जिल्ला समन्वय समिति 'कण्ठ तिलहरी' होइन

|
तस्विर सौजन्य : कृष्ण पौड्याल/प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामकारबाहीलाई जसरी भए पनि विरोधको नजरबाट हेर्नेहरूले अहिले विभिन्न नाममा जनतामा भ्रम फिँजाइरहेको बताएका छन्। जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्री निकालिँदै छन् भन्ने हल्ला पनि त्यस्तै भएको बताए।

सरकारले गरेका कामकारबाहीको जताबाट पनि कमजोरी देख्नेहरूले मन्त्री हटाइँदै छन् भन्ने गलत हल्ला फिँजाएर जनतामा भ्रम फिजाएको उनको भनाइ थियो। 'अहिले मन्त्रीहरू निकालिँदै छन् भन्ने हल्ला फिँजाइएको छ', मञ्चमा लहरै बसेका मन्त्रिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'मन्त्रीहरू एकचोटि मुस्कुराइदिनुस् त।'

प्रधानमन्त्रीले यति भन्दै गर्दा मञ्चमा आसीन अर्थमन्त्री डा.युवराज खतिवडा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगर एकैसाथ मुस्कुराए। प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरूले राम्रो काम गरिरहेको हुनाले कोही मन्त्री पनि पदबाट बर्खास्त नहुने स्पष्ट पारे।

सरकारले काठमाडौंका बाटाका खाल्डाखुल्डी हटाएन भन्नेहरूलाई अझै काठमाडौंका बाटाहरु राम्रा देख्न ६ महिना कुर्न प्रधानमन्त्रीले आग्रह गरे। एक/दुई महिनाको अन्तरालमा मेलम्चीको पानी काठमाडौं झारिने बताउँदै उनले मेलम्ची काठमाडौं झरिसकेपछि त्यसका कारण थुप्रै ठाउँमा पाइप सेट हुने समयमा कँही टुटफुट हुँदा बाटो पुनः बनाउनुपर्ने भन्दै ती सबै कुरालाई व्यवस्थापन गर्दा कम्तीमा पनि ६ महिना अझै काठमाडौंका बाटाहरु चिल्ला हुन समय लाग्ने बताए।

'अझै काठमाडौंमा राम्रा बाटा हुनका निम्ति कम्तीमा ६ महिना लाग्छ। मेलम्चीको पानी १ महिनाभित्र छाड्छौँ,' प्रधानमन्त्रीले भने, 'त्यसले फेरि केही ठाउँमा बाटाहरू बिग्रन, भत्कन सक्छ। त्यसलाई मिलाएर बाटो राम्रो बनाउन कम्तीमा ६ महिना लाग्छ।'

अबको दुई वर्षभित्र काठमाडौंका सबै बाटाहरु पक्की भइसक्ने प्रधानमन्त्री ओलीले बताए। त्यसपछि काठमाडौंमा प्रदुषण पनि स्वतः कमी भएर जाने उनको भनाइ छ। 

अर्थमन्त्री वा विभिन्न मन्त्रीमाथि अहिले प्रहारैप्रहार भइरहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकमा अस्थिरता फैलाउन चाहनेहरुले सरकारका विरुद्ध खनिएको बताए। भने, 'अर्थमन्त्री माथि छुट्टै हमला छ। अरू मन्त्रीहरुमाथि पनि उस्तै। एउटामात्र होइन सबैमाथि हमला छ। ममाथि सबैभन्दा ठूलो हमला छ।' अस्थिरता ल्याउन चाहने शक्तिहरु अहिले सरकारकारविरुद्ध योजनाबद्ध ढंगले लागेको प्रधानमन्त्रीले बताए।

नेपाल सरकारले भर्खरै बिम्स्टेक सम्मेलन भव्‍यताका साथ त्रुटिरहित ढंगले सम्पन्न गरेको भन्दै नेपालको छिमेक सम्बन्ध, भारतसँग बिग्रिएको सम्बन्ध सुदृढ हुदै गएको उनले बताए। आगामी वर्षदेखि भारतले सिमानामा बाँध बाँधेका कारण नेपाल डुब्नु नपर्ने गरी सरकारले भारतसँग सम्झौता प्रधानमन्त्री ओलीले बताए।

अब उत्पादन गरेर निर्यात गर्ने अवस्था ल्याउनका निम्ति उत्पादनका क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीले आग्रह गरे। मुलुकमा अब वैदेशिक रोजगारीका पछि कुद्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै उनले वैदेशिक रोजगारीमा गए पनि असुरक्षित तरिकाले ठगीमा पर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए।

भाद्र १ गतेबाट लागू भएको मुलुकी फौजदारी कार्यनीति संहिता गतवर्ष नै लालमोहर लागेको भन्दै एक वर्षपछि अहिले आएर लागू हुँदा अनावश्यक रूपमा अनुचित खालका मागहरू राखेर विरोध गरिएको प्रधानमन्त्री ओलीले बताए। 'हामी जायज खालका माग सुन्न तयार छौँ। त्यो बेला हामी सरकारमा थिएनौँ, तर हामी स्वामित्व लिन तयार छौँ', उनले भने, 'तर, आफैँले बनाएका कानुनविरुद्ध दल र नेता बुरुक्क उफ्रिएका छन्।'

जिसस 'कण्ठ तिलहरी' होइन

यसैबीच, प्रधानमन्त्री ओलीले जिल्ला समन्वय समिति भूमिकाविहीन नभएको बताएका छन्। जिल्ला समन्वय समितिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जिल्ला समन्वय समिति केबल शोभाका लागि मात्र नबनाएको  बताए।

यो घाँटीमा झुण्ड्याउने कण्ठ तिलहरी जस्तो मात्र नभएको भन्दै उनले यसका तोकिएका संवैधानिक हैसियत र जिम्मेवारी भएको बताए। 'यो शोभाका लागि बनाइएको कण्ठ तिलहरी होइन। जसलाई हेर्न मात्रै सकिन्छ खान मिल्दैन। यसको संवैधानिक हैसियत छ, काम गर्नका लागि भूमिका दिनका लागि बनाइएको हो', उनले भने, 'यो टपरीमा राखेको कुशको बाहुनजस्तो होइन। यसलाई प्रभावविहीन होइन प्रभावकारी बनाउनुपर्छ।'

संविधान निर्माण गर्दा जिल्ला समन्वय समिति राख्नुपर्छ भन्ने सन्दर्भमा छलफल चल्दा केही व्यक्तिहरू त्यसको चर्को विरोधमा उत्रिएको स्मरण गर्दै निकै मिहिनेतका साथ यसको इतिहास छ भनेर जिल्ला राखिएको भन्दै यसलाई अन्याय हुन नदिने बताए। 'जिल्ला सुन्नेबित्तिकै केहीलाई बारुलाले चिलेजस्तो बुरुक्क उफ्रन्थे,' उनले भने, 'हामीले निकै लडेर जिल्ला ल्याएका हौ। तपाईंहरूप्रति गम्भीर नहुने कुरै आउँदैन।' तर, आफ्नो सक्रियता र क्षमताले भूमिका स्थापित गर्नतिर लाग्न उनले आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.