|

सुनसरी : ट्राफिक प्रहरीमा महिलाको संख्यामा बृद्धि हुन सकेको छैन। प्रदेश १ मा ट्राफिक प्रहरीमा १९८ जनाको दरबन्दी रहेको छ। काजसमेत गरेर अहिले ३४९ जना ट्राफिक प्रहरी कार्यरत छन्। 

आर्थिक वर्षमा संघीय संरचनामा जानुअघि पूर्वाञ्चलमा २६० जना ट्राफिक प्रहरीको दरवन्दी रहेको थियो। विभिन्न जिल्लामा काजमा खटिएका सहित त्यस बेला पूर्वाञ्चलमा ४३५ जना ट्राफिक प्रहरी थिए भने काजमा खटिएका सहित ३१ जना मात्र ट्राफिक प्रहरी महिला कार्यरत थिए। यो संख्या अहिले घटेर २५ मा झरेको प्रदेश-१ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। प्रहरीका अनुसार गतआर्थिक वर्षसम्म सिरहा र सप्तरी समेत हेर्दै आएकोमा यी जिल्ला प्रदेश-२ का ट्राफिक प्रहरीले हेर्न थालेपछि संख्यामा कमी देखिएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी अभिचन्द्र रिजालले बताए।

रिजालका अनुसार प्रदेश एकको सुनसरीमा १०, मोरङमा ९, झापा, इलाम २/२ जना र उदयपुर, धनकुटा, पाँचथरमा १/१ जना महिला ट्राफिक प्रहरी कार्यरत रहेकाे  तथ्यांक छ। यो संख्या पुरुषको तुलनामा अत्यन्तै न्यून भए पनि पछिल्लो समय महिलाको संख्यामा बृद्धि हुन सकेको छैन। गत वर्षको साउनमा २३ जना मात्र महिला ट्राफिक प्रहरी कार्यरत थिए। यो संख्या गत अर्थिक वर्षमा बृद्धि भएर ३१ पुगेको थियो। अहिले पूर्वको इटहरी सहितका विभिन्न शहरबजारका सडकमा उभिएर आफ्नो ड्युटी गर्ने महिला कमै देख्न सकिन्छ। यसले पनि महिलाको संख्यामा बृद्धि नभएको पुष्टि हुन्छ। 

चुनौती पनि उस्तै

पछिल्लो समयमा ट्राफिक प्रहरीमा निर्धक्कसँग आफ्नो जिम्मेवारी निभाइरहेको जस्ता देखिने ती महिलालाई काम गर्न सहज नभएको उनीहरूको भनाइ छ। विगत १३ वर्षदेखि प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत झापाकी चन्द्रकला देवकोटाका अनुसार यो पेशामा सोचेजस्तो सहज भने छैन। पूर्वका अव्यवस्थित शहर त्यसमाथि पनि पर्याप्त सडकको अभाव र सवारी साधनको बढ्दो भीडले थप अव्यवस्थित बन्दै गएको छ। यही अव्यस्थित शहरको सडकलाई व्यवस्थित बनाउन लागी परेका आफूहरू जस्ता महिलाको काम भने चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

धुलो, धुँवा र सवारी साधनबाट उत्पन्न ध्वनि उनीहरूका लागि नियमित साथी हो। एक बिहान उज्यालो भएदेखि बेलुकीसम्म दैनिक १२ देखि १४ घन्टासम्म शहर बजारको धुँवा, धुलो भरिएको सडकमा पौठेजोरी गर्ने ट्राफिक प्रहरीको स्वास्थ्य अत्यन्त जोखिममा पर्ने डर पनि हुन्छ। तर सेवा गर्न आफूहरू सक्षम भएर काम गरिरहेको उनको भनाइ छ। अझै पनि महिलालाई हरेक क्षेत्रमा हेप्ने प्रवृत्ति हराएको छैन। ट्राफिक प्रहरीमा पनि उस्तै छ। पुरुष ट्राफिक प्रहरीको एकै आवाज, एकै इसारामा सवारी चालकहरू रोकिन्छन्। तर महिलालाई सकेसम्म हेप्नै खोज्छन्। टेर्दैनन्। तर यस्तो अवस्थामा पनि पूर्वका टाफिक महिलाहरुले थप कडाइका साथ काम गरिरहेका छन्। त्यस्तालाई अर्को चोकमा रोक्न लगाएर कारवाही गर्ने गरेको उनीहरूको भनाइ छ।

रातिको ड्युटी गर्न महिला प्रहरीलाई थप समस्या हुने भएकाले राती उनीहरूलाई ड्युटीमा नखटाउने गरिएको डिएसपी रिजालले जानकारी दिए।आफूलाई परिवार र कामको दोहोरो जिम्मेवारी निभाउन सहज नहुँदाको पीडा भए पनि अप्ठेरो परिस्थितिमा पनि उत्तिकै ऊर्जाका साथ खटिरहेको तेरथुमकी रञ्जिता ढकालले बताइन्। उनी १६ वर्षदेखि काम गरिरहेकी छन्। १६ वर्षदेखि प्रहरी पेशामा आवद्ध खोटाङ दिक्तेलकी गंगा भुजेल पनि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा हवल्दार पदमा कार्यरत छन्। उनी दिनभर टाफिक व्यवस्थापनमा व्यस्त हुनुपर्छ। घरको काम र छोराछोरीको हेरविचार गर्ने जिम्मेवारी पनि उनमा छ। यस्तै अवस्थामा पनि उनी हिम्मतका साथ ड्युटीमा खट्ने गरेकी छन्।

एक नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार कामको सिलसिलामा महिला ट्राफिक प्रहरीलाई महिला भएकै कारण विभिन्न समस्या हुने गरेको छ। महिला प्रहरीलाई सडकमा विभिन्न किसिमका दुर्व्यवहार हुने गुनासो आउँदा समेत उनीहरू साँझको समयमा ड्युटीमा निर्धक्क भएर खटिने गरेका छन्। यसलाई चुनौती भन्दा पनि अवसरको रुपमा लिने गरिएको विगत ११ वर्षदेखि प्रहरी पेशामा आवद्ध सिपाइँ गंगा भट्टराईले बताइन्।

ट्राफिक प्रहरी महिलालाई पुरुष सरह काम गर्न गाहाे भए पनि पछिल्लो समय महिलालाई ड्युटी गर्न केही सहज भने भएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.