|

राजनीतिक नेतृत्वको पुस्तान्तर आवश्यक मात्र होइन, अनिवार्य नै भैसकेछ। आज नेपाल किंकर्तव्यविमुढ भएको छ। ज्ञानेन्द्र शाहको एउटा मिठो अभिव्यक्ति आयो। उहाँले भन्नु भयो, 'निषेधको राजनीतिले विद्रोह जन्मिन्छ'। कति राम्रो! तर ज्ञानेन्द्र शाहको आफ्नै शासनकाल कस्तो रह्यो? उहाँले त्यतातिर ध्यान दिनु भएन। ज्ञानेन्द्र शाह, श्री ५ बडामहाराजधिराज भएको बेलाको आतङ्क अहिले पनि बिर्सिन नसक्नेहरु छन्। उहाँले सकृय शासनभार लिएकै दिन, अर्थात माघ १९ उहाँकै सम्बोधन सुन्न पनि नदिई रेडियो बन्द गर्न लगाएर मलाई थुनियो। प्रहरी प्रशिक्षण केन्द्रको बन्द कोठामा मेरो विमारी बढ्दै गएपछि र प्रहरी अस्पतालका डाक्टरहरुले 'सिनियर डक्टरको केस हामीले चलाउन मिल्दैन' भनेर मलाई नहेर्ने भएपछि मलाई छोडिएको थियो। मेरो ब्रेन ट्युमरको अपरेशन, तत्पश्चात दिइएको किमोथेरापी र रेडिएसनका कारण म धेरै कमजोर पनि थिएँ त्यतिबेला। प्रहरी अस्पतालका डाक्टरहरुको प्रतिकृया पश्चात मलाई रिहा गर्ने आदेश दिइएको थियो।

बेकारमा एक वर्षपछि फेरि गिरफ्तार गरियो मलाई माघ ६ गते। त्यतिबेला त म ओछ्यान परेको थिएँ। मलाई अझै पनि ट्युमर अपरेशन, रेडिएसन र किमोको असरले सताउन छोडेको थिएन। तीन दिनदेखि ज्वरोले थलिएर सुतेको थिएँ म। रामरी ब्युँझिन पनि नपाउँदै सशस्त्र प्रहरीको टोली आँगनमा आयो। मलाई दिइएको पुर्जीमा लेखिएको थियो? माघ ५ गते कामपा वडा नम्बर १४ को कलङ्कीमा भडकाउ भाषण गरेको हुनाले तपाईंलाई यो पक्राउ पुर्जी दिइएको छ।' यतिसम्म अति गरिएको थियो त्यतिबेला कि मलाई नियमित खाइरहनु पर्ने औषधि समेत बोक्न दिइएन ।

नेपालका बुढाहरु हतारमा निर्णय गर्छन् अनि फुर्सदमा पछुताउँछन् भन्ने सत्य फेरि उद्घाटित भएको छ। ज्ञानेन्द्र शाहबाट आरम्भ भएको यो श्रृङ्खलामा अहिले जोडिएका छन्- लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने कार्यमा सहमत भएका नेताहरु। आज लोकमान कार्कीका विरुद्धमा उभिएका तथ्यहरु भर्खरै जन्मिएका होइनन्। यी अभियोगहरु त्यतिबेला पनि जीवित थिए जतिबेला नेताहरुको सहमतिमा लोकमान अख्तियार प्रमुख हुँदै थिए।

हिजो डण्डा आफ्नो हातमा हुँदा, आफू श्री ५ बडामहाराजाधिराज हुँदा ज्ञानेन्द्र शाहले 'निषेधको राजनीतिले विद्रोह जन्मिन्छ' भनेर सोचिदिनु भएको भए कल्पना पनि नगरेको ढङ्गले उहाँले दरबारको श्रीपेच नेपाल सरकारलाई बुझाउनु पर्ने थिएन। पटक पटक चलखेल गरेपछि मैले लेखेको थिएँ, 'ज्ञानेन्द्र शाह शासन सन्चालनमा असफल हुनुभयो तर उहाँ एउटा गीतकार हुनुहुन्छ। शासनको महत्वाकाङ्क्षा छोडेर गीत लेख्नु भयो भने उहाँले सम्मान पाउनु हुन्छ।'

तर जोगी र भोगीहरुको घेरामा बस्नु भएका ज्ञानेन्द्र शाहले निषेधको राजनीतिका बारेमा अर्ति उपदेश दिँदा पनि आफ्नो असफल महत्वाकाङ्क्षालाई लुकाउन सक्नु भएन। अब उहाँले सोच्नु पर्छ? अब उहाँहरुको समय सकियो।

लोकमान प्रकरणमा जेजस्तो परिदृष्य देखियो? त्यसले नेकपा एमाले बाहेक सबै पार्टी वरिष्ठ नेताहरु कामै नलाग्ने पात्रका रुपमा उपस्थित भए। लोकमानप्रति धेरैको गुनासो थियो? नियम, कानुन, विधिविधान नमान्ने, अख्तियारको प्रमुख हुन योग्यता नपुगेको। कतिपयको मनमा अख्तियार दुरुपयोग गर्न रत्ति नडराउने लोकमानले हामीलाई तान्ने भयो भन्ने डर पनि थियो होला। तर कारण त उही नपाएको पगरी बोक्ने, विधिविधान नमान्ने, अदालतलाई तिरस्कार गर्ने आदि इत्यादि थिए? त्यो पनि प्रमाण सहित।

माओवादी केन्द्रका साँसदहरुले अध्यक्षबाट लुकाएरै महाअभियोगको प्रस्तावमा सही गरे, दर्ता पनि गरे। काङ्ग्रेस र माओवादी केन्द्रका नेताहरु अलमल्ल भए। म यहाँ भारतीय राजदूतले के भने, 'र' कर्मचारीले कस्तो दवाव दिए भन्नेतिर जान्न। उनीहरुको कामै हो नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अनि कतिपय सन्दर्भमा सांसदहरुलाई हप्कीदप्की र प्रलोभनबाट आफ्नो अभिष्ट पूरा गर्ने। कुरो भारतका सहसचिव, सचिव, 'र' का कर्मचारीको होइन। कुरो हो सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका नेताहरुको। रे (रणजीत रे) ले फोन गरे, 'र' कर्मचारी छ्याप्छ्याप्ती आए जस्ता प्रायोजित हल्लाहरुको पनि कुनै अर्थ छैन। कुरो हो, अध्यक्ष, सभापति, उपसभापति, महामन्त्री भएका ठूला नेपाली नेताहरुको। सारा दुनिया लोकमानलाई महाअभियोग लगाउनु पर्ने पक्षमा छ। नेपाली काङ्ग्रेसका युवाहरु महाअभियोगको पक्षमा छन्। यहाँसम्म कि आन्दोलनलाई आमरण अनसनको अर्थमा बुझने डाक्टर गोविन्द केसी पनि सडकमा उत्रिनु भएको छ महाअभियोगको पक्षमा नारा लगाउँदै। तर काङ्ग्रेसका बुढा नेताहरु लाजै नमानी भाषण गर्छन्- महाअभियोग प्रस्ताव सत्तासमीकरण बदल्ने षडयन्त्र हो।

एक्कासी लोकमान कार्कीका विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको जानकारी पाएपछि 'रातभरि सुत्न नसेकेको र राजीनामा दिने मनस्थितिमा पुगेको' अभिव्यक्ति दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताको दवावमा परेरै अन्तिममा आफूलाई महाअभियोगको पक्षमा उभ्याउनु भयो। त्यसैले यो राम्रो कामको जस माओवादी केन्द्रका युवा नेतामा गयो। तर काङ्ग्रेसका बुढा नेताहरुले अहिले पनि राजनीतिको चुरो बुझेका छैनन्। उनीहरुको विद्यार्थी सङ्गठन, तरुण दल मात्र होइन पार्टी केन्द्रका युवा नेताहरु समेत महाअभियोगको पक्षमा लागेको, दवावमा उत्रिएको समयमा पनि के गरौँ, कसो गरौँ को हालतमा छन्। नेपाली काङ्ग्रेसका शुभेच्छुकहरुले 'लोकमानलाई बचाउने काममा लागे काङ्ग्रेस सकिन्छ' भनेर कराइरहँदा पनि यो टिप्पणी लेखुन्जेल नेपाली काङ्ग्रेसले कुनै निर्णय लिन सकेको छैन ।

कम्युनिस्ट राजनीतिको सन्दर्भमा मात्र होइन, सिङ्गो राजनीतिक सन्दर्भमा नेकपा एमालेका महासचिव तथा जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीले भन्नु भएको थियो, 'जनतालाई काम नलाग्ने राजनीति पार्टीलाई पनि काम लाग्दैन।' म सबैले मदन भण्डारीको यो निष्कर्षबाट सिकुन् भन्दिन। यो त यहाँ सन्दर्भवश आएको मात्र हो। जनताको बारेमा मदन भण्डारीले जसरी सोचिदिने नेता अहिले नेपालमा छैनन् भन्ने सत्यलाई दोहोर्‍याउन खोजेको मात्र हो। जनताको मागको तिरस्कार गर्दै कुनै अमूक राजदूतको दुहाइ दिँदै, अमूक अनुसन्धान अधिकृतको आदेशको हल्ला चलाउँदै गलत काम गर्ने नेताको नेपाललाई आवश्यकता छैन भन्नका लागि मैले मदन भण्डारीको नाम लिनु परेको हो।

नेपालका बुढाहरु हतारमा निर्णय गर्छन् अनि फुर्सदमा पछुताउँछन् भन्ने सत्य फेरि उद्घाटित भएको छ। ज्ञानेन्द्र शाहबाट आरम्भ भएको यो श्रृङ्खलामा अहिले जोडिएका छन्- लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने कार्यमा सहमत भएका नेताहरु। आज लोकमान कार्कीका विरुद्धमा उभिएका तथ्यहरु भर्खरै जन्मिएका होइनन्। यी अभियोगहरु त्यतिबेला पनि जीवित थिए जतिबेला नेताहरुको सहमतिमा लोकमान अख्तियार प्रमुख हुँदै थिए।

अहिलेका गतिशील युवाहरुले अब सबै पार्टीको नेतृत्व लिनुपर्छ भन्ने जनचासोको बारेमा पनि सूचना दिई हालौं ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.