|

काठमाडौं : पछिल्लो समय विभिन्न प्रचारबाजीले क्रमश: टाढिँदै गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाइतर समूहका नेता पुनः एकजुट हुन थालेका छन्। 

यसअघि देउवाविरुद्ध मोर्चाबन्दी गरेका नेताहरू पार्टीका जिल्ला सभापतिहरूको भेलापछि एकअर्काको गलत प्रचारका कारण क्रमश: टाढिँदै गएका थिए। खासगरी वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति नजिक भएको चर्चा चलेपछि समूहमा मोर्चाबन्दी गरेका अन्य नेताहरू असन्तुष्ट बनेका थिए। 

वरिष्ठ नेता पौडेललाई ‘वाइपास’ गर्दै नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी र डा. शेखर कोइरालाले मोर्चाबन्दीको प्रयास गरेका थिए। तर पछिल्लो समय त्यो प्रयासको चर्चा पनि हराएको थियो। त्यही क्रममा नेता केसीले बिहीबार पौडेलसहित पाँच नेतालाई एक ठाउँमा राखेका थिए।

उनले वरिष्ठ नेता पौडेल, नेता प्रकाशमान सिंह, सिटौला र डा. रामशण महतलाई गोंगवुस्थित आफ्नै घरमा बोलाएर छलफलमा राखेका थिए। अर्का नेता डा. शेखर कोइराला पनि देउवाविरुद्धको मोर्चामा रहे पनि त्यो गोप्य छलफलमा सहभागी हुन सकेनन्। विराटनगरमा भएका कारण छलफलमा हुन नसकेको र काठमाडौंमा आएपछि छलफलमा बस्ने उनले नेतालाई जानकारी गराएका थिए। यी नेता लामो समयपछि पुनः एक ठाउँ भएका हुन्। पछिल्लो समय पौडेल र सिटौलाको सम्बन्ध पानी बाराबारको अवस्थामा पुगेको थियो तर नेता केसीले सम्बन्ध सुधार गर्नका लागि बैठक बोलाएको बताइएको छ। 

उनीहरूले यसअघि भएको मोर्चाबन्दीलाई निरन्तरता दिँदै महाधिवेशनसम्म अघि बढ्ने निर्णयसमेत गरेको स्रोतले बताएको छ। बिहान ९ बजेदेखि ११ बजेसम्म भएको बैठकमा विशेष गरेर सभापतिको आलोचना भएको बताइएको छ। सभापति देउवाले पार्टीको गुट मात्र चलाउन खोजेको भन्दै त्यसको विरुद्ध अघि बढ्न साझा धारण तय गर्ने निर्णय भएको स्रोतले बताएको छ। बिहीबार बस्ने भनिएको पार्टी केन्द्रीय समितिको बैठक सभापति देउवाले एकलौटी ढंगलले तयारी नपुगेको भन्दै सारेको नेताहरूले बताएका थिए। 

२८ गते हुने केन्द्रीय समितिको बैठकले विभाग तथा कार्यसम्पादन समिति अनुशासन समितिलगायत समितिको गठनबारे धारणा तय गर्ने बताइएको छ। उक्त बैठकमा विभागमा आफूहरूको समूहको प्रतिनिधित्व, कसरी प्रस्तुत हुनेलगायत विषयमा पाँच नेताले छलफल गरेका थिए। 

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनलाई कसरी सुदृढ गर्न सकिन्छ भन्नेबारेमा पनि छलफल भएको नेता केसीले जानकारी दिए। ‘पार्टीभित्र बिग्रिएका आन्तरिक विषयलाई कसरी सुदृढ गर्न सकिन्छ भन्नेबारे छलफल भयो’, उनले भने, ‘यस्तै, विधान परिमार्जन हुँदै छ, यसलाई कस्तो बनाउने, सामूहिकतालाई निरन्तरताको निरन्तरताका बारेमा पनि छलफल भयो।’

यस्तै, बैठकले आन्तरिक सम्बन्ध सुधारमा पनि सहयोग पुर्‍याएको केसीले बताए। ‘नेताहरूले आआफ्नो काममा हुँदा सम्बन्ध बिग्रिएको भन्ने भ्रम थियो। तर हामीभित्र कम्युनिकेसन त भइनै रहेको थियो। भेट्न मात्र भएका थिएनौँ। यो भ्रमणलाई पनि चिरेको छ।’

यस्तै, भ्रातृ संगठनको महाधिवेशको समय हुँदा पनि देउवाले आफ्नो समूह हार्ने डरले महाधिवेशन नगराएको भन्दै पाँच नेताले बैठकमा अपत्ति जनाएका थिए। नेपाल विद्यार्थी संघको महाधिवेशन कुनै पनि हालतमा समयमै सक्नुपर्ने बैठकमा उनीहरूले बताएको स्रोतको दाबी छ। 

आउँदो महाधिवेशनको सभापतिका बारेमा चर्चा

बैठकमा आउँदो महाधिवेशनका बारेमा पनि छलफल भएको थियो। पार्टीलाई देउवाको एकलौटीपनबाट खोस्न एक हुनुपर्नेमा पाँचै जना नेताले जोड दिएका थिए। यसका लागि आफूहरू मिलेर अघि बढ्नुको विकल्प नभएको पनि बैठकले निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

पार्टीको महाधिवेशन आउन करिब एक वर्ष मात्रै हुँदै पछिल्लो समय पार्टीका नेताहरूले आफ्नो तर्फबाट सभापतिमा आफ्नो उम्मेदवारी रहने विभिन्न कार्यक्रममा बताउँदै आएका छन्। आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बारेमा पार्टी वरिष्ठ नेता पौडेल, नेता सिंह, सिटौला, केसी र शेखरले विभिन्न कार्यक्रममा बोल्दै आएका छन्। यो बैठकमा यसरी आफूआफू नबोल्न पनि सचेत गराएको बताइएको छ। 

‘पार्टीलाई आगामी दिनमा पारदर्शी बनाउन हामीमध्ये एकको नेतृत्व हुनुपर्ने निष्कर्ष निकालेका छौँ’, बैठकमा सहभागी एक नेताले भने, ‘त्यसका लागि हामीले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गर्दै कार्यक्रममा बोल्नुहुँदैन भन्ने निष्कर्षमा पुगेका छौँ।’

उनीहरूले मंसिरमा हुने महासमिति बैठकमा देउवाविरुद्ध कसरी अघि बढ्न सकिन्छ भन्ने पनि छलफल गरेको बताइएको छ। जिल्ला सभापतिहरूको भेलामा जस्तो टुटेर होइन, जुटेर अघि बढ्ने निर्णय भएको बैठकमा सहभागी नेता बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.