फिचर

विकासको आसमा बसेका नाइचेवासी बने हाइड्रोपीडित
SHARES

सुरुङमार्ग र बम पडकाइले घर चर्केपछि स्थानीय आक्रोशित

लमजुङको सुन्दर नाइचे गाउँ र विद्युत् आयोजनाले पुर्‍याउँदै गरेको क्षति। फोटो : कृष्ण आले
भदौ २३, २०७५

    लमजुङ : गुरुङ जातिको बसोवास भएको चिटिक्क परेको ६६ घरहरूको बाक्लो बस्ती नाइचे गाउँ। उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ५ स्थित नाईचेवासी आफ्नो गाउँमा हाइड्रो पावर आउँछ रे भन्दा खुशी थिए। तर, अहिले उनीहरूको खुशीले निरन्तरता पाएन। ‘पहिले गाउँमा बिजुली आयो, पछि बिजुली निकाल्ने कम्पनी आउँछ भन्ने सुन्दा खुशी लागेको थियो।’ रतनबहादुर गुरुङले स्थानीय लवज र शैलीमा भने, ‘हामी अहिले आन्दोलन गर्दै छौँ। हाम्रो घर चर्केको छ। कम्पनीले बम पड्काउँछ। के गर्ने अब ! हामी अन्यायमा पर्‍यौँ।’ विकासको आसमा बसेका नाइचेवासी अहिले हाइड्रोपीडित बनेका छन्।

    ३० मेघावाट क्षमताको न्यादी हाइड्रोपावर सोही वडामा  निर्माणधीन छ। करिव एक सय ३० मिटरको दुरीबीच रहेको नाइचे गाउँ र हाइड्रोपावरको सुरुङमार्गमा बम बिस्फोट गरी सुरुङ निर्माण भइरहेको छ। सुरुङ निर्माणको क्रममा बम बिस्फोट हुँदा आफूहरू बस्दै आएको घर चर्किएको स्थानीयको दावी छ। ‘गाउँमा हाइड्रोपावर आयो। हाम्रो घर चर्कियो। अहिले जा भन्न पनि भएन।’ स्थानीय भिमबहादुर गुरुङले त्रास मान्दै गुनासो गरे, ‘हामीलाई विकासविरोधी भन्लान्। विनास भयो भनेर विरोध गर्दा पुलिस लाउँछु भन्छन्।’ स्थानीयवासी परापूर्वकालदेखि बस्दै आएको थातथलो पुर्निनिर्माण हुनुपर्ने माग परियोजनासमक्ष राखेका छन्।

    घर चर्केर गाउँ जोखिममा पर्न थालेपछि स्थानीय आक्रोशित

    गाउँको विकासको आसमा रहेका नाइचेवासी अहिले त्रासमा गुजार गर्दै छन्। २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पले कुनै पनि क्षति नगरेको गाउँ नाइचे हो। नाइचेका स्थानीयले भूकम्पको क्षतिपूर्ति पनि नलिएको समाजसेवी राजु गुरुङले बताए। न्यादी हाइड्रोपावरले सुरुङमार्ग बनाउने क्रममा घरहरू चर्केर गाउँ जोखिममा पर्न थालेपछि स्थानीय आक्रोशित भएका छन्।

    सुरुङ खन्ने क्रममा विभिन्न स्थानमा बम विस्फोट गर्दा घरहरू चर्केपछि स्थानीय त्रसित भएका हुन्। गाउँनजिकै सुरुङको ब्रेक थ्रु राखेकोले २४ सै घण्टा गाउँमा ठूलो आवाज आउने गरेको स्थानीय तुलसिरा गुरुङले बताइन्, ‘आवाजले बालबालिकाहरूलाई पढ्न र लेख्न निकै समस्या भएको छ।’ उनले भनिन्, ‘गाउँमा पाहुना आउँदा रातभरी निदाउँदैनन्। के भएको भनेर सोध्छन्।’ गाउँनजिकै रहेको ब्रेकथ्रु २४सै घण्टा सञ्चालित छ। स्थानीयलाई आवाजको बानी परेको हुनाले खासै चासोको विषय बन्दैन। तर, पाहुनाहरूलाई कोलाहल बन्ने गरेको स्थानीयले बताए।

    स्थानीयस्तरमा पाइने ढुंगा र माटोबाट बनेको घर चर्कंदा अहिले चिन्ता लोगेको स्थानीय रूपसरी गुरुङले बताइन् ‘परियोजना नआउँदा हाम्रो घर केही पनि भएको थिएन। अहिले घर थर्किएको छ। हाम्रो घर कच्ची भएको छ।’ स्थानीय कच्चा पदार्थबाट निर्मित अधिकांश घरहरू कतैकतै चर्किनु स्वभाविक हो। तर ढुंगा र माटो जडानको गाह्रो नै चर्किन थालेपछि स्थानीय आक्रोसित बन्नु झन स्वभाविक बनेको छ। तर हाइड्रोपावर सञ्चालक र कर्मचारीहरू केही असर नपर्ने बताउँछन्।

    जसको कारण स्थानीयवासी र परियोजना सञ्चालकबीच बेलाबेलामा झडप र वार्ता दुबै हुने गर्दछ। तर स्थानीयवासी सन्तुष्ट देखिदैनन् ‘घर चकिर्न थाल्यो। कति बेला के हुने हो थाहा छैन। कसलाई हारगुहार गर्ने हो हामीले ?’ स्थानीय लक्ष्मी गुरुङले प्रतिप्रश्न गरिन्। उनले भनिन्, ‘हाइड्रोलाई धेरैपटक जानकारी गराएँ। कुनै चासो दिएन।’ 

    हाम्रा कारणले चर्केका घरको मर्मत गरिदिन्छौँ : आयोजना प्रमुख

    सोही गाउँमा रहेको ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरू पहिले कक्षा छोडेर भाग्ने गरेको, तर अहिले बानी परेको प्रधानाध्यापक कबिजङ गुरुङले बताए। तर, विद्यार्थीहरूमा अप्रत्यक्ष रूपमा असर परिरहेको प्रधानाध्यापक गुरुङको दाबी छ। परियोजना सञ्चालनका मुख्य सारथिहरू राजधानीकेन्द्रित छन्। स्थानीयवासीको चर्केको घर बनाउने विषयमा परियोजना प्रमुख उत्तम आमात्यले भने, ‘स्थानीयको घर चर्केको निवेदन अफिसमा आएको छ। हाम्रो कारणले घर चर्केको/नचर्केको विवाद नगरौँ।’ उनले भने, ‘स्थानीयवासी निम्नस्तरका भएको हुँदा यो बर्खापछि मर्मत सुरु गछौं। मर्मत खर्च हामी दिन्छौँ।’ अहिले स्थानीयको पीडा र आक्रोश घरको चर्किएको भित्तो बनेको छ।

    नाइचेवासीले न्यादी हाइड्रोपावरबाट अहिलेसम्म कुनैपनि क्षतिपूर्ति पाएका छैनन्। हुन त परियोजना सञ्चालनका लागि स्थानीयसँग सहकार्य गरी सञ्चालन गर्नुपर्ने नेपाल सरकारको नीति रहेको छ। नीतिअनुसार परापूर्वकालदेखि बसोवास गर्दै आएका स्थानीयको अधिकार हनन नहुने गरी अझ समुदायको विकासका लागि परियोजना सञ्चालन गर्नुपर्दछ।

    यद्यपि, ३० मेगावाट न्यादी हाइड्रोपावरको सामाजिक उत्तरदायित्व र छरछिमेक कार्यक्रम पनि सार्वजनिक भएको छैन। स्थानीय समुदायकालाई खुसी पार्ने र परियोजना सफलताको कुची सामाजिक उत्तरदायित्व र छरछिमेक कार्यक्रम हो। तर अधिकांश परियोजनाहरूले प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन (आइइइ÷ई आइए) प्रतिवेदन स्थानीयवासीसँग सार्वजनिक गर्न आलटाल गर्छन्। परियोजनाका कार्यक्रम, योजना र प्रतिवेदनका बारेमा स्थानीय अनविज्ञ छन्। तर, स्थानीयवासी केवल घर चर्केको गुनासो मात्रै गर्छन्। त्रासमा गुज्रिएको नाइचेवासीको दैनिकी आफ्नो घर मर्मतको प्रतीक्षामा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]