्।

‘नयाँ संविधानले समेत अधिकार सम्पन्न स्थानीय सरकार निर्माण भई क्रियाशिल रहेको सन्दर्भमा नागरिकको सुलभ र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको प्रत्याभूति गराउनु राज्यको दायित्व हो’ उनले भनिन्, ‘यसका लागि स्थानीय सरकारले आवश्यक नीति निर्माण गर्दै, बजेट र जनशक्ति व्यवस्थापन गरेर यसको समाधान गर्न त्रिवेणीका महिला तथा अन्य सरोकारवालाहरूले माग छ।’ सिम्रुतु स्वास्थ्य चौकीका प्रमुख भीमबहादुर चन्दले महिलाहरूले राखेका मागहरू जायज मागहरू भएको बताउँदै यस विषयमा गाउँपालिकासँग आवश्यक छलफल गर्न आफू तयार रहेको बताए। प्रसूति गृहको प्रभावकारिताका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति र भौतिक पूर्वाधार नहुँदा आफूहरूले सधैँ गाह्रो तरिकाबाट जसोतसो सेवा दिइरहेको प्रमुख चन्दको भनाइ छ।

त्रिवेणीका महिलाहरूले राखेको मागबारे सिम्रुतु स्वास्थ्य चौकीमाफत स्थानीय सरकारलाई जानकारी भएको बताउँदै त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले आमा र बच्चाको सुरक्षाका लागि भनेर सरोकारवालाहरूले राखेको मागमा आफू गम्भीर भएको र सेवा प्रभावकारी बनाउन आवश्यक नीति नियम बनाइ चाडै कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रसूति सेवा प्रभावकारी हुन नसक्दा रुकुमका विभिन्न भागमा र त्रिवोणीकै धेरै महिलाहरूले वर्षेनी ज्यान गुमाउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.